मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १४ मंगलबार
  • Tuesday, 15 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७७ पौष १४ मंगलबार १९:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावल भन्छन्– ओलीले संविधान कुल्चिए, लोकतान्त्रिक गणतन्त्र धरापमा पारे

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ पौष १४ मंगलबार १९:२१:oo

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीले संविधान कुल्चिएको बताएका छन् । नेकपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै रावलले प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान कुल्चिएको बताएका हुन् । 

नेकपा सुदूरपश्चिम इन्चार्जसमेत रहेका रावलले प्रधानमन्त्रीको कदम राष्ट्रघाती, जनविरोधी, संविधानको मर्म र भावनाविपरीत, पार्टी एकताविपरीत भएको बताए । प्रधानमन्त्री ओलीको कदमले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने भएकाले रक्षाका लागि गाउँगाउँबाट प्रतिगमनको विरोध गर्न उनले आह्वान गरे । ‘संविधानको धारा ७६ र ८५ मा प्रधानमन्त्रीलाई जननिर्वाचित संसद् विघटन गर्ने कुन अधिकार छ ?’ रावलले प्रश्न गर्दै भने, ‘सबै सम्भावना हुँदाहँुदै ओलीले संविधानको अवसान गर्नुभयो ।’ 

प्रधानमन्त्री ओलीले गुटको स्वार्थबाट प्रेरित भएर गैरसंवैधानिक कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको रावलको भनाइ छ । ‘पुस ५ गते नेपाली जनताको अधिकारमाथि कुल्चिएको दिन हो,’ रावलले भने, ‘संविधानको रक्षा गर्ने नेकपाको संकल्प एकता थियो, त्यो टुट्यो ।’ 

प्रधानमन्त्री ओलीको गलत कामको विरोध मात्रै गरेको बताउँदै रावलले प्रधानमन्त्रीले भनेको पार्टीबाट काम गर्न नदिएको अभिव्यक्तिमा नेता रावलले भने, ‘गैरसंवैधानिक र राष्ट्रघाती एमसिसी, कूटनीतिक मर्यादाविपरीतका काम रोकेकै हौँ, तर समृद्धि र विकासका काममा कुनै असहयोग गरेका छैनौँ ।’ 

सत्ता र स्वार्थको गुट–उपगुटमा डुबेर प्रधानमन्त्रीले संसद् विघटन गरेको बताउँदै रावलले सर्वोच्चले फैसला गर्ने, नभए लोकतन्त्र रक्षाका लागि जनआन्दोलनको विकल्प नभएको बताए । 
रावलले प्रधानमन्त्रीमाथि नवउदारवादी अवतार भएको आरोपसमेत लगाए । नेकपाका बहुमत सदस्य प्रचण्ड–नेपाल पक्षमा रहेको बताउँदै रावलले निर्वाचन आयोगले न्याय गर्ने विश्वास व्यक्त गरे ।