१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फ्रेडी विल्किन्सन
Invalid date format o९:१४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली दलको असाधारण आरोहण

Read Time : > 2 मिनेट
फ्रेडी विल्किन्सन
नयाँ पत्रिका
Invalid date format o९:१४:oo

जाडोमा धेरै पर्वतारोही केटु हिमाल चढ्ने सोचसमेत राख्दैनन् । पर्वतारोही यस हिमाललाई ‘स्याभिज माउन्टेन (क्रूर हिमाल)’ बताउँछन् । यो सिजनअघिसम्म विश्वको दोस्रो अग्लो हिमाल केटु जाडोमा आरोहण गर्न ६ पटक प्रयास भइसकेको थियो । तर, सबै प्रयास असफल भए । तर, इतिहासको असफलतालाई उल्टाउँदै नेपाली पर्वतारोहीहरूको दुई अभियान दलले केटु जाडो महिनामा आरोहण गरेका छन् । ती दुई नेपाली आरोहण दल पश्चिमी राष्ट्रका कुनै धनाढ्य आरोहीलाई शिखरसम्म गाइड गर्न गएका थिएनन् ।

शेर्पा जातिले यस्तै सहयोगका लागि नाम कमाएका भए पनि यस अभियान उनीहरूको आफ्नै लागि थियो । दुवै समूह अन्ततः जनवरी १६ मा २८,२५१ फुट अग्लो केटुको चुचुरोमा एकैसाथ पुगे । यस सफलतामा आरोहीहरूले शेर्पा जातिको टिमवर्क तथा निःस्वार्थपनको उदाहरण पेस गरेका छन् । 

जाडोमा केटुको आरोहण सम्भवतः उच्च पर्वतारोहणमा पूरा गर्न बाँकी अन्तिम चुनौतीमध्येमा एक थियो । २०औँ शताब्दीको मध्यसमयमा पश्चिमी युरोपियनमाझ ठूला–ठूला हिमाल आरोहण गर्ने होड चलेको थियो । सन् १९५० देखि सन् १९६४ को अवधिमा विश्वका ८ हजार मिटर अग्ला सबै १४ वटा हिमाल पहिलोपटक आरोहण गरिए । यी सबै सफलताका क्रममा स्थानीयले गाइड बनेर महत्वपूर्ण भूमिका खेलेका थिए । धेरैजसो न्यून आयमा काम गर्ने गाइडहरूले रोजगारदाताका गलत कदमको मूल्य चुकाउनुपथ्र्यो । 

८ हजार मिटर अग्ला सबै शिखर आरोहण भएपछि मात्र यिनलाई जाडोमा चढ्ने गम्भीर प्रयास सुरु भयो । सन् १९८० को दशकमा पोल्यान्डका अत्यन्त प्रतिभाशाली आरोहीहरूले जाडोमा सगरमाथा चढे । जाडोमा सगरमाथाको आरोहण भइसक्दा केटु शिखरको आरोहण भने धेरैका लागि फलामको चिउरासरह भइसकेको थियो । यस सफलता अन्ततः आरोहण क्षेत्रका उस्ताद शेर्पाहरूले सम्पन्न गरेका छन् ।

हाल केटु आरोहणमा सफतला हासिल गरेको नेपाली पर्वतारोहण समुदायले सुरुदेखि नै कैयौँ कठिनाइ भोग्दै आएको छ । पछिल्ला वर्ष यिनमा पनि एकपछि अर्को संकट देखियो । सन् २०१४ मा सगरमाथामा आएको हिमपहिरोमा १६ शेर्पाले ज्यान गुमाए । त्यसको अर्को वर्ष सन् २०१५ मा आएको भूकम्पमा सगरमाथा आधारशिविर झन्डै तहसनहस भयो । यस विपद्मा २० को ज्यान जाँदा आधा शेर्पा थिए । सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि हिमाल आरोहण बन्द गरियो । 

