देश संघीयतामा गएपछिको पहिलो राष्ट्रिय जनगणना सुरु हुन अब १ सय २४ दिन मात्र बाँकी छ । जनगणनाका लागि आवश्यक सामान खरिद र प्रश्नपत्र छपाइको काम सकिएको केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा प्रमुख ढुण्डिराज लामिछानेले जानकारी दिए । ‘त्यसबाहेक जिल्ला–जिल्ला पुर्याउनका लागि सामानको प्याकिङ गर्ने काम भइरहेको छ,’ उनले भने । प्रचार–प्रसारको सामग्री तयार भइसकेको छ भने २० जना राष्ट्रिय प्रशिक्षकको तालिम सकिएको छ । २ फागुनदेखि ६० मास्टर ट्रेनरको तालिम हुँदै छ । उनीहरूले जिल्ला जनअधिकारी र प्रदेश कार्यालयका जनअधिकारीलाई तालिम दिनेछन् । त्यसैगरी, चैचदेखि ४ महिनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिँदै छ ।
४ अर्ब बजेट कसरी खर्च हुँदै छ ?
जनगणनाको तयारी थालिएको २ वर्ष नाघिसकेको छ । विभागका अनुसार २०७९ सालसम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र २०८० सालभित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन प्रकाशित गरिनेछ । यी सबै काम सम्पन्न गर्न ५ वर्षको अवधिमा ४ अर्ब आवश्यक पर्ने अनुमान छ । त्यसमध्ये जनगणनाका लागि हुने खर्चमध्ये पूर्वतयारी (तालिम, भवन, प्रचार सामग्री) र प्रतिवेदन प्रकाशित गर्न १ अर्ब खर्च भएको अनुमान छ । त्यसबाहेक गणनाको मुख्य काम तथ्यांक संकलनका लागि ३ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण छ । तथ्यांक संकलन १५ जेठ २०७८ देखि थालिने र ८ असार (१५ दिन) सम्म चल्नेछ । ८ असार नेपालको राष्ट्रिय जनगणना दिवस पनि हो ।
जनगणनाका लागि ५० हजार मानिस खटिने
जनगणनाको तथ्यांक संकलन गर्न देशभर ३९ हजार गणक र ९ हजार सुपरिवेक्षक खटिनेछन् । यसका लागि विभागले आइतबार अनलाइनमार्फत आवेदनसमेत माग गरिसकेको छ । गणकमा आवेदन दिन १२ कक्षा पास गरेको हुनुपर्छ भने सुपरिवेक्षकका लागि स्नातक तह पास गरेको हुनुपर्छ । ११ चैतसम्म आवेदन दिन सक्नेछन् ।
गणकले खरिदार र सुपरिवेक्षकले नायब सुब्बा तहको सुविधा पाउनेछन् । गणकलाई १ महिना, सुपरिवेक्षकलाई २ महिनाको करार सम्झौता गरिनेछ । केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार देशभर अहिले ७० लाख परिवार संख्या पुगेको छ । २०६८ सालमा गरेको जनगणनामा देशभर ५५ लाख परिवार संख्या थियो । त्यस्तै, आइतबारसम्मको अनुमानित जनसंख्या ३ करोड २ लाख २१ हजार ७ सय ५ जना पुगेको छ ।
३ प्रकारका प्रश्नावली प्रयोग गरिने
राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि ३ प्रकारका प्रश्नावली तयार पारिएको छ । जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ । यसमा २५ वटा प्रश्न हुन्छन् । त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरू हुनेछन् । यो जेठ २५ गतेदेखि तथ्यांक संकलनमा प्रयोग गरिनेछ । यसमा सामूहिक प्रश्नावलीको प्रयोग गरिनेछ । मुख्य प्रश्नावलीमा प्रत्यक्ष रूपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी, बत्ती, मोबाइल, सवारीसाधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ ।
त्यसैगरी, सरकारी निकायमा दर्ता नभएकाहरूको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरूको पनि तथ्यांक संकलन गरिनेछ । जसमा कुन व्यक्तिले के काम गर्छन् ? कस्तो काम गर्छन् ? उनीहरूले काम गर्ने ठाउँमा कस्तो उत्पादन हुन्छलगायतका तथ्यांकहरू संकलन गरिने श्रेष्ठले जानकारी दिए । सामुदायिक प्रश्नावली वडास्तरमा हुनेछ । यसमा पनि हाउसहोल्डबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाई गर्ने काम हुन्छ । जसबाट वडास्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ ।
सात स्थानीय तहमा ट्याबलेटमार्फत तथ्यांक संकलन
यो जनगणनामा पहिलोपटक काठमाडौं र ललितपुर महानगरपालिका, मध्यपुर थिमी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, नागार्जुन नगरपालिका र दक्षिणकाली नगरपालिकामा ट्याबलेटमार्फत तथ्यांक संकलन गरिने भएको छ । त्यसका लागि आवश्यक ट्याबलेट खरिद गर्ने कार्य सकिएको छ भने आवश्यक सफ्टवेयर निर्माण भइसकेको छ । अब परीक्षण थालिएको छ । आसन्न जनगणना जनगणनाको १२औँ शृंखला हो ।