१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २७ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २७ सोमबार २o:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरा म्याराथन १ फागुनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २७ सोमबार २o:५४:oo

नेपाली अग्रज खेलाडीहरूको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी १ फागुनमा हुने भएको छ । मञ्चद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै पहिलोपटक महिला हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने मञ्चका अध्यक्ष तेज गुरुङले बताएका छन् । 

पोखरालाई खेलकुद सहरको रूपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको गुरुङले बताए । ‘हामीले कोभिड– १९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागेका हौँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यो म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणाअनुरूप विश्वमा परिचय गराउन यसको भूमिका रहेको छ ।’ 

कोभिड– १९ का कारण पोखरा म्याराथनअन्तर्गत आयोजना हुने १० किलोमिटर महिला र पुरुष, पाँच किलोमिटर छात्र र छात्रा तथा दृष्टिविहीनहरूको दौड र अपांगहरूको ह्विलचेयर दौड भने फरक–फरक मितिमा आयोजना हुने अध्यक्ष गुरुङले जानकारी दिएका छन् । 

पोखरा म्याराथनअन्तर्गत हुने दृष्टिविहीनहरूको दौड तथा अपांगहरूको ह्विलचेयर दौड २२ फागुन, १० किलोमिटर महिला र पुरुष दौड १४ चैत, पाँच किलोमिटर छात्र–छात्रा दौड ४ वैशाख ०७८ मा आयोजना हुनेछन् । 
म्याराथनतर्फका विजेताले दुई लाख, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, महिला हाफ म्याराथनमा प्रथम हुनेले एक लाख, दोस्रो स्थानमा आउनेले ७५ हजार, तेस्रो स्थानमा रहने खेलाडीले ५० हजार तथा चौथो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

१५औँ संस्करणको पोखरा म्याराथनका लागि ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । पोखरा म्याराथन पोखरा रंगशालाबाट सुरु भएर पोखरा महानगरका १७ वटा वडाका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिएका छन् । कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनमा लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको छ ।