मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार १७:१६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : लुम्बिनी र कर्णालीको पहिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार १७:१६:००

लुम्बिनी र कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेका छन् । मंगलबार भएको खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेको हो । यस्तै, कर्णालीले गण्डकी प्रदेशमाथि पाँच विकेटको जित हात पा¥यो ।
 
लुम्बिनीको यो पहिलो खेलमा पहिलो जित हो । कर्णालीको भने दोस्रो खेलमा पहिलो जित हो । यो जितबाट लुम्बिनी समूह ‘बी’को दोस्रो स्थानमा उक्लिँदा कर्णाली समूह ‘ए’को तेस्रो स्थानमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५७ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको प्रदेश २ ले ४२.२ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ८० रन मात्रै जोड्न सक्यो ।

लुम्बिनीका लागि सन्दीप रजालीले सर्वाधिक ८३ रनको योगदान दिए । तेस्रो क्रममा ब्याटिङका लागि क्रिजमा छिरेका उनले आफ्नो इनिङमा ११ चौका प्रहार गरेका थिए । टोलीका लागि महत्वपूर्ण योगदान दिएका उनी नै म्यान अफ दी म्याच चुनिए । उनीबाहेक सौरभ खनालले ५६ र विक्रम भुसालले ३६ रनको योगदान दिएका थिए ।

प्रदेश २ का लागि विवेक यादवले ५१ रनको अर्धशतकीय योगदान गरे पनि टोलीको जित सम्भव भएन । प्रारम्भिक ब्याट्सम्यान सुधीर चौधरीले ४२, मेहबुब आलमले ३१ र हरिशंकर शाहले २२ रन जोडेका थिए । प्रदेश २ लाई लक्ष्यसम्म पुग्न नदिन लुम्बिनीका अनिल खरेल एक्लैले चार विकेट लिए । प्रदेश २ का हरिशंकरले पनि तीन विकेट लिएका थिए । 


यस्तै, मूलपानीस्थित मैदानमा दुई सय पाँच रनको लक्ष्य ३६.५ ओभरमा मात्रै पाँच विकेट गुमाएर पार गर्दै कर्णालीले महत्वपूर्ण जित हात पारेको हो । उसको जितमा हिमांशु शाहीले अविजित ६८ रनको योगदान दिए । ६० बल खेलेका उसले सात चौका प्रहार गरे । यस्तै, विपिन रावलले ४९, राज शाहले ३२ र हेमन्त वलीले २९ रनको योगदान दिए । 

त्यसअघि टस जिती पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर दुई सय चार रनको योगफल तय गरेको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको योगदान दिए । अर्जुन कुमालले ४६ र विपिन खत्रीले ३२ रनको योगदान दिए पनि टोलीलाई विजयी बनाउन पर्याप्त भएन । टोलीका कप्तान विपिनले बलिङतर्फ पनि चार विकेट लिएका थिए । कर्णालीका दिनेश अधिकारीले तीन तथा अनुज चुनारा र दिवन पुनले दुई–दुई विकेट लिए ।