१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १o:o५:oo
Read Time : > 6 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कर्पोरेट किसान

Read Time : > 6 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:o५:oo

व्यावसायिक कृषिमा ठूला घरानाहरू पनि लगानी गर्ने प्रतिस्पर्धामा, उद्यमी घराना पनि करोडौँ रुपैयाँ लगानी गरेर कृषिमा भविष्य खोज्दै

स्याङ्जा जिल्लाको खिलुङ देउरालीमा कुखुरा फार्म सञ्चालन गरिरहेका खुमा अर्याल, शोभकान्त ढकाल, भेषराज अर्यालसहितको समूहले जनकपुरको धनुषामा पनि झन्डै २ अर्ब रुपैयाँ लगानीमा कुखुरा फार्म सञ्चालनमा ल्याउँदै छन् । मुलुककै पुरानो व्यावसायिक घराना गोल्छा परिवार पनि कृषिमा भविष्य खोज्दै छ । राजकुमार गोल्छाले सुनसरीमा १ सय बिघा क्षेत्रफलमा कृषि खेती सुरु गरिसकेका छन् । अर्को व्यावसायिक घराना ज्योति परिवारले पनि बाराको परवानीपुरमा नगदे बाली लगाउँदै आइरहेको छ । रियल इस्टेट, मोबाइल, गाडीलगायत व्यवसायमा सफल व्यवसायी दीपक मलहोत्रा पनि कृषिमा पूर्णकालीन बन्दै छन् । उनले सुनसरीमा पाइलट प्रोजेक्टका रूपमा तरकारी, फलफूललगायत खेती सुरु गरिसकेका छन् ।

पछिल्लो समय व्यावसायिक कृषिमा ठूला घरानाहरू पनि लगानी गर्न तम्सिएको अविनाश ह्याचरी सञ्चालक गुणचन्द्र विष्ट बताउँछन् । कृषि पेसा भनेपछि नाक खुम्च्याउने वर्गहरू पनि भविष्य खोज्दै यही क्षेत्रमा आइरहेको उनको भनाइ छ । चितवनमा रहेको अविनाश ह्याचरी पोल्ट्री क्षेत्रको ट्रेन्ड सेटर हो । रुपन्देहीमा गाई फार्म चलाइरहेका शशि पौडेल भन्छन्, ‘व्यावसायिक कृषिमा लगानी बढ्दै गइरहेको छ । साथै, आधुनिक प्रविधिको प्रयोगले कृषिबाट पनि राम्रो मुनाफा निकाल्न सम्भव हुँदै गएको छ ।’

अहिले कृषि पेसालाई ‘ग्ल्यामर’का रूपमा लिन थालिएको जनकपुर एग्रो फार्मका सञ्चालक शोभकान्त ढकालको ठम्याइ छ । अहिले ठूला घरानाहरू पनि कृषिमा लगानी गरेको कुरा गर्वसाथ सुनाउन तम्सिन्छन् । उनी भन्छन्, ‘कृषिमा ठूलो लगानी र आधुनिक प्रविधि नभित्रिँदासम्म आत्मनिर्भर बन्न सकिँदैन, बिस्तारै लगानी बढ्दै पनि गइरहेको छ ।’ पोल्ट्री व्यवसायमा ठूलो लगानी गरेर अत्याधुनिक प्रविधि भित्र्याएकै कारण अहिले कुखुराको मासु, अन्डा र चल्लामा आत्मनिर्भर भएको अविनाश ह्याचरीका विष्ट जिकिर गर्छन् । कृषिमा आत्मनिर्भर बन्नका लागि ठूलो क्षेत्रफलमा अर्बौँ लगानी हुनुपर्ने उनको बुझाइ छ ।  

