मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ माघ ३ शनिबार १३:५४:००
Read Time : > 2 मिनेट
फिचर

फाइजर भ्याक्सिनमाथि शंका : नर्वेमा भ्याक्सिन लगाएका स्याहार केन्द्रका २३ जना वृद्धवृद्धाको निधन

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ माघ ३ शनिबार १३:५४:००

विश्वका विभिन्न राष्ट्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन वितरण सुरु भइसकेको छ । केही राष्ट्रमा भ्याक्सिनेसन सुरु हुनैलागेको छ भने केही राष्ट्रमा भ्याक्सिन लैजाने प्रक्रिया सुरु भएको छ । विश्वभरनै भ्याक्सिनको माग उच्च छ । भ्याक्सिन पाएका मानिसमा कोरोना भाइरसविरुद्ध लड्ने हिम्मत बढेको छ भने भ्याक्सिन पाउने पक्रियामा रहेकामा पनि मनोबल बढेको छ । 

तर, कोरोना विरुद्धको भ्याक्सिन लगाएका केही व्यक्तिले मृत्युवरण गरेका कारण यसप्रति शंका पनि उब्जिएको छ । नर्वेमा भ्याक्सिन लगाएका  स्याहार केन्द्रका २३  जना वृद्धवृद्धाको निधन भएको समाचार चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सले उल्लेख गरेपछि यो विषयले अझै त्रसित बनाएको छ । समाचारअनुसार अमेरिकाद्वारा निर्मित फाइजर भ्याक्सिन लगाएका वृद्धवृद्धाको मृत्यु भएको हो । 

नर्वेमा नयाँ वर्ष मनाएको चार दिनपछि कोरोना भ्याक्सिन खोप वितरण भएको थियो । त्यस दिन ३३ हजार नर्वेजियनले भ्याक्सिन लगाएका थिए । समाचार एजेन्सीहरूका अनुसार भ्याक्सिन लगाएपछि २९ जनामा साइडइफेक्ट देखिएको थियो । नर्वेमा अहिलेसम्म ५७ हजार सात सय ३६ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । ग्लोबल टाइम्सका अनुसार नर्वेमा मृत्यु हुने अधिकांश ८० वर्षभन्दा माथिका हुन् ।

धेरैजसोको मृत्यु भ्याक्सिन लगाएको केही दिनपछि नै अस्पतालमा भर्ना भएको अवस्थामा भएको छ । भ्याक्सिन लगाएकामध्ये अझै केहीमा साइडइफेक्ट देखिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्याक्सिन प्रयोगपछि साइडइफेक्ट देखाएपछि नर्वेजियन सरकारले फाइजर कम्पनीमा रिपोर्ट गरेको छ । यता नर्वेको स्वास्थ्य विभागले मृत्यु हुनेमा धेरैजसो मुटु रोगी भएको जनाएको छ । सबैजसोमा दीर्घरोग रहेको विभागको भनाइ छ । 

नर्वेजियन सरकारले यसको थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । रसियाको एन्जेसीले पनि फाइजर भ्याक्सिन लगाएका २९ जनामा समस्या आएको दाबी गरेको छ । रसियन एजेन्सीहरूका अनुसार फाइजर भ्याक्सिन निर्माणमा हतार भएको आरोप पनि छ । यसकारण, चीनले फाइजर भ्याक्सिन तत्काल रोक्नुपर्ने चिनियाँ अधिकारीहरूको सुझाब छ ।
 
पोर्चुगलमा पनि भ्याक्सिन लगाएकी नर्सको निधन
११ दिनअघि फाइजर भ्याक्सिन लगाएकी पोर्चुगलकी एक नर्सको निधन भएको थियो । भ्याक्सिन लगाएको दोस्रो दिनमै ती नर्सले ज्यान गुमाएको पोर्चुगलको स्वास्थ्य विभागले जानकारी दिएको थियो । भ्याक्सिन लिनुअघिसम्म ती नर्समा कुनै स्वास्थ्यमा समस्या थिएन । तर, भ्याक्सिन लगाएको ४८ घन्टापछि महिलालाई श्वास–प्रश्वासमा समस्या भएको थियो । दुई बच्चाकी आमा सोनिया पोर्चुगल डी अकोलजिया सर्जिकलमा काम गर्थिन् । ४१ वर्षीया सोनियाको निधनको प्रस्ट कारण भने खुलेको छैन । 

सोनियाका बुबा एबिलियोले आप्mनी छोरीको निधनको कारण पत्ता लगाउन माग गरेका छन् । ‘यहाँ स्वास्थ्यकर्मीकै फाइजर भ्याक्सिन लिएपछि निधन भएको छ, यो रहस्यमयी बनेको छ, यसको अनुसन्धान हुनुपर्छ,’ बुबा एबिलियोले भने, ‘त्यो दुई दिन छोरीले केही पनि लिएकी थिइनन् । भ्याक्सिन लिएपछि सोनिया निकै खुसी भएकी थिइन् ।’

भ्याक्सिन लिएको केही घन्टापछि नै सोनियाले खुसी हुँदै सामाजिक सञ्जालमा फोटो राखेकी थिइन् । ‘मैले कोभिड–१९ को भ्याक्सिन लिएँ,’ सोनियाले भनेकी थिइन् । नर्वे र पोर्चुगलको घटनाका बारे विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले अझैसम्म पनि केही प्रतिक्रिया दिएको छैन । डब्ल्युएचओले नै कोरोनाविरुद्धको फाइजर भ्याक्सिनलाई अनुमति दिएको हो । 

फिनल्यान्ड र बुल्गेरियामा रिपोर्ट
कोरोना भाइरस तेस्रो चरणमा फैलिएपछि युरोपियन राष्ट्रले विश्वकै पहिलो भ्याक्सिन फाइजरलाई अनुमति दिएका थियो । सन् २०२१ को नयाँ वर्षपछि धेरैजसो राष्ट्रमा यो भ्याक्सिन वितरण भयो ।

फिनल्यान्ड र बुल्गेरियामा अहिले फाइजर भ्याक्सिनले साइडइफेक्ट गरेको रिपोर्ट दर्ता भएका छन् । अमेरिकी कम्पनी फाइजरको भ्याक्सिन लगाएका चारजना बुल्गेरियनको निधन भइसकेको छ ।

भ्याक्सिन लगाएपछि ती व्यक्तिका शरीरको तापक्रम अधिक वृद्धि भएको तथा जीउ दुख्ने समस्या सुरु भएको थियो । यसअघि फिनल्यान्डमा भ्याक्सिन लिएका पाँचजनामा गम्भीर साइडइफेक्ट देखिएको थियो । डब्ल्युएचओले फाइजरलाई विश्वभर आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिइसकेको छ । 

(स्याहार केन्द्रका २३ जना वृद्धवृद्धाको मृत्यु भएको हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सम्पादन गरिएको छ ।)