१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ १० शनिबार १०:११:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

ओलीले पार्टी फुटाउन  सुदूरपश्चिममा मन्त्री बाँडे : रावल

Read Time : > 1 मिनेट
२०७७ माघ १० शनिबार १०:११:००

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा मन्त्री पद बाँडेको आरोप लगाएका छन् । प्रचण्ड–नेपाल समूहको कैलाली क्षेत्र नम्बर ५ का कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै रावलले सुदूरपश्चिमलाई माया गरेर नभई पार्टी फुटाउन सुदूरपश्चिमबाट चार–चारजनालाई मन्त्री बनाएको बताए ।

‘जुनवेला डडेल्धुरा र टीकापुरका दुई सिटबाहेक सारा जितेर पठायौँ, त्यो वेला उहाँलाई सुदूरपश्चिमको सम्झना भएन,’ प्रदेश इन्चार्जसमेत रहेका रावलले भने, ‘अहिले पार्टी फुटाउन मन्त्री पदलाई हतियार बनाइएको छ ।’ गत निर्वाचनमा सुदूरपश्चिमका १६ मध्ये नेकपाले १४ वटा निर्वाचन क्षेत्र जितेको थियो । तर, निर्वाचनपछि गठन भएको सरकारमा ओलीले कसैलााई मन्त्री बनाएका थिएनन् । गत ५ पुसमा प्रतिनिधिसभा भंग गरेपछि भने ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै सुदूरपश्चिमबाट तीनजना मन्त्री बनाएका छन् । 

संसद् विघटनलगत्तै प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट प्रेम आलेलाई वन तथा वातावरणमन्त्री, गणेशसिंह ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका छन् । करिब एक वर्षअघि ओलीले लेखराज भट्टलाई उद्योगमन्त्री बनाएका थिए । तत्कालीन नेकपा माओवादीका नेता भट्ट संसद् विघटनपछि ओलीतिर लागेका छन् । नेता रावलले प्रधानमन्त्री ओलीले पछिल्लो तीन वर्षमा सुदूरपश्चिम प्रदेशमा कुनै पनि ठूला योजना नल्याएको जिकिर गरे । 

‘तस्कर मन्त्री बनेपछि रूख डराए’
नेता रावलले वनमन्त्री आले काठ तस्कर भएको आरोप लगाए । तस्कर नै मन्त्री भएपछि रूखहरू डराएको भन्दै रावलले व्यंग्य गरे । ‘अहिले शुक्लाफाँटादेखि लालझाडीसम्मका सबै रूख डरले थर्कमान छन्,’ रावलले भने, ‘किनभने वन तस्कर नै वनमन्त्री छन् ।’

काठ तस्करको मुद्दा लागेर धरौटीमा छुटेकालाई वनमन्त्री बनाउनु लाजमर्दो भएको उनको भनाइ थियो । ‘केपी ओलीले यहाँ भाषण गर्नुभो मैले वनमन्त्री बनाएपछि तस्करहरू डरले थुरथुर भएका छन् भनेर,’ रावलले व्यंग्य गर्दै भने, ‘तस्करहरू होइन, वनस्पति, रूख र जनावर थुरथुर छन् ।’