जनकपुर एग्रो फार्म र खिलुङ कालिका एग्रो फार्म

जनकपुर एग्रो फार्म

जनकपुरको धनुषा नगरपालिकामा १ अर्ब ८० करोड लगानीमा जनकपुर एग्रो फार्म सञ्चालनमा आउँदै छ । अन्डा पार्ने लेयर्स कुखुराको फार्म एक वर्षभित्र सञ्चालनमा आइसक्ने सञ्चालक शोभकान्त ढकाल बताउँछन् । यो फार्ममा ६ लाख कुखुराबाट दैनिक ५ लाख अन्डा उत्पादन हुनेछन् । जनकपुरमा कुखुरा फार्मसँगै बायोग्यास, बोटलिङ प्लान्ट र अर्गानिक मल पनि उत्पादन हुनेछ । उनी भन्छन्, ‘दैनिक २ सय ५० देखि ३ सय सिलिन्डर बायोग्यास र २५ टन अर्गानिक मल उत्पादन हुनेछ ।’ यो कृषि फार्ममा कृषि विकास बैंकको अगुवाइमा कर्जा प्रदान हुनेछ । सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैंकसमेत समावेश हुने उनले बताए । कर्जा लगानीका लागि बैंक र एग्रो फार्मबीच सम्झौता भइसकेको छ ।

व्यवसायी खुमा अर्याल, शोभकान्त ढकाल, भेषराज अर्यालसहितको समूहले जनकपुरमा ठूलो लगानीमा कुखुरा फार्म सञ्चालन गर्न लागेको हो । एक वर्षभित्र आंशिक रूपमा र दुई वर्षभित्र फार्म पूर्ण क्षमतामा सञ्चालनमा आइसक्नेछ । फार्मभित्रै दाना उद्योग पनि खुल्नेछ । यो समूहले स्याङ्जाको खिलुङ देउरालीमा पनि अत्याधुनिक एग्रो फार्म सञ्चालन गरिरहेको छ । स्याङ्जाको फार्मबाट दैनिक २ लाख अन्डा उत्पादन भइरहेको उनले बताए । यो फार्ममा पनि लगानी ८० करोड रुपैयाँ हाराहारी पुगिसकेको उनको भनाइ छ । उनकाका अनुसार स्याङ्जाको फार्ममा बायोग्यासबाट बिजुली उत्पादन भइरहेको छ ।

रुपन्देहीमा अस्ट्रिच फार्म

लुम्बिनी भ्रमणमा जाने धेरै पर्यटकको गन्तव्य बन्छ, रुपन्देहीको अस्ट्रिच फार्म । १३ वर्षअघि ३० करोड लगानीमा सिपी शर्माले अस्ट्रिच पालन सुरु गरेका थिए । अहिले उनको फार्म दाङसम्म फैलिएको छ भने लगानी पनि २ अर्ब पुगिसकेको छ । रुपन्देही, दाङका फार्ममा गरी ६ हजार अस्ट्रिच छन् । अस्ट्रिच पाल्नका लागि भनेर उनले रुपन्देहीको गंगोलीमा २२ बिघा जग्गा आफैँ खरिद गरेका हुन् । रुपन्देहीकै सूर्यपुरा र दाङमा जग्गा भाडमा लिएर अस्ट्रिचपालन गरिरहेका छन् । उनको फार्म अस्ट्रिच नेपाल प्रालिबाट मासिक १ सय टनभन्दा बढी मासु उत्पादन गर्ने क्षमता छ । रुपन्देहीको फार्ममा प्रशोधन गरेर काठमाडौं, पोखरा, नारायणगढलगायत सहरमा अस्ट्रिचको मासु पुग्छ । 

कृषिमा आइएमएस ग्रुप
व्यावसायिक घराना आइएमएस ग्रुपले व्यावसायिक कृषिको पाइलट प्रोजेक्टका रूपमा सुनसरीमा २५ बिघामा कृषि खेती सुरु गरिसकेको छ । फार्ममा कागती, मेवा, स्ट्रबेरी, धान, गहुँलगायत बाली लगाएर प्रोजेक्ट सुरु गरेको ग्रुपका अध्यक्ष दीपक मलहोत्रा बताउँछन् । उनी भन्छन्, ‘अब कृषिमा नेतृत्व गर्ने उद्यमी चाहिन्छ, म पनि एउटा लिडर बन्न चाहन्छु ।’ उनले मनाङमा ५ सय रोपनी क्षेत्रफलमा स्याउ खेती गर्दै छन् । सातवटै प्रदेशमा कृषि खेती गर्ने लक्ष्य रहेको उनी सुनाउँछन् । आगामी ३ वर्षभित्र कृषिमा करिब ४ अर्ब लगानी गर्ने लक्ष्य उनको छ । देशभित्र कृषि उत्पादनको प्रशोधन उद्योग पनि खोल्ने लक्ष्य लिएका उनले नेपाली कृषि उत्पादन निर्यातसम्मको योजना बुनेका छन् । 

