१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १o:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केटु हिमाल आरोहण गरेका नेपाली आरोहीलाई पाकिस्तानी राष्ट्रपतिद्वारा सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:४१:oo

विश्व सर्वोच्च शिखर सगरमाथापछिको  दोस्रो उच्च शिखर माउन्ट केटुमा पहिलोपटक हिउँदे आरोहण गरेर फर्केका नेपाली आरोहीहरूलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले सम्मान गरेका छन् ।  केटु आधार शिविरबाट इस्लामाबाद आइपुगेका आरोहीहरूलाई राष्ट्रपति अल्भीले बिहीबार स्वागत गरेका हुन् । नेपाली आरोहीहरूले ३ माघमा केटु शिखर आरोहण सम्पन्न गरेका थिए । यो शिखरमा हिउँद याममा यो वर्ष पहिलोपटक आरोहण सम्पन्न भएको हो । 

दश सदस्यीय नेपाली आरोहीलाई स्वागत गर्दै राष्ट्रपति अल्भीले केटुको सफल हिउँदे आरोहणबाट पाकिस्तानको नरम छवि विश्वमा प्रतिबिम्बित भएको तथा देशको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको बताएका छन् । नेपाली आरोहीहरूलाई स्वागत गर्ने समारोहमा सहभागी भएका नेपाली राजदूत तापस अधिकारीका अनुसार राष्ट्रपतिले हिउँदे याममा केटुजस्तो कठिन पर्वतारोहण सम्पन्न गरेकोमा नेपाली शेर्पाको साहस र बहादुरीको प्रशंसा गरेका छन् । उनले नेपाल र पाकिस्तानबीच गहिरो मित्रता रहेकोसमेत बताएका छन् । 

पाँच दिनअघि नेपाली आरोहण टोलीले पाकिस्तानमा रहेको केटु हिमालको पहिलोपटक हिउँदे याममा आरोहण गर्दै विश्व कीर्तिमानी कायम गरेको हो । नेपाली टोली हिउँदयाममा माउन्ट केटुको शिखरमा यसअघि कुनै पर्वतारोही पुगेका थिएनन् । सेभेन समिट ट्रेकिंसका छाङ दावा शेर्पा नेतृत्वको टोलीे पाकिस्तानको स्थानीय समयअनुसार ४ बजेर ५८ मिनेटमा केटुको सर्वोच्च शिखरमा पुगेको थियो ।

केटु हिमालको उचाइ आठ हजार ६ सय ११ मिटर छ । आठ हजार मिटरभन्दा माथिका अन्य हिमालमा आरोहण भए पनि केटुको आरोहण हिउँद याममा भएको थिएन । माउन्ट केटुको उचाइ आठ हजार ६ सय ११ मिटरमध्ये हिमालको ६ हजार मिटर उचाइसम्म चट्टानी हिमाल छ भने त्यसपछि बाक्लो हिउँ छ । यो शिखर चीन र पाकिस्तान सीमा काराकोरम क्षेत्रमा अवस्थित छ ।

सेभेन समिट ट्रेकिङका तर्फबाट २८ जना शेर्पाहरूको टोली त्यसतर्फ गएको थियो ।  सोही टोलीमा २७ जना विदेशी नागरिक पनि सहभागी थिए । जम्मा  ५५ जनाको टोली बेसक्याम्प पुगेको थियो । ‘यसपटक केटुको शिखरमा पुगिछाड्ने अठोट र विश्वासका साथ आएका छौँ,’ छाङदावाले आरोहणमा जानुअघि नयाँ पत्रिकासँग भनेका थिए, ‘हामी दृढअठोटसहित आगामी फेब्रुअरी पहिलो सातासम्म आरोहणका लागि तयार भएर गएका छौँ । हामी सफल भयौँ भने नेपालको नाम फेरि एकपटक विश्वमा चम्किने आशा छ ।’

जानकारहरूका अनुसार सगरमाथाभन्दा यो दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथाभन्दा धेरै कठिन छ । ‘पाइला–पाइलामा हिमपहिरोमा परिने जोखिम हुन्छ । आँधीसरि हावा बहन्छ । दैनिक दुईदेखि तीन घन्टा मात्रै आरोहणका लागि सहज हुन्छ, बाँकी समय बाटोभरि हिमपहिरो, हिमआँधी आइरहन्छ,’ छाङदावाले भने । केटु हिमाललाई किलर माउन्टेन संज्ञा दिइएको छ । २४ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले भन्ने गरेका छन्, ‘केटु हिमाल आरोहण पृथ्वीकै सबैभन्दा कठिन तथा खतरनाक काम हो ।’

माउन्ट केटुको आधार शिविर समुद्री सतहबाट पाँच हजार एक सय १७ मिटर उचाइमा छ । आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको अर्को वर्ष इटालीका आरोही अकिले कोम्पानियोनी र लिनो लाछिडेल्लीले पहिलोपटक केटु आरोहण गरेका थिए ।

माउन्ट केटु आरोहणमा निस्केको नेपाली टोलीका सदस्यहरूले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटै शिखर आरोहण गरिसकेका छन् । सन् २०१२, २०१४, २०१८ र २०१९ मा छाङदावाकै नेतृत्वमा गृष्म ऋतुमा केटुको पनि सफल आरोहण भएको थियो । 

ad
ad