
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा–सुविधा परित्याग गरेकी छिन् । एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेको पाँच दिनमा भण्डारीले सुविधा परित्याग गर्ने औपचारिक निर्णय लिएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा–सुविधा त्यागेको पत्र बुधबार गृह मन्त्रालयमा दर्ता भएको बताए । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पूर्वराष्ट्रपति भण्डारीका तर्फबाट राज्यबाट प्राप्त सेवा–सुविधा परित्याग गर्ने निर्णय लिएको निवेदन औपचारिक रूपमा प्राप्त भएर दर्ता भएको बताए ।
तर, निवेदनउपर अन्तिम निर्णय भने भइसकेको छैन । ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट सेवा–सुविधा परित्याग गर्न चाहेको निवेदन प्राप्त भएर दर्ता भएको छ, तर अन्तिम निर्णय भइसकेको छैन,’ तिवारीले नयाँ पत्रिकासँग भने । सरकारले प्रदान गरेको सेवा–सुविधा परित्याग गर्ने भण्डारी सम्भवत: पहिलो नेता बनेकी छिन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू भने सरकारी सेवा–सुविधा लिएरै पार्टीको कार्यकारी र अन्य भूमिकामा छन् ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीसमेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । सरकारी आवास र गाडी सुविधा नलिएकी उनका लागि खटिने सुरक्षाकर्मीका लागि गृह मन्त्रालयले बस्न घर भाडामा लिएको छ । सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृह मन्त्रालयले जनाएको छ ।