अविनाश ह्याचरी, चितवन
नेपाललाई कुखुराको चल्ला, अन्डा र मासुमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिने उद्यमी हुन्, गुणचन्द्र विष्ट । उनको अत्याधुनिक प्रविधियुक्त ह्याचरी उद्योगमा मात्र ३ अर्बभन्दा बढी लगानी भइसकेको छ । ह्याचरी, पोल्ट्री र दाना उद्योगमा समेत गरी कुल लगानी ७ अर्ब रुपैयाँ पुगिसकेको उनी बताउँछन् । ‘हप्तामा ६ लाख चल्ला उत्पादन हुने उनको फार्ममा कोभिडका कारण अहिले डेढ लाख हाराहारी चल्ला उत्पादन भइरहेको छ । उनी भन्छन्, ‘नेपालभरि हप्तामा ६० लाख चल्ला उत्पादन हुन्थे, अहिले २० लाख हाराहारी उत्पादन भइरहेको छ ।’ उनको फार्मबाट अहिले दैनिक डेढ लाख अन्डा उत्पादन भइरहेको छ । विष्टले ०४६ सालमा २ हजार प्यारेन्टबाट अविनाश ह्याचरी सुरु गरेका थिए । उनले ह्याचरी सुरु गर्दा भारतबाट ७५ प्रतिशत चल्ला आयात गरिन्थ्यो । अहिले मुलुक कुखुराको अन्डा, चल्ला र मासुमा आत्मनिर्भर भइसकेको छ । 

पूर्वमन्त्री लोकेन्द्र विष्ट ड्रागन फ्रुट्सखेतीमा 
सक्रिय राजनीतिबाट अवकाश लिएर पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर यतिवेला कृषि खेतीमा व्यस्त देखिन्छन् । वीरबहादुर बुढा र धनबहादुर केसीसँग मिलेर दाङको बिजौरीमा ६६ कट्ठा क्षेत्रफलमा ड्रागन फ्रुट्सको खेती गरिरहेका छन्, उनी । उनी भन्छन्, ‘सक्रिय राजनीति छाडिहालियो । किसानको छोरो, राजनीति छाडेपछि कृषिमा स्वतः प्रवेश भइयो । २०७२ मा उनले काभ्रेमा ५३ रोपनी जग्गा भाडामा लिएर कालो धानको खेती गरे । तर, काभ्रेमा जग्गाको भाडा पनि महँगो, काम गर्ने कामदार पनि नपाइने, पाइए पनि अत्यन्तै महँगा हुनाले दाङतिर लागेका हुन् । दुई वर्षअघि सुरु गरेको उनको ड्रागनखेतीमा १ करोड हाराहारी लगानी पुगिसकेको बताउँछन् । उनी भन्छन्, ‘यो फल महँगो र स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसको मूल्य काठमाडौंमा प्रतिकिलो २ हजार रुपैयाँसम्म बिक्री हुने रहेछ, तर हामीले किलोको ७–८ सयमा बिक्री गरिरहेका छौँ ।’  

रुपन्देहीमा गाई फार्म

रुपन्देहीका शशि पौडेलले तिलोत्तमा नगरपालिकास्थित टिकुलीगढमा गाई फार्म सञ्चालन गरिरहेका छन् । उनको लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टरमा साढे ५ सय गाई छन्, जसमध्ये १ सय ७५ दुहुना हुन् । दैनिक २२ सयदेखि २५ सय लिटरसम्म दूध उत्पादन हुने फार्मबाटै उनले उत्कृष्ट कृषकका रूपमा राष्ट्रिय सम्मानहरू पाइसकेका छन् । २५ करोडबाट सुरु फार्ममा अहिले २ अर्ब हाराहारी लगानी पुगेको छ । ‘अहिले हामीले फार्ममै बायोग्यासबाट बिजुली निकाल्छौँ,’ उनी भन्छन्, ‘गोबरको लेदोलाई फिल्टर गरेर निस्किएको पानीलाई सिँचाइ गर्ने र गोबरलाई अर्गानिक मल बनाएर बिक्री गर्छौँ ।’

