१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष २४ शुक्रबार २१:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : दोलखामा ओली समूहको कार्यकर्ता भेला, प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन

Read Time : > 1 मिनेट
२०७७ पौष २४ शुक्रबार २१:०५:००

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेकपा राजनीतिक र व्यावहारिक रूपमा विभाजित भएको छ । ओली र प्रचण्ड–माधव नेपाल समूह दैनिक कार्यक्रममा व्यस्त बनेका छन् । दोलखामा दुवै समूहले शुक्रबार छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । 

ओली समूहले अगुवा कार्यकर्ता भेला गरेको छ भने प्रचण्ड–माधव समूहले कालो फेटा बाँधेर विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको छ । ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दोलखा पुगेका गृहमन्त्री रामबहादुर थापा र सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङलाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध गरेका छन् । 

चरिकोटस्थित एक पार्टी प्यालेसमा आयोजना भएको अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेताहरू थापा, गुरुङ र आनन्द पोखरेललगायतले सम्बोधन गरेका छन् । थापाले प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना हुन नसक्ने जिकिर गर्दै वर्तमान सरकारले नयाँ जनादेशका लागि निर्वाचनको तयारी गरेको बताए । उनले प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै प्रतिगमनकारी शैलीमा गरिने विरोधको कुनै तुक नरहेको बताए । 

गुरुङले प्रचण्ड र माधव नेपाललगायतका नेताहरूको कारण मुलुक यो अवस्थामा पुगेको बताएका छन् । गुरुङले प्रतिनिधिसभा पुनस्र्थापना नहुने र सूर्य चिह्न पनि ओली नेतृत्वकै पाटीले लिने उद्घोष गरेका छन् । 

पूर्वमन्त्री आनन्द पोखरेलले पार्टी विभाजनले दोलखामा कुनै असर नपारेको दाबी गर्दै पूर्वएमालेबाट प्रचण्ड–माधव समूहमा खुलेका पशुपति चौलागाईं र शिवप्रसाद भण्डारीलाई पुरानै ठाउँमा फर्किन अनुरोध गरे । 

प्रचण्ड–माधव समूहद्वारा कालो फेटा बाँधेर विरोध 
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले दोलखामा टाउकोमा कालो फेटा बाँधेर विरोध प्रदर्शन गरेको छ । उक्त समूहले दोस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदर्शन गरिएको जनाएको छ । सातदोबाटो चोकबाट सुरु भएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएर पुनः सातदोबाटो चोकमा आयोजित कोण सभामा नेताहरूले सम्बोधन गरेका थिए । 

कोण सभामा नेकपा दोलखाकी इन्चार्ज देवी खड्काले प्रधानमन्त्री ओलीको अहं र घमण्डका कारण मुलुक विखण्डनतर्फ धकेलिएको आरोप लगाइन् । उनले प्रतिनिधिसभा पुनस्र्थापना हुने र जनताका अधिकार पुनस्र्थापित हुने कुरामा न्यायालयले विवेकपूर्ण निर्णय गर्ने बताएकी छिन् । 

कार्यक्रममा सहइन्चार्ज रचना खड्का, प्रदेश सांसद विशाल खड्का, नेता शंकर लामा, प्रदेश सांसद डिएन शेर्पालगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा नेकपाका नेताहरू पशुपति चौलागाईं र शिव भण्डारी अस्वस्थताका कारण उपस्थित हुन नसकेको प्रचण्ड–माधव समूहले जनाएको छ ।