१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ १० शनिबार ०७:२०:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

ओलीले सेटिङमा संसद् भंग गरेका हुन् : भट्टराई

Read Time : < 1 मिनेट
२०७७ माघ १० शनिबार ०७:२०:००

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सेटिङमा प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् । व्यवस्था भत्काएर निरंकुश शासक बन्ने उद्देश्यसहित सेटिङ मिलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ ।

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘जानीजानी भत्काउने काम भएको छ, यो संविधान र लोकतन्त्रमाथिको प्रहार हो, प्रतिगामी कदम हो ।’ अब जनआन्दोलनको बलमा गलत कदम सच्चाउनुपर्नेमा उनले जोड दिए । ‘राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धानदेखि राज्यका अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सेटिङ गरेर केपी शर्मा ओलीले संसद् विघटन गरेका हुन्,’ उनले भने । 

ओली चुनाव चाहँदैनन्
वैशाखमा निर्वाचन सम्भव नरहेको भन्दै उनले स्वयं ओलीले नै निर्वाचन नचाहेको बताए । ‘ओलीले चुनाव गर्न चाहेकै छैनन् । व्यवस्था भत्काउन र निरंकुश शासक बन्न चुनाव घोषणा भएको हो,’ उनले थपे । प्रधानमन्त्री ओलीको गलत आचरण र चरम महत्वाकांक्षाका कारण मुलुक संकटमा फस्न थालेको भन्दै उनले संसद् पुनस्र्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिक रूपमै अस्थिरतामा फस्ने औँल्याए । 

पुनर्स्थापना नभए तेस्रो जनआन्दोलन
प्रतिनिधिसभा विघटनविरुद्धको रिट अदालतमा रहेको भन्दै अदालतबारे बोल्न उपयुक्त नहुने बताए पनि भट्टराईले असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए । संसद् विघटनका विपक्षमा उभिएका सबै राजनीतिक शक्ति, नागरिक समाज एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईले बताए । कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको भट्टराईको भनाइ थियो ।