१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से २४ सय बिन्दु ताक्दै : सेयर बजारमा करिब ८ अर्बको कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o९:oo

साताको अन्तिम दिन नेप्से परिसूचक करिब ३२ अंकले बढेको छ । नेप्से २४ सय बिन्दु ताक्दै अगाडि बढेको छ । बिहीबार नेप्से २ हजार ३ सय ७४ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकम बढेर ७ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । २३ कम्पनीको मूल्य ९ देखि १० प्रतिशतको दरमा वृद्धि भएको छ । 

कारोबारमा आएकामध्ये वाणिज्य बैंक र सामूहिक लगानी कोष समूहगत परिसूचक मात्रै घटेका छन् । वाणिज्य बैंक समूहबाट बिहीबार २ कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । मिश्रित अवस्था देखाउने यी कम्पनीको विवरणपछि लगानीकर्ताले यो समूहमा लगानीका लागि निर्णय लिन सकिरहेका छैनन् । 

कारोबारमा आएका २ सय ९ धितोपत्र र ऋणपत्रमा १ सय ४७ वटाको मूल्य बढेको, ३९ वटाको मूल्य घटेको छ । बजार बढ्न थालेसँगै लगानीकर्ताको सेयर सम्पत्तिको मूल्य करिब ३२ खर्ब पुग्न लागेको छ । कुल बजार पुँजीकरण ३१ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको हो । 

लगानीकर्ताले १ हजारदेखि करिब ३ हजार रुपैयाँ मूल्यका बिमा कम्पनीहरूमै लगानी बढाइरहेका छन् । नेसनल लाइफ, शिखर इन्स्योरेन्स, नेपाल पुनर्बिमा, नेको इन्स्योरेन्स र नेपाल लाइफ कारोबार रकमका आधारमा अग्र पाँचमा छन् । यिनको २१ करोडदेखि ५३ करोड रुपैयाँसम्म सेयर कारोबार भएको छ । 

वित्तीय विवरण प्रभाव
सिटिजन्स बैंकको दोस्रो त्रैमासमा २७ प्रतिशतले नाफा बढेर ८७ करोड रुपैयाँ पुगेको छ । पहिलो त्रैमासमा वितरणयोग्य नाफा ९२ लाख रुपैयाँ रहेकोमा यसमा वृद्धि भएर ८४ करोड पुगेको छ । यो आधारमा अहिलेको नाफाबाटै बैंकले ८ दशमलव ६३ प्रतिशत लाभांश दिन सक्छ । तर, बैंकको खराब कर्जा बढेर २ दशमलव ४७ प्रतिशत पुगेको छ । यो भनेको ९० अर्ब कर्जा लगानी गरेको बैंकको २ अर्ब १७ करोड रुपैयाँ कर्जा खराब भएको हो । बैंकको सेयर मूल्य २ रुपैयाँले बढेर २ सय ९५ रुपैयाँ पुगेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा भने करिब ५ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ । बैंकले ४९ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको बैंकले हाल दिएको १३ प्रतिशत बोनस जोडिएपछि हुने चुक्ता पुँजी १६ अर्ब रुपैयाँको ३ प्रतिशत मात्र हो । बैंकको खराब कर्जा भने केही घटेर कुल कर्जाको २ दशमलव ७५ प्रतिशतमा सीमित भएको छ । यो कुल कर्जा लगानी १ खर्ब ४२ अर्बको आधारमा ३ अर्ब रुपैयाँ हो । बैंकको ३ रुपैयाँले मूल्य घटेर ४ सय ७८ रुपैयाँमा सेयर किनबेच भएको छ ।

करिब ३० प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको मुक्तिनाथ विकास बैंकको सेयर मूल्य १० रुपैयाँले बढेर ३ सय ९६ रुपैयाँमा कारोबार भएको छ । ५२ करोड वितरणयोग्य मुनाफा रहेको यस बैंकले हालको अवस्थामा करिब ११ प्रतिशत लाभांश दिन सक्छ । बैंकको खराब कर्जा सामान्य दरमा बढे पनि १ प्रतिशतभन्दा  तल नै छ ।  

ad
ad