मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २९ बुधबार १०:१४:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बुटवलमा आन्दोलनको सञ्जाल गठन

Read Time : < 1 मिनेट
२०७७ पौष २९ बुधबार १०:१४:००

लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल रहेका छन् । 

सञ्जालमा रुपन्देहीमा कार्यरत ३५ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सदस्य छन् । सल्लाहकारहरूमा वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, संविधानसभा सदस्य विनोद पहाडी, नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्धबहादुर थापा, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पाण्डे रहेका छन् । 

उक्त नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनका विरुद्ध शान्तिपूर्ण रूपमा सडक संघर्षमा रहेका नागरिक संगठनहरूप्रति ऐक्यबद्धता जनाउँदै साझा नागरिक आन्दोलनमा जोड दिने जनाइएको छ । त्यसैगरी, राजनीतिक दलहरू पनि प्रतिगमनकारी, स्वेच्छाचारी, असंवैधानिक एवं अलोकतान्त्रिक कदमविरुद्ध साझा संघर्षमा उभिनसमेत सबै नागरिकहरूमा हार्दिक अपिल गरिएको छ । 

सञ्जालले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सोचबिचारै नगरी राष्ट्र र जनताको हितविरुद्ध असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्नुले देशमा राजनीतिक र संवैधानिक संकट सिर्जना भएको उल्लेख गरिएको छ । 

त्यस्तैगरी, विज्ञप्तिमा संविधानको कुनै पनि धाराले अख्तियारी नदिएको अवस्थामा भएको प्रतिनिधिसभा विघटनले भर्खरै स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठाडो प्रहार गरेको उल्लेख गर्दै मुलुकलाई संविधानसम्मत मार्गमा हिँडाउन आमनागरिकको दायित्व र कर्तव्य हुन आएको बताइएको छ । सञ्जालले लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको छ ।