मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ २ शुक्रबार ०६:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक 

Read Time : > 2 मिनेट
२०७७ माघ २ शुक्रबार ०६:१०:००

नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका छन् ।  बैठक शुक्रबार हैदराबाद हाउसमा बस्दै छ।

भारत भ्रमणमा जाने क्रममा बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । तस्बिर : रोशन सापकोटा/रासस

भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार उच्च राजनीतिक नेताहरूसँग भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच शुक्रबार बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ । 

नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड– १९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । संयुक्त आयोगको बैठकका एजेन्डा तय गर्न नेपाल र भारतका परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुखहरूबीच बुधबार र बिहीबार छलफल भएको थियो । 

नेपालबाट परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमाल र भारतबाट उत्तरी डिभिजन प्रमुख अरिन्दम बाग्चीबीच आयोगको बैठकका एजेन्डाबारे छलफल भएको कूटनीतिक स्रोतले जनाएको छ । त्यसका लागि हमाल केही दिनदेखि दिल्लीमा छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुनुका साथै यसअघि उच्च तहमा भएका समझदारी कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा हुने नेपाली अधिकारीहरूले जनाएका छन् ।

त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ । भारतले नेपाललाई दिने कोभिड– १९ विरुद्धको खोप अनुदान पनि शुक्रबार घोषणा गर्ने कार्यक्रम छ । ‘नेपाल–भारत द्विपक्षीय साझेदारीका समग्र पक्षमा उच्च राजनीतिक तहमा समीक्षा हुन्छ र दुई देशबीच विद्यमान विशेष र विशिष्ट सम्बन्ध थप सुदृढ गर्न संयुक्त आयोगले राजनीतिक मार्गदर्शन उपलब्ध गराउनेछ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।

सुरुमा मंसिर अन्तिम साताका लागि तय भएको संयुक्त आयोगको बैठक नेपालमा राजनीतिक अन्योलका कारण पछि सरेको थियो । आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । परराष्ट्रमन्त्री ज्ञवालीलाई ११ मंसिरमा भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृंगलाले निमन्त्रणा गरेका थिए । 

दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल हुने यो संयन्त्र ३३ वर्षदेखि कायम छ । हालसम्म आयोगका जम्मा पाँचवटा मात्रै बैठक भएका छन् । पाँचौँ बैठक गत वर्ष ४ भदौमा काठमाडौंमा भएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी डा. सुब्रमण्यम जयशंकरले बैठकको नेतृत्व गरेका थिए । त्यस्तै, आयोगको चौथो बैठक १८ असोज ०७३ मा दिल्लीमा, तेस्रो बैठक १९ असार ०७१ मा काठमाडौंमा, दोस्रो बैठक १६ मंसिर ०४८ मा दिल्लीमा भएको थियो । संयुक्त आयोगको पहिलो बैठक १८ जेठ ०४४ मा काठमाडौंमा बसेको थियो । 

राजनीतिक सन्देश आदानप्रदान हुने
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटनपछि नेपालबाट भारत भ्रमणमा रहेका ज्ञवाली सबैभन्दा उच्चपदस्थ अधिकारी हुन् । भारतबाट प्रतिनिधिसभा विघटनअघि परराष्ट्रसचिव हर्षबर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे, ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र सत्तारुढ भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए । संसद् विघटनपछिको राजनीतिक परिस्थितिबारे उच्च तहमा पहिलोपटक छलफल हुन लागेको हो । 

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाउने कूटनीतिक स्रोतले बतायो । मोदीसँग भेटवार्ताका लागि नेपालका तर्फबाट कूटनीतिक पहल भइरहेको छ । दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार सकारात्मक जवाफ आएको भए पनि बिहीबार अबेरसम्म समय तय हुन सकेको छैन । परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबारै विवेकानन्द इन्टरनेसनल फाउन्डेसनद्वारा आयोजित प्रवचनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

सीमा बिबादबारे छलफल नहुने भारतको संकेत
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शुक्रबार हुने संयुक्त आयोगको बैठकका सीमा बिबादबारे छलफल नहुने संकेत गरेका छन् ।  विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बिहीबार आधा दर्जन पत्रकारद्धारा सोधिएको प्रश्नमा प्रवक्ता श्रीवास्तबले यस्तो संकेत गरेका हुन् । उनले अनेकौँ क्षेत्रका द्धिपक्षीय एजेन्डाहरुमा छलफल हुने बताएका छन् । ‘सीमाका विषयमा हाम्रो अडान (पोजिसन) सर्वविदितै छ’ प्रवक्ता श्रीवास्तबले भने, ‘संयुक्त आयोगको बैठक र सीमा वार्ता गर्ने दुई बेग्लाबेग्लै संयन्त्र छन् ।’