मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २५ शनिबार ०९:२१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पोर्टस् अवार्डलाई केल्मीको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २५ शनिबार ०९:२१:००

केल्मी नेपाल १७औँ एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्ड २०७६ कार्यक्रममा सहप्रायोजनका रूपमा रहने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालका प्रबन्धनिर्देशक उत्तम न्यौपानेबीच प्रायोजनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अवार्डको सह–प्रायोजक बनेको केल्मीले एक सय थान ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ सेट गिफ्ट ह्याम्पर उपलब्ध गराउने प्रबन्धनिर्देशक न्यौपानेले बताए । 

न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । मञ्चका अध्यक्ष सुवेदीले विषम परिस्थितिमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए । घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड यस वर्ष २८ पुसमा सेमिभर्चुअल रूपमा आयोजना हुँदै छ । 

अवार्डका लागि यसअघि नै पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । हरेक विधामा ५–५ जना मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् । 

त्यस्तै वर्षका पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् । वर्ष महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन् ।

त्यस्तै, वर्षका युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् । यस्तै, वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।