संसारलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल चीनको वुहान सहरलाई मानिँदै आएको छ । तर, चीनले भने यो भनाइलाई अस्वीकार गर्दै आएको छ । बरु विश्वलाई कोरोना भाइरस (कोभिड–१९) बारे चीनले पहिलोपटक जानकारी दिएको चिनियाँ वैज्ञानिकहरूको दावी छ ।
तर, चीनको यो दाबीलाई अमेरिका तथा युरोपले मानिरहेको छैन । उनीहरू कोरोना भाइरसको उद्गमस्थल वुहान नै भएको आरोप लगाइरहेका छन् । चीन र बाँकी विश्वबीच चलिरहेको यो आरोप–प्रत्यारोप निरुपण गर्न आगामी महिना विश्व स्वास्थ्य संगठनको टोली वुहान जाने भएको छ । यो टोलीलाई चीनका वैज्ञानिकले पनि स्वागत गर्ने जनाएका छन् ।
कोरोना भाइरस (कोभिड– १९) का कारण विश्वमा हालसम्म सात करोड ९१ लाख ७८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यो भाइरसबाट हालसम्म १७ लाख ४० हजारभन्दा बढीको निधन भएको छ । भाइरसबाट अमेरिकामा सबैभन्दा धेरै क्षति भएको छ । अमेरिकामा एक करोड ८९ लाख व्यक्ति संक्रमित र तीन लाख ३४ हजारभन्दा बढीको निधन भइसकेको छ । त्यसपछि क्षति व्यहोर्नेमा भारत दोस्रो स्थानमा छ । भारतमा एक करोड एक लाख २३ हजार संक्रमित भइसकेका छन् । यहाँ एक लाख ४६ हजारभन्दा बढीको निधन भइसकेको छ ।
विश्वमा कोरोना भाइरस फैलिएको एक वर्ष पनि नाघिसकेको छ । यस अवधिमा चीन र अमेरिका, युरोपबीच भाइरस वुहानकै एक ल्याबबाट लिक भएर फैलिए आरोप–प्रत्यारोप चलिरहेको छ । यस आरोपबाट मुक्त हुन चीनका वैज्ञानिकहरू अधिकार प्राप्त संस्थालाई जाँच गर्न अनुमति दिन तयार भएका छन् । प्रोफेसर सी जेंग्लीले विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को अनुसन्धान टोलीलाई ल्याबमा स्वागत गर्न आतुर रहेको जनाएकी छिन् । डब्ल्युएचओको एक टोलीले अर्को महिना वुहानको भ्रमण गर्ने भएको छ । ‘हामी डब्ल्युएचओको टोलीलाई ल्याबमा स्वागत र सबै किसिमको सहयोग गर्न तयार छौँ,’ प्रोफेसर जेंग्लीले बिबिसीलाई भनिन् ।
डब्ल्युएचओसँग दुईपटक वार्ता
डब्ल्युएचओको दबाबपछि चीनले वुहानमा अनुसन्धान गर्न अनुमति दिन लागेको हो । यस सम्बन्धमा डब्ल्युएचओ र प्रोफेसर जिंग्लीबीच दुईपटक वार्ता भएको छ । ल्याबका प्रोफेसर जिंग्लीले डब्ल्युएचओसँगको सकारात्मक वार्तापछि अनुसन्धान टोली वुहान आउन लागेको बताइन् । उनी भन्छिन्, ‘मैले उहाँहरूलाई भनेकी थिएँ, यदि वुहानमा अनुसन्धान गर्न आउन चाहनुहुन्छ भने हामी स्वागत गर्न तयार छौँ, अनुसन्धानमा केही पनि समस्या आउने छैन ।’ ल्याबका अन्य अधिकारीले पनि डब्ल्युएचओका विशेषज्ञहरूलाई विश्वासिलो तयारीका साथ सहयोग गर्ने उनले बताएका छन् ।
टोलीसँग हरेकक्षण सँगै रहने उनीहरूको भनाइ छ । प्रोफेसर जिंग्ली भन्छिन्, ‘व्यक्तिगत रूपमै म पनि डब्ल्युएचओको टोलीसँगै रहनेछु, सबै पारदर्शी रूपमा हुनेछ, सौहार्दपूर्ण वार्ता र छलफलबीचमै सबै काम हुने विश्वास छ ।’ वुहान इन्स्टिच्युट अफ बायोलोजीमा ‘ल्याब लिक प्रणाली’अनुसार नै छानबिन हुने उनको भनाइ छ ।
