१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर सौजन्य : विनोद गुरुङ
२०७७ पौष २३ बिहीबार ०७:१४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चिसोले जम्न थाले  मनाङका हिमताल

गंगापूर्ण, तिलिचो, केंचो, डोना, पोङकरलगायतका हिमताल चट्टानजस्तै

Read Time : < 1 मिनेट
२०७७ पौष २३ बिहीबार ०७:१४:००

चिसो अत्यधिक बढेपछि मनाङका हिमताल जम्न थालेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको स्थानीयले बताएका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका वेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् । ‘चिसो समयमा समेत मनाङमा हिमाली दृश्यावलोकन गर्ने केही पर्यटक आएका छन्,’ उनले भने ।

स्थानीयका अनुसार ४९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकरलगायतका ताल यतिवेला जमेका छन् । दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन । चिसो बढेसँगै मनाङवासीको जनजीवन प्रभावित बनेको छ । खानेपानीको मुहानसमेत जमेकाले उनीहरू झनै समस्यामा परेका छन् ।

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ । मनाङका ताल हेर्न जाडो समयमा समेत पर्यटक आउने गरे पनि यस वर्ष कोरोनाका कारण धेरै पर्यटक मनाङ पुग्न सकेका छैनन् ।

गत वर्ष यही समयमा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू जमेको तालमाथि हिँडेर नौलो अनुभव लिएका थिए । यहाँका हिमताल प्रायः मंसिर–पुसदेखि फागुनसम्म जमिरहेका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका खोलाको पानीसमेत जम्न थालेको छ । सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । कहिलेकाहीँ पानी जमेर लघु जलविद्युत् आयोजनासमेत बन्द हुने गरेको उनी बताउँछन् ।