गोल्यान समूह कृषिमा आक्रामक
निर्यातजन्य उद्योग, बैंक तथा वित्तीय संस्था, रियल इस्टेट, जलविद्युत्, हस्पिटालिटीलगायत क्षेत्रमा लगानी गरिरहेको गोल्यान समूहले कृषि क्षेत्रमा पनि हात हालिसकेको छ । झापामा २ सय बिघा क्षेत्रफलमा कागती, आँप, लिची, खरबुजा, मेवा, स्ट्रबेरी, केरा, विभिन्न प्रकारका तरकारी, धान, गहुँलगायत खेती लगाइरहेको समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । अर्गानिक कृषि उत्पादनमा विशेष जोड दिइरहेको यो समूहले ‘माटो’ ब्रान्डबाट तरकारी तथा फलफूल बजारमा बिक्री–वितरण सुरु गरिसकेको छ । कृषि खेती र माटो ब्रान्डमा करिब ८५ करोड हाराहारी लगानी भइसकेको उनको भनाइ छ । ‘हामी आफ्नो फार्मको उत्पादन मात्र नभएर स्थानीय कृषकका अर्गानिक उत्पादन पनि खरिद गरेर माटो ब्रान्डबाटै बिक्री–वितरण गर्न थालेका छौँ,’ उनी भन्छन्, ‘कृषकलाई राम्रो मूल्य दिएर हामी उनीहरूको उत्पादन खरिद गरिदिन्छौँ ।’ 
 
सारडा ग्रुप कृषिमा 
चर्चित व्यावसायिक घराना सारडा ग्रुपले मोरङ र सुनसरीमा ५० बिघा क्षेत्रफलमा व्यावसायिक कृषि खेती सुरु गरिसकेको छ । अहिले धान, गहुँ, मकै बाली, तरकारी र फलफूल लगाइरहेको यस समूहले भोलिका दिनमा हाइभेल्यु कृषि उत्पादनमा जोड दिने सोच बनाएको छ । ग्रुपका निर्देशक पवनकुमार सारडाले निकट भविष्यमै कृषिमा २० करोड लगानी गर्ने योजना सुनाए । स्थानीय कृषकसँग सहकार्य गरेर पनि कृषि उत्पादन बढाउन पहलकदमी चाल्ने उनी बताउँछन् । उनी भन्छन्, ‘हामी कृषिमा लगानी बढाउँदै जानेछौँ, हाम्रो लक्ष्य नेपाली उत्पादन विदेशमा पनि निर्यात गर्नेछ ।’ 

गोल्छा परिवारको १ सय बिघा जमिनमा कृषि फार्म 
मुलुककै पुरानो व्यावसायिक घराना गोल्छा परिवारका सदस्य राजकुमार गोल्छाले सुनसरीको सीतागन्ज र रामगन्जमा सय बिघा क्षेत्रफलमा कृषि खेती सुरु गरेका छन् । फार्ममा कागती, सुपारी, उखु, धान, गहुँ, मकैलगायत बाली लगाइएको छ । यस वर्षदेखि जुट, तरकारी र स्ट्रबेरीको खेती पनि सुरु गरेको उनले जानकारी दिए । ‘हामी सिजनल फलफूल लगाउँछौँ, विभिन्न भेराइटीका तरकारी पनि फार्ममा फलाउँछौँ,’ उनले भने, ‘केही जमिनमा रूख पनि लगाएका छौँ ।’ अहिले थोरै जग्गामा पाइलट प्रोजेक्टका रूपमा स्ट्रबेरी लगाएका हुन् । यसपटक राम्रो उत्पादन भएमा ठूलो क्षेत्रफलमा स्ट्रबेरी खेती गर्ने योजना छ । अहिलेसम्म कृषि फार्ममा २५ करोड रुपैयाँ हाराहारी लगानी भइसकेको उनले बताए ।

लालीगुराँस सहकारीको गाई फार्म

चितवनको ‘लालीगुराँस काउ फार्म’

