१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बहुमत कायम राख्ने कसरतमा प्रचण्ड-नेपाल समूह 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३२:oo

नेकपाका प्रदेश सभा सदस्यहरूकाे समूह फेरबदल गर्ने क्रम बढेसँगै सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहलाई बहुमत जोगाउन हम्मे परेको छ । ओली समूहमा खुल्ने सांसदको संख्या बढ्न थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार  अल्पमतमा पर्ने विश्लेषण गर्न थालिएको छ । 

पार्टी एक हुँदा ओली पक्षमा तीनजना मात्र थिए । अहिले यो समूहमा ६ जना खुलिसकेका छन् । सात सदस्यीय मन्त्रिमण्डलमा दुई मन्त्री ओली समूहमा लागेका छन् । प्रचण्ड–नेपाल समूहको बहुमत जोगाउने र ओली समूहको सरकार अल्पमतमा पार्ने कसरतले सांसद तानातान भइरहेको छ । 

केही सांसद अहिले कुनै समूहमा खुलेका छैनन् । प्रचण्ड–नेपाल समूहका असन्तुष्टलाई ओली समूहका नेताहरूले आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।

आफ्नो पक्षमा संख्या बढ्दै गएपछि ओली समूह उत्साहित बनेको छ । ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपाका ३९ जना प्रदेश सभा सदस्य छन् । ओली समूहमा १२ जना पुगे सरकार अल्पमतमा पर्नेछ । 

सरकार गठनका लागि २७ जना आवश्यक पर्छ । प्रदेश सभामा आफ्नो पक्षमा १४ जना पुग्ने ओली समूहका एक केन्द्रीय सदस्यले दाबी गरे । प्रदेशमा सरकार फेर्ने गरी समीकरण बनिरहेको ती केन्द्रीय सदस्यको दाबी छ ।

सुदूरपश्चिमका प्रभावशाली नेता लेखराज भट्ट ओली समूहमा रहेकाले उनीनिकट केही प्रदेश सभा सदस्य ओली समूहमा जाने तयारी रहेको बताइएको छ । ओली समूहबाट केन्द्रीय सदस्य बनेका प्रदेश सभा सदस्य रतन थापाले प्रदेशमा प्रचण्ड–नेपाल समूहको बहुमत तोडिने दाबी गरे । 

‘प्रदेश सरकार अल्पमतमा पर्ने गरी हाम्रो संख्या पुग्ने निश्चित भएको छ । केही दिनमै धेरै साथीहरू खुलेर हामीतिर लाग्नुहुन्छ,’ थापाले भने, ‘सरकारको बहुमत तोडिन्छ । सरकार गठन भने कांग्रेससँग केन्द्रमा हुने समीकरणमा भर पर्छ ।’ का‌ंग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन गर्न ओली समूहमा १३ जना पुग्नुपर्नेछ ।

प्रदेशमा सुविधाजनक बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष बहुमत कायम राख्ने कसरतमा छ । त्यसका लागि असन्तुष्टलाई विभिन्न जिम्मेवारी दिएर मनाउने प्रयास थालिएको छ । 

असन्तुष्टको व्यवस्थापनका लागि मन्त्रिपरिषदमा ओली पक्षका मन्त्री हटाएर नयाँ नियुक्त गर्ने, मन्त्रालय थप गर्ने र राज्यमन्त्री थप्ने तयारी रहेको प्रचण्ड–नेपाल समूहको छ । यस्तै प्रदेश सभाका संसदीय समिति संख्या बढाउने र सभापतिको जिम्मेवारी हेरफेर गरिने उक्त समूहका एक सांसदले बताए । 

सात सदस्यीय प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा ओली समूहका हुन् । लेखराज भट्टनिकट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पनि ओली समूहतिरै लागेका छन् । विधायन समितिका नेपालु चौधरी पनि ओली समूहका हुन् । ओली समूहमा लागेकालाई हटाएर नयाँलाई नियुक्त गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

प्रचण्ड–नेपाल पक्षका नेताहरूले भने आफ्नो स्पष्ट बहुमत रहेकोले सरकार फेरबदल हल्ला मात्र भएको दाबी गरेका छन् । यो समूहमा रहेका नेकपा संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभामा आफ्नो पक्षको सुविधाजनक बहुमत रहेकाले सरकार फेरबदल नहुने दाबी गरे ।

‘कसैले सरकार फेर्छु भन्दैमा सम्भव छैन,’ नेकपा केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘हामीसँग सुविधाजनक बहुमत छ भन्ने प्रस्टै छ ।’ सरकार भने विस्तार हुन सक्ने उनले बताए । अल्पमतमा परेको अवस्थामा आवश्यकताअनुसार कांग्रेस र जनता समाजवादीसँग मिलेर सरकार बनाउने प्रचण्ड–नेपाल समूहको रणनीति छ ।
 
मुख्यमन्त्री भट्टले आइतबार मात्र कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावललाई भेटेर आवश्यक परे सहयोग मागिने बताएका थिए । प्रदेश सभामा कांग्रेसका १२ र जसपाका दुई सांसद छन् ।

प्रचण्ड–नेपाल समूहभित्रै सरकार फेर्नुपर्ने आवाज

बहुमत भए पनि प्रचण्ड–नेपाल पक्षभित्रै सरकारको नेतृत्व फेर्नुपर्ने आवाज भने चर्को छ । पूर्वमाओवादीको भागबन्डाबाट मुख्यमन्त्री बनेका भट्टको कार्यशैलीप्रति उनकै समूहमा रहेका पूर्वमाओवादीकै प्रदेश सभा सदस्य असन्तुष्ट छन् । पूर्वएमाले समूहका केही प्रदेश सभा सदस्य नेतृत्व फेर्नुपर्ने लबिङमा छन् । पार्टी दुई समूहमा विभाजन भएको अवस्था रहेकाले एउटै समूहभित्रबाट तत्काल मुख्यमन्त्री फेरबदल भने नहुन सक्छ ।  

प्रचण्ड–नेपाल समूहका नेता भीम रावल सोमबार धनगढी पुगेका छन् । सरकारको बहुमत कायम राख्नका लागि असन्तुष्टको व्यवस्थापन गर्न उनले छलफल सुरु गरेका छन् । 
 
सत्ता समीकरणमा जोडघटाउ तीव्र बनेका वेला प्रमुख प्रतिपक्षी कांग्रेस पर्ख र हेरको अवस्थामा छ । कांग्रेस नेताहरू संघमा हुने पार्टी समीकरण र केन्द्रको निर्देशन कुरेर बसेका छन् । नेकपा प्रदेश सभा सदस्यहरू को कुन पक्षमा भन्ने खुलिसकेपछि कुन पक्षसँग समीकरण गर्ने भन्ने तय हुने कांग्रेस संसदीय दलका नेता रावलले बताए । उनले भने, ‘पहिले त उहाँहरू को कता जाने भन्ने ‘क्लियर’ हुनुपर्‍यो । त्यसपछि सरकार गठनको विषयमा छलफल हुन्छ ।’   

यही सरकारको बहुमत कायम रहे पनि नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने कांग्रेसको पनि मत छ । ऐन, कानुन, विधेयकहरू बनाउने, विकास निर्माण र समृद्धिको पक्षमा सरकारले कामै गर्न नसकेको कांग्रेसको आरोप छ । ‘काम गर्न सकेन भनेर सत्तापक्षकै मान्छे लागेका छन् । सरकारले काम गर्न सकेन, नेतृत्व परिवर्तन गरिनुपर्छ भनेर हामीले पनि भन्दै आएको विषय हो,’ नेता रावलले भने ।
 

ad
ad