१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कालोपत्रे गरिएको भोलिपल्टै उप्किएको भाग छोप्न निर्माण कम्पनीले हालेको बालुवा
श्रवण थापा सर्लाही
२०७७ पौष १७ शुक्रबार ०७:११:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

साँझ कालोपत्रे, बिहान उप्कियो

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ पौष १७ शुक्रबार ०७:११:००

ठेकेदार भन्छन्– प्राविधिक कारणले उप्कियो, उपमेयर भन्छिन्– गुणस्तरीय काम नहुँदासम्म बाँकी रकम भुक्तानी हुँदैन

सर्लाहीको बरहथवा नगरपालिकास्थित हजरियामा सडकमा कालोपत्रे गरेको भोलिपल्ट नै उप्किएको छ । निर्माण कम्पनीले लापरबाही गरी गुणस्तरहीन काम गरेकाले कालोपत्रे उप्किएको भन्दै स्थानीय बासिन्दाले आक्रोश पोखेका छन् । 

बरहथवा नगरपालिका–२ स्थित बरहथवा बजार हुँदै हजरियाको पञ्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालयसम्म पुग्ने सडक ८ पुसमा कालोपत्रे गरिएको थियो । ९ पुस बिहानदेखि नै कालोपत्रे उप्किन थालेको स्थानीय बासिन्दाले बताए । कमसल ढंगले कालोपत्रे गर्दा एक दिन पनि नटिकेको उनीहरूको भनाइ छ ।

यो सडक कालोपत्रे गर्नका लागि एमएसके लाइट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । कोरोना भाइरस महामारीलाई देखाउँदै लामो समय काम भएको थिएन । त्यसपछि नगरपालिकाले मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्न म्याद दिएको थियो । थपिएको अवधिमा पनि एक लेन मात्रै कालोपत्रे भएको थियो । अहिले रातारात गरेको कालोपत्रे एक दिनसमेत नटिकेको स्थानीय बासिन्दाको भनाइ छ । 

वडाध्यक्ष यज्ञबहादुर खड्काले पनि ठेकेदारले गुणस्तरहीन काम गरेको बताए । आफूहरूले नगर्न भन्दा पनि ठेकेदारले जबर्जस्ती रातारात कालोपत्रे गरेको उनले बताए । ठेकेदारले हतार–हतार झारा टार्ने हिसाबले काम पूरा गरेको देखाएर भुक्तानी लिने प्रपञ्च गरेको उनको भनाइ छ । ‘हैन भने रातारात किन काम गर्नुप¥यो ?’ वडाध्यक्ष खड्काले प्रश्न गरे ।

स्थानीय बासिन्दाले कालोपत्रे गुणस्तरहीन भएको भन्दै विरोध गर्दा ठेकेदारले बालुवाले माथिबाट छोपेको उनले बताए । ‘हामीले रोक्दारोक्दै बालुवा ल्याएर छोपिहाल्यो । रोडको हालत यस्तो छ, बनाउनु त कता–कता बालुवाले पो माथिबाट पुरिरहेको छ,’ वडाध्यक्ष खड्काले भने । नगरका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन कालोपत्रे भएको स्थानीय बासिन्दाको आरोप छ । ‘हामीले प्रहरी लगाएर पटक–पटक रोक्दासमेत ठेकेदारले बलजफ्ती गुणस्तरहीन कालोपत्रे गर्‍यो । फलस्वरूप अहिले कालोपत्रे उप्किसकेको छ,’ उनले भने । 

यो सडक कालोपत्रेका लागि नगरपालिकाले ६५ लाखमा सर्लाहीकै एमएसके लाइट कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । जसमध्ये निर्माण कम्पनीले २८ लाख रुपैयाँ भुक्तानी लगिसकेको बरहथवा नगरपालिकाका योजना शाखा प्रमुख कमलप्रसाद पौडेलले बताए । उनले पनि गुणस्तरहीन कालोपत्रे भएको गुनासो आएको बताए । 

निर्माण कम्पनीका प्रमुख सुरेश कार्कीले कालोपत्रे गुणस्तरहीन नभइ चिसोको कारण उप्किएकोे दाबी गरे । नगरपालिकाकोे जसरी पनि समयमा काम सम्पन्न गर्नुपर्छ भन्ने दबाबका कारण समस्या भएको उनको भनाइ छ । ‘यो चिसोमा कालोपत्रे गर्न नहुने हो नि । के गर्नु ? नगरपालिकालाई चिल्लो पिच अहिले चाहिएको छ, अहिले गर, भोलि गर भनेर दबाब दियो,’ कार्कीले भने, ‘प्राविधिक कारण कालोपत्रे उप्किएको हो ।’

पटक–पटक ताकेता गर्दा पनि समय घर्काएर गुणस्तरहीन काम गरेको पाइएको उपमेयर सीतादेवी माझीले बताइन् । ‘स्थानीयको व्यापक जनगुनासो आएपछि प्राविधिकसहित अनुगमनमा गएका थियौँ,’ उपमेयर माझीले भनिन्, ‘स्थानीय बासिन्दाले काम कमसल छ, रोक्नू भन्दाभन्दै जबर्जस्ती गरेको पाइयो ।’ उपमेयर माझीले दोहोर्‍याएर भए पनि काम गर्न लगाइने बताइन् । काम गुणस्तरीय नहुँदासम्म बाँकी भुक्तानी नगरिने उनको भनाइ छ ।