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले चितवनको खैरहनीमा साढे ५ सय गाईको फार्म सञ्चालन गरिरहेको छ । फार्मका प्रशासन अधिकृत कृष्ण भण्डारीका अनुसार दूध दिने १ सय ८० वटा गाईबाट दैनिक १८ सयदेखि २२ सय लिटरसम्म दूध उत्पादन हुन्छ । ०७० सालदेखि सञ्चालनमा आएको फार्म १९ बिघा क्षेत्रफलमा फैलिएको छ । सहकारीले दुई महिनाअघि ललितपुरको गोदावरीमा दूधको प्रशोधन प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । उनका अनुसार अहिले लालीगुराँस ब्रान्डबाट दही, घिउ, दूध, पनिरलगायत दुग्धजन्य परिकार बजारमा बिक्री हुन थालिसकेको छ । 

ज्योति समूहको कृषिमा लगानी 
व्यावसायिक घराना ज्योति समूहले पनि बाराको परवानीपुरमा कृषि खेती गर्दै आइरहेको छ । आधुनिक प्रविधिमार्फत तरकारी, फलफूललगायतमा १०–१२ करोड लगानी गरिसकेको छ । सरकारले सहुलियतपूर्ण ऋण दिने र खेती–किसानी गर्ने दक्ष कामदार पाएमा कृषिमा लगानी विस्तार गर्ने ज्योति परिवारको योजना छ । 

किसानलाई सघाउँदै बुद्ध एयर
आन्तरिक वायुसेवामा अग्रणी बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले कृषकलाई आधुनिक प्रविधिबाट धानखेती गर्न सघाउँदै छन् । कृषिमा डेढ दशक लामो अनुभवलाई सामाजिक उद्यममा परिणत गर्दै छन्, उनी । व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कृषिमा उद्यमशीलता र रोजगारी सिर्जना गर्न उनले १५ करोड लगानी गर्दै छन् । किसानसँग खरिद गरेको धान प्रशोधन गर्न ठूलो चामल मिल सञ्चालन गर्दै छन् । अहिले मोरङको बेलबारी हाँडीहाटमा कृषियन्त्र, चामल मिललगायतका मेसिन जडान गर्ने काम भइरहेको छ ।  

स्थानीय कृषकहरूसँगको सहकार्यमा चक्लाबन्दी प्रणालीमा ठूला अत्याधुनिक मेसिनबाट धानखेती गरिनेछ ।  पहिलो चरणमा किसानले १४ सय बिघामा लगाएको धान खरिद गरेर प्रशोधन गरी बजारमा पठाउने योजना रहेको उनले सुनाए । कृषकको खेतबाट सीधै धान खरिद गरेर प्रशोधन गरी उपभोक्तासम्म पु¥याउँदा कृषिका बिचौलियाहरूको संयन्त्र पनि तोडिने उनको विश्वास छ । अहिले आफँै लगानी गरेर चामल मिल सञ्चालन गर्न लागेका उनले भोलिका दिनमा कृषकलाई साझेदार बनाएर मिलको क्षमता विस्तार गर्दै अगाडि बढ्ने योजनमा छन् ।  

कृषिमा छिर्दै बतास अर्गनाइजेसन
पोखराबाट उदाएको व्यावसायिक घराना बतास अर्गनाइजेसनले पनि कृषिमा भविष्य खोज्न थालेको छ । बतास एग्रो प्रालिले कृषि उद्यमी हुन चाहने युवासँग साझेदारी गरेर खेती–किसानी गर्न कस्सिएको हो । अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासका अनुसार पोखरा महानगरपालिका–२२ स्थित फेवातालसँग जोडिएको १ सय ७ रोपनी क्षेत्रफलमा कृषि खेतीका लागि साझेदारीको खोजी भइरहेको छ । बतास एग्रोले सुरुवाती चरणमा कृषि उद्यम सुरु गर्न बिउ, मल, मजदुरको तलब, भौतिक संरचना निर्माणमा सघाउ पु¥याउनेछ । उनले काठमाडौंमा पनि साझेदार खोजेर अस्ट्रिचपालन गर्ने सोच बनाएका छन् । 

कृषिमा ठूला कर्पोरेट प्रवेश गर्ने क्रम जारी छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य पनि लामो समयदेखि कृषिमा संलग्न छन् । उनले उत्पादन गर्ने चिया विदेश निर्यात हुन्छ । यस्तै, भाटभटेनी स्टोरका मालिक मीनबहादुर गुरुङ पनि कृषिमा ठूलो लगानी गर्ने सोचमा छन् । उनको कृषि योजना कोभिडले पछाडि धकेलिदिएको छ ।

 

ad
ad