१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १८ शनिबार
  • Saturday, 05 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७७ पौष १८ शनिबार ११:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गहना लुट्न ७१ वर्षीया वृद्धाको हत्या

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ पौष १८ शनिबार ११:५१:oo

कञ्चनपुरमा गहना लुट्न एक वृद्धाको हत्या भएको छ। पुनर्वास नगरपालिका–१ ढक्का बस्ने ७१ वर्षीया खन्टी भुलको गहना लुट्नका लागि छिमेकी दलबहादुर विकले हत्या गरेको प्रहरीले जनाएको छ।
 
घरमा कोही नभएको मौका छोपी वृद्धाको नाक, कान र घाँटीमा रहेका गहना लुट्ने उद्देश्यका साथ विकले वृद्धाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना घटेको सातामै कञ्चनपुर प्रहरीले घटनाका मुख्य योजनाकार विकलाई सार्वजनिक गरेकोछ ।

‘वृद्धा खन्टी भुल एक्लै घरमा बस्थिन् । त्यही मौका छोपी छिमेकीसमेत रहेका दलबहादुर विकले धारिलो हतियार प्रयोग गरेर हत्या गरेपछि गहना लुटेर घरमै लुकाएका रहेछन्, ‘कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, ‘अनुसन्धान गर्दै जाँदा शंकास्पद १२ जनालाई नियन्त्रणमा लिएका छौँ, जसमध्ये दलबहादुरमाथि हामी बढी फोकस भयौँ, ‘उनको घरमा गोली पनि भेटियो, विकले वृद्धाबाट लुटेका गहना टर्चभित्र फेला परेसँगै घटना उनले नै गरेको स्वीकार गरेका छन् ।’ वृद्धले लगाएको दुई थान मुन्द्रा, तिलहरी र फुलीका साथै राइफलको गोली धारिलो हतियार, चप्पल, कपडासमेत बरामद गरिएको छ । 

घटनामा विकसहित अन्यको संलग्नता रहेको विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले बताए । जनयुद्धकालीन पूर्वमाओवादी कार्यकर्ता भएकाले उनले घरमा पहिलेदेखि गोली लुकाएर राखेको प्रहरीले जनाएको छ । 

विकविरुद्ध हातहतियार खरखजाना एवं कर्तज्य ज्यानअन्तर्गत मुद्दा चलाइने प्रहरीले तयारी गरेको छ । वृद्धाको हत्या स्वीकार गरेका विकको घर करिब दुई मिटर दूरीमा छ । ४९ वर्षीया दलबहादुरले आमासरहकी वृद्धाको सुन लुट्नकै लागि हत्या गरेको प्रहरीको दाबी छ । उनीहरूबीच पहिलेदेखि न कुनै रिसइबी न कुनै विवाद भएको जनाइएको छ । 

पीडितपरिवारले हत्यामा संलग्नको पहिचान भए पनि कानुनअनुसार कारबाहीको  माग अघि सारेका छन् । मृतक भुलका छोरा मोतीसिंह भुलले घटनामा संलग्न व्यक्तिउपर कारबाही हुनुपर्ने बताए । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज कैलाश विष्ट नेतृत्वका इप्रका, जिल्ला र प्रदेश प्रहरीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख मरासिनीले अपराध हुनेबित्तिकै पीडित परिवार स्थानीय नागरिकबाट सहयोग हुँदा जिल्लाका एक वर्षको अवधिमा घटेका ६ वटा जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धान भएको बताए । ‘समाजमा कुनै घटना घट्नेबित्तिकै घरपरिवार, स्थानीय नागरिकबाट सहयोग हुनुपर्छ, ‘उनले भने, ‘तब मात्रै घटनाको वास्तविकता बाहिर आउँछ ।’