यस्तो अवस्थामा निर्मल पुर्जाको प्रवेश भयो । पुर्जा नेपालमा पर्वतारोहणमा जोडिने शेर्पा समुदायका नभएर मगर हुन् । विश्वको सातौँ अग्लो हिमाल धौलागिरिनजिक जन्मिएका पुर्जा १८ वर्षको उमेरमा ब्रिटिस सेनाको एलिट ब्रिगेड मानिने गोर्खा ब्रिगेडका जागिरे भए । सेनाको जागिर छाडेपछि सन् २०१८ बाट उनले ६ महिना ६ दिनको छोटो समयमा संसारका सबै ८ हजार मिटर अग्ला हिमाल आरोहण गरे । उनीअघि दक्षिण कोरियाका किम चाङ–होले झन्डै आठ वर्ष लगाएर ८ हजार मिटर अग्ला सबै हिमाल छिटो चढ्ने रेकर्ड बनाएका थिए ।

जाडोमा केटु आरोहण गर्ने विगतका प्रयास टिमवर्क, नेतृत्व र एकाग्रको अभावमा असफल भएका थिए, जुन यसपटक नेपाली आरोही समूहले प्रदर्शन गर्‍यो 

पुर्जाले अभियान सञ्चालन गर्नुअघि शेर्पाहरूको एक सानो समूह बनाए । सोही समूहले उनलाई विभिन्न हिमाल आरोहणमा सघाएको थियो । सोही समूहका केही सदस्य केटु हिमाल आरोहणको टिमको प्रमुख सदस्य थिए । पुर्जा निम्स दाइको नामबाट सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । केटु आरोहणमा संलग्न अर्को आरोहण दलका नेता मिङ्मा ग्याल्जे शेर्मा अर्थात् मिङ्मा जी शान्त प्रकृतिका छन् । उनका पिताले एक पश्चिमी सगरमाथा आरोहीको जुत्ताको लेस बाँध्ने क्रममा हिउँले खाएर हातको औँला गुमाएका थिए ।

पछि मिङ्माले पाँचपटक सगरमाथाको शिखर चुमे । यसअघि सहज सिजनमा उनले केटु पनि दुईपटक चढिसकेका थिए । पुर्जाले उनको केटु परियोजनामा रेडबुलको समर्थन हात पार्न सफल भएका थिए, जबकि मिङ्माले आरोहणका लागि उनको फेसबुक पेजमा गोफन्डमी अभियान चलाएका थिए । त्यसमा उनले ४७ हजार ५ सय डलरको लक्ष्य राखेकोमा जम्मा ८ हजार डलर जम्मा गर्न सफल भए । 

केटु आरोहण प्रयास गर्नेमा नेपालीहरू मात्र थिएनन् । आधारशिविरमा उनीहरूसँग अन्य २५ विदेशी पनि सहभागी थिए । सबै जाडोमा केटु आरोहरण गर्ने पहिलो हुन चाहन्थे । तर, माइनस ७० डिग्री फरेनहाइटको जाडोमा अब्रुजी रिजस्थित क्याम्प ४ छाड्ने १० जना सबै नेपाली मात्र थिए । पुर्जा र मिङ्मा जीले नेतृत्व गरेका समूहले एक–अर्कासँग सहकार्य गरेका थिए । शिखरको चुलीको केही फिट सम्पूर्ण टिम सदस्यले नेपालको राष्ट्रिय गीत गाउँदै सँगसँगै पार गरेका थिए । 

सन् २०१४ को गर्मीमा केटुको शिखर पुगेका एलन आर्नेटले मसँगको कुराकानीमा विगतका आरोहण प्रयास टिमवर्क, नेतृत्व र एकाग्रको अभावमा असफल भएको बताए । केही हदसम्म नेपाली टिमलाई मौसमले सघायो । तर, उनीहरूको सफलतामा सहकार्यको पनि महत्वपूर्ण भूमिका थियो । आरोहणपछि बोल्ने क्रममा पुर्जाले यो आरोहणमा टिमका सम्पूर्ण सदस्यको बराबर हक भएको बताएर यही कुरातर्फ संकेत गरे । आरोही सबै प्रशंसाका योग्य छन् । 

विल्किन्सन नेसनल जियोग्राफीमा लेख्छन् र उनी न्यु ह्याम्ससायरमा आरोहण गाइड गर्छन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य