मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १९ आइतबार
  • Monday, 16 December, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७७ पौष १९ आइतबार १९:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादव भन्छन्– सडक–संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्छौँ 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ पौष १९ आइतबार १९:३८:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने अडान लिइरहेका वेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सडक–संघर्षबाटै पुनस्र्थापना गर्ने दाबी गरेका छन् । जसपानिकट युवा संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरधाममा सम्बोधन गर्दै यादवले लामो संघर्षबाट प्राप्त उपलब्धिको सुरक्षाका लागि जसपाले कडा आन्दोलन गर्ने चेतावनी दिए । 

प्रधानमन्त्री ओलीको सनक र सत्तास्वार्थले संविधान, संघीयता, समावेशिता, गणतन्त्र संकटमा परेको उनको दाबी छ । उनले भने, ‘हुन त उनीहरूले नरुचाएर पनि मधेस आन्दोलनको बलमा मुलुक संघीय गणतान्त्रिक व्यवस्थामा गयो, त्यसकारण यसलाई जोगाउन र संरक्षण गर्न जसपा पछाडि पर्दैन ।’

‘प्रधानमन्त्री ओलीबाट लोकतन्त्रणको हत्या हुँदा आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसको इन्जिन अहिले खराब भएको छ भने कम्युनिस्टहरूले त लोकतान्त्रिक बाटो नै बिराएका छन्,’ उनले भने, ‘अहिले लोकतन्त्रणको रक्षा गर्ने जिम्मेवारी वैकल्पिक शक्ति जसपाको काँधमा आएको छ ।’ ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोकेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले आरोप लगाए । 

उनले भने, ‘प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा रहेको छ, अदालतको कस्तो फैसला आउँछ त्यो हामीलाई थाहा छैन, अदालतप्रति हाम्रो सम्मान छ, तर भरोसा छैन । कारण विगतमा पनि राजनीतिक विषयमा अदालतको फैसला हामीले हेरेका छौँ । प्रतिनिधिसभा विघटन पनि राजनीतिक विषय हो । यसको समाधान राजनीतिक माध्यमले नै हुन्छ ।’ 

संविधान संशोधन गरी कोरोना कहरले आर्थिक रूपमा पछाडि परेको मुलुकलाई आर्थिक उन्नतिको बाटोतर्फ डो¥याउनुको साटो ओलीले देशको अर्थव्यवस्था नै ध्वस्त पारेको यादवको दाबी छ । ओली महेन्द्रवादी, नश्लवादी चिन्तनले ग्रसित रहेको उनको आरोप छ । उनले भने, ‘चुनावको मिति घोषणा गर्नु नाटक मात्रै हो, ओलीले चुनाव गराउन सक्दैनन्, अहिले प्रतिनिधिसभा विघटन गरेका छन्, यसपछि प्रदेश सभा विघटन गर्छन्, त्यसपछि संकटकाल, त्यतिले पनि नपुगेर सैनिक शासन लगाएर मुलुकमा तानाशाही र सर्वसत्तावादी व्यवस्था ल्याउने षड्यन्त्रमा लागेका छन् ।’ 

कार्यक्रममा जसपाका नेता शरतसिंह भण्डारीले मुलुक सनकी र तानाशाह प्रवृत्तिको हातमा गएको दाबी गरे । ओली प्रवृत्तिविरुद्ध कडा संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।