जनावरदेखि मानिससम्म परीक्षण
चीनले सुरुमा कोभिड– १९ भाइरस जनावरबाट आएको जनाएको थियो । पछि केही वैज्ञानिकहरूले कोभिड– १९ लाई सार्स कोभ– २ भाइरस नाम दिए । तर, प्रोफेसर जेंग्लीले विश्वभर कोभिड भाइरस फैलिनु रहस्यमयी भएको बताइन् । डब्ल्युएचओको टोलीले वुहानको तरकारी बजार, मासु पसल तथा जंगली जनावरको समेत परीक्षण तथा अनुसन्धान गर्ने बिबिसीले जनाएको छ । ‘टोली वुहानमा पुगेपछि उहाँहरूको पहिलो ध्यान बजारमै हुनेछ, जहाँ सयौँ किसिमका जनावरका मासु बेचबिखन हुने गर्छ, यहाँबाट कोरोना भाइरस फैलिएको भन्ने गरिन्छ,’ प्रोफेसर जिंग्लीले बताइन्, ‘बजारमा भाइरस कसरी आयो, यसले कहाँसम्म फैलायो भन्ने पनि परीक्षण हुनेछ ।’
डब्ल्युएचओले आफ्नो टोलीमा ब्रिटिस बायोलोजिस्ट डा. पिटर डास्काकको नेतृत्वमा १० जना सदस्य पठाउने तयारी गरेको छ । डा. पिटरसँग सरुवा रोगहरूसम्बन्धी दक्षता छ । उनका कैयौँ अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय सेमिनार प्रस्तुत भएका छन् । वुहानका वैज्ञानिक जिंग्लीले चर्चित बायोलोजिस्ट पिटरसँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताएकी छिन् । ‘म पनि चाहन्छु भाइरस कसरी लिक भएको हो र यसले कसरी फैलायो भन्ने,’ उनी भन्छिन्, ‘हुन त अहिलेसम्म मैले यहाँ त्यस्तो कुनै किसिमको ठोस प्रमाण भेटाउन सकिएको छैन ।’
बेइजिङमा भाइरस नियन्त्रण
सार्स कोभ– २ भाइरस निर्माण गर्नेमध्ये जिंग्ली पनि एक भएको आरोप छ । जनवरी महिनामा उनले यस सम्बन्धमा अनुसन्धान गरेकी थिइन् । सन् २००४ मा पनि बेइजिङको एक ल्याबबाट भाइरस लिक भएको थियो । त्यसवेला यसले नराम्रो रूप लिएको थिएन । बेइजिङमा तत्कालै भाइरस चुहावट नियन्त्रणमा आएको थियो । भाइरस मूलतः जेनेटिक रूपमा परिवर्तन भइरहन्छ । यो कुन समयमा मानिसको शरीरभित्र प्रवेश गर्छ थाहा नै हुँदैन । डरलाग्दो भाइरस मानिसको शरीरमा प्रवेश गर्दा यसले विकराल रूप लिन्छ । त्यसवेला यसको उपचार भ्याक्सिनबाहेक अन्य विकल्प हुँदैन । अहिले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न कम्पनीले भ्याक्सिन प्रयोग तथा परीक्षण गरिरहेका छन् ।
बिबिसी टोलीलाई गाह्रो
यसअघि बिबिसीको एक टोली चीनको दक्षिण–पश्चिम प्रान्त युनानमा भाइरसबारे खोज अनुसन्धानका लागि पुगेको थियो । तर, बिबिसीको टोलीलाई निर्धारित स्थानसम्म पुग्न निकै कठिन भएको थियो । बिबिसीका प्रतिनिधिहरूले भनेका छन्, ‘वुहानमा डब्ल्युएचओको टोलीले सहजै काम गर्न सक्छन् जस्तो लाग्दैन । हामीलाई त्यसवेला सामान्य सेतो पोसाक लगाएका पुलिसहरूले निरन्तर पछ्याएका थिए । बाटोको बीचबीचमा विनाबर्दीका प्रहरीले पनि केरकार गरेका थिए ।’ प्रहरी मात्र नभएर स्थानीयले समेत बाटोमा ठूला गाडी तेस्र्याएर अवरोध गरेको बिबिसीको समाचारमा उल्लेख छ ।