१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कुलपति र सहकुलपतिविना त्रिविको ४६औँ दीक्षान्त समारोह : ५६ हजार सात सय १३ विद्यार्थी दीक्षित, ८३ सहभागी

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– प्रतिनिधिसभा विघटन असंवैधानिक, सर्वोच्चको ध्यान पुग्नैपर्छ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५१:oo

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्रीको सहभागिताविना ४६औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । राजनीतिक प्रतिकूलताका कारण प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली सोमबारको दीक्षान्त समारोहमा गएनन् । त्यसैगरीे शिक्षामन्त्रीले राजीनामा दिएका कारण सहकुलपतिसमेत दीक्षान्त समारोहमा उपस्थित भएनन् । 

कुलपति कार्यक्रममा नजाने भएपछि केपी शर्मा ओलीले उपकुलपतिलाई दीक्षान्त समारोहको अध्यक्षