Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १७ शुक्रबार १२:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा नागरिकता लिन टोकन प्रणाली लागू 

Read Time : < 1 मिनेट
२०७७ पौष १७ शुक्रबार १२:०५:००

बिचौलियामुक्त र सेवालाई छरितो बनाउन जिल्ला प्रशासन कार्यालय सिराहाले टोकन प्रणाली अपनाएको छ ।

कोरोनाको जोखिम रहेकाले भिडभाड बढ्दा संक्रमणको खतरासँगै बिचौलियाबाट सेवाग्राही ठगिन सक्ने भन्दै टोकन प्रणालीको थालनी गरिएको छ । नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्रका लागि व्यवस्थित र सहज बनाउन टोकन प्रणाली थालनी गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

दैनिक अढाई सयभन्दा बढी सेवाग्राही नागरिकता लिन आउने गरेको भन्दै प्रजिअ कँडेलले सेवालाई बिचौलीयामुक्त र छरितो बनाउन टोकन प्रणाली अपनाइएको बताए।

स–साना काखे बालबालिकासहित आउने सेवाग्राही, ज्येष्ठ नागरिक, अपांगता भएकालाई पहिलो प्राथमिकता दिँदै आएको भन्दै प्रजिअ कणेलले टोकन प्रणालीले सेवा प्रवाहलाई सरल बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दैनिक दुई सयभन्दा बढी नागरिकता लिन आउनुहुन्छ,’ प्रजिअ कणेलले भने, ‘व्यवस्थित र छरितो सेवा प्रवाह गर्न नयाँ अभ्यास थालिएको छ ।’

कोरोनाको जोखिमबाट पनि बच्न भिडभाडलाई पनि नियन्त्रण गर्नुपर्ने भएकाले व्यवस्थित बनाउन टोकन प्रणालीले सहयोगी हुने प्रजिअ कणेलको भनाइ छ ।

पाँच महिनामा १८३५ नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय सिराहाले चालू आर्थिक वर्षको पाँच महिनामा एक हजार आठ सय ३५ जनालाई नागरिकता वितरण गरेको छ ।

साउनदेखि मंसिरसम्म वंशजका आधारमा एक हजार दुई सय ३५ जना, वैवाहिक नागरिकता ४१, पाँच सय ४१ नागरिकताको प्रतिलिपि, ३६ वटा प्रतिलिपिको नयाँ रेकर्ड कायम गरी वितरण गरिएको प्रजिअ कणेलले बताए । नागरिकतासँगै राहदानी नियमित दर्ता चार सय २४ र द्रूत सेवा सिफारिस ९६ जनालाई गरिएको छ ।