मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नेपाल–चीन सीमा स्तम्भ नं. ८ क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली  । तस्बिर सौजन्य : सुरज केसी/सशस्त्र प्रहरी
२०७७ पौष २३ बिहीबार ०५:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उत्तरी सीमा क्षेत्रमा हिउँमै सशस्त्रको गस्ती

Read Time : < 1 मिनेट
२०७७ पौष २३ बिहीबार ०५:५९:००

हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेटमा झर्‍यो, पाइपमा हिउँ जमेपछि नदीको पानी पिउँदै सशस्त्र प्रहरी

चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा केही दिनयता हिमपात भएको छ । बाक्लो हिउँ जमेको भए पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)ले सीमा सुरक्षा गस्ती गरिरहेको छ । 

नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएयता नियमित सीमा सुरक्षा गस्ती गर्दै आएको छ । अहिले हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । हिमपातका कारण मान्छेको चलहपलह कम भएको समय पारेर सीमा क्षेत्रमा आपराधिक गतिविधि नहून् भनेर सुरक्षा गस्ती जारी राखेको सश्स्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसीले बताए । ‘हिउँ परिरहेको भए पनि नियमित गस्ती गरिरहेका छौँ,’ इन्स्पेक्टर केसीले भने । 

केही दिनदेखि लगातार परेको हिउँले नारालेक सेताम्य भएको छ । बाटोमा पनि बाक्लो हिउँ जमेको छ । तैपनि सशस्त्र टोली हिउँ छिचोल्दै उत्तरी सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ । 
अहिले हिल्सा बिओपीमा २२ जना सशस्त्र प्रहरीको टोली छ । त्यस्तै, हिल्सामा होटेल कुरुवा १२ जना कामदार छन् । अरू सबै बेसी झरिसकेका छन् । हिल्सामा रहेको सीमा प्रहरी चौकी पनि कात्तिकमै सदरमुकाम सिमकोट फर्किएको थियो । 

हिल्सा नदी उत्तरको चिनियाँ क्षेत्रमा सुविधासम्पन्न भौतिक पूर्वाधार छन् । त्यहाँ चिनियाँ सुरक्षाकर्मी बाह्रै महिना बस्छन् । हिल्साको दक्षिणतिर नेपाली क्षेत्रमा भने भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको पाइपमा पनि हिउँ जमेको छ । जसले गर्दा सशस्त्रको टोली नदीको पानी प्रयोग गर्दै आएको छ ।