१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा नेकपाका दुई समूहबीच शक्ति प्रदर्शनको होड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२३:oo

नेकपाको ओली समूहले गत २८ पुसमा धनगढीमा शक्ति प्रदर्शनसहित आमसभा गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको उक्त सभामा सहभागी हुन सुदूरपश्चिमका पहाडी क्षेत्रबाट समेत गरी सयौँ कार्यकर्ता धनगढी पुगे । सुदूरपश्चिममा पार्टीका सबैजसो कमिटीमा अल्पमतमा परेको ओली समूहले ठूलो जनमानस उतारेर प्रदेशमा आफूहरू कमजोर नरहेको सन्देश दिन खोज्यो । 

जनसहभागिता देखेर उत्साहित देखिएका ओली समूहका नेताहरूले ‘सुदूरपश्चिममा को बलियो छ भनेर धनगढीमा उपस्थित संख्याले देखाएको’ बताउने गरेका छन् । ओली समूहले प्रदेशमा पार्टीको भेला र सम्मेलनलाई निरन्तरता दिइरहेको छ ।

संसद् विघटनको विरोधमा प्रदेशभर निरन्तर प्रदर्शन तथा सभा, सम्मेलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल समूहले पनि धनगढीमा बृहत् शक्ति प्रदर्शनसहित जनसभाको तयारी थालेको छ । आगामी १७ माघमा हुने सभामा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सम्बोधन गर्नेछन् ।

ओली समूहको आमसभालाई चुनौती दिने गरी आमसभामा जनसभागिता रहने प्रचण्ड–नेपाल समूहका नेताहरूको दाबी छ । ‘ओली समूहले गरेभन्दा विशाल आमसभा हुनेछ । उनीहरूले पैसा बाँडेर मान्छेहरू जम्मा गरेका हुन्,’ प्रचण्ड–नेपाल समूहका एक नेताले भने । संसद् विघटनविरुद्ध जनतालाई जागरुक गराउन आमसभा गरिने उक्त समूहको भनाइ छ ।

प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्ज भीम रावलले दुवै अध्यक्षले सम्बोधन गर्ने आमसभामा व्यापक जनसहभागिता हुने बताए । संसद् विघटनको विरोधमा आफ्नो पार्टीले संगठन र आन्दोलनका कार्यक्रम सँगसँगै लगेको उनले बताए । ‘संसद् विघटन संविधानविपरीत कदम हो । त्यसैले निरंकुशताविरोधी आन्दोलनमा सहभागिताका लागि सबै पक्षलाई आह्वान गरेका छौँ,’ इन्चार्ज रावलले भने, ‘व्यापक जनसहभागितामा आमसभा गर्ने तयारी भइरहेको छ ।’ 

 नेता–कार्यकर्ता तानातान
पार्टी विभाजनपछि सुदूरपश्चिममा पनि नेकपाका नेता–कार्यकर्ता तानातानमा छन् । दुवै समूह नेता–कार्यकर्तालाई आफ्नो पक्षमा तान्न केन्द्रित छन् । पूर्वमाओवादी नेता लेखराज भट्टले साथ दिएपछि ओली समूहले सुदूरपश्चिममा आफ्नो अवस्था बलियो बनाउँदै लगेको देखिन्छ । यो प्रदेशमा आफ्नो अवस्था बलियो बनाउन ओलीले संसद् विघटनपछि यहाँबाट तीनजनालाई मन्त्री नियुक्त गरेका छन् । 

प्रदेश तथा जिल्ला कमिटीहरूमा ओली समूह कमजोर देखिन्छ । प्रदेश कमिटीमा इन्चार्ज, सबै सहइन्चार्जसहित अधिकांश सदस्य प्रचण्ड–नेपाल समूहमा छन् । अध्यक्ष कर्ण थापा भने ओली समूहमा छन् । यस्तै बहुमत जिल्ला नेतृत्व प्रचण्ड–नेपाल समूहमा लागेका छन् भने सुदूरपश्चिम प्रदेश सभामा यही समूहको बलियो पकड छ । यही कारण प्रदेश सरकार तत्काल अल्पमतमा पर्ने देखिँदैन । 

सबैजसो कमिटीमा अल्पमतमा रहेको ओली समूहमा सुदूरपश्चिमबाट निर्वाचित विघटित संघीय संसद्का बहुमत सदस्य छन् । नेकपाबाट निर्वाचित १४ सदस्यमध्ये चारजना मात्रै प्रचण्ड–नेपाल समूहमा छन् । स्थानीय तहका जनप्रतिनिधिमा पनि ओली समूह तुलनात्मक रूपमा कमजोर छैन । ‘कतिपय कमिटीमा कमजोर देखिएको हो, तर कार्यकर्ता तहमा हामी कमजोर छैनौँ,’ ओली समूहका एक केन्द्रीय सदस्यले भने, ‘हाम्रा सभा, सम्मेलनमा हुने सहभागिताले पनि त्यो पुष्टि गर्छ ।’

विभाजनपछि प्रदेशमा संगठन निर्माणमा पनि ओली समूह अगाडि छ । पदहरू बाँडेरै भए पनि कार्यकर्तालाई आफूतिर तान्ने रणनीति यो समूहको देखिन्छ । नयाँ र युवाहरू जिम्मेवारी दिएर ओली समूहले संगठन निर्माण गरिरहेको छ । संसद् विघटनको विरोधमा आन्दोलनमै उत्रिएका कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य गौरीशंकर चौधरीलाई भित्र्रयाएर ओलीले मन्त्री बनाए ।

एक–अर्को पक्षलाई देखाउनका लागि भए पनि शक्ति प्रदर्शनमा उत्रिएका दुवै समूहले एक–अर्कोलाई कारबाही गर्ने होडबाजी पनि छ । प्रचण्ड–नेपाल समूहले प्रदेश अध्यक्ष कर्ण थापालाई हटाएर सहइन्चार्ज भानुभक्त जोशीलाई अध्यक्ष बनाउन केन्द्रमा सिफारिस गरेको छ । यस्तै, ओली समूहले पनि प्रदेश इन्चार्ज रावललाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ ।

ad
ad