१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
कृष्ण रिजाल काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o८:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार

‘नागरिक एप’ सञ्चालनमा : अब सबै सरकारी सेवा नागरिक एपबाट 

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:२१:oo

परीक्षणका रूपमा सुरु भएको नागरिक एपले तीन महिनाभित्र पूर्णता पाउने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार ‘नागरिक एप’को बेटा भर्सन (परीक्षण रूप) शुभारम्भ गर्दै

सरकारले जनतालाई हातहातमै सरकारी सेवा दिने भन्दै ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । सम्भव भएसम्मका सबैखाले सरकारी सेवाहरू एकीकृत तथा अन्तरआबद्ध गरी एउटै प्लेटफर्मबाट दिन ‘नागरिक एप’ सञ्चालनमा ल्याएको हो ।

हाललाई परीक्षणका रूपमा सार्वजनिक गरिएको एपबाट प्यान कार्ड प्राप्त गर्न, आफूले तिरेको करको विवरण हेर्न तथा नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिनेछ ।

त्यस्तै, नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारीसमेत लिन सकिनेछ । नागरिक एपबाट हेल्लो सरकारमा गुनासो गर्न तथा गुनासो सम्बोधन भए–नभएको समेत हेर्न सकिनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार ‘नागरिक एप’को बेटा भर्सन (परीक्षण रूप) शुभारम्भ गर्दै तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए । एपमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू क्रमशः थप्दै लगिने उनले जानकारी दिए ।  

‘नागरिक एप राष्ट्रिय गौरवको कार्यक्रम हो, यसले राज्यबाट नागरिकलाई दिने सेवालाई सरल, छिटो–छरितो र कम खर्चिलो बनाउनेछ,’ मन्त्री गुरुङले भने, ‘भौतिक लाइन होइन, अनलाइनबाट सेवा दिने उद्देश्यका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।’  

कसरी प्रयोग गर्ने नागरिक एप ?
नागरिक एपबाट सेवा प्राप्त गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट नागरिक एप (बेटा) डाउनलोड गर्नुपर्नेछ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एपको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्नेछ ।

नागरिक एप प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

एप सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत एप प्रयोग गरेर सरकारी सेवा लिन जनतालाई आग्रह गरे । उनले भने, ‘नागरिक एपले एकै ठाउँबाट सबै सुविधा दिने परिकल्पनालाई साकारको बाटोमा लगेको छ ।’ स्थानीयदेखि केन्द्रसम्मका सम्भव भएसम्म सबै सरकारी सेवा यही एपबाट उपलब्ध गराउने उनले बताए । यसको प्रयोग बढेसँगै सरकारी सेवा लिन झन्झट नहुने, सरकारी कामकाज पारदर्शी हुने र भ्रष्टाचार अन्त्यका लागिसमेत महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

नागरिकता, पासपोर्ट र भोटिङ कार्डसँग लिंक
नेपाल सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने लक्ष्यबमोजिम सरकारी सेवाहरू प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । नागरिक एपका लागि गृह मन्त्रालयसँग रहेको २ करोड १५ लाख नागरिकताको विवरण, निर्वाचन आयोगसँग रहेको १ करोड ५५ लाख नागरिकका औँठा छाप र फोटोसहितको विवरण, राहदानी विभागसँग रहेको राहदानीको प्रयोग गरेर नागरिकको डिजिटल परिचय बनाइएको हो । मन्त्रालयका अनुसार यसलाई राष्ट्रिय परिचयपत्रसँग समेत जोडिनेछ ।

सार्वजनिक बिदामा पनि सरकारी सेवा 
‘लाइन होइन्, अनलाइनबाट २४सै घन्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत निकट भविष्यमै ४० भन्दा बढी सरकारी सेवा लिन सकिने मन्त्रालयले जनाएको छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाका दिन पनि सेवा लिन सकिने मन्त्रालयले उल्लेख गरेको छ । नागरिक एपबाट प्रवाह गरिने सरकारी सेवाहरू पारदर्शी, भरपर्दो र सुरक्षित हुने मन्त्रालयको दाबी छ ।
 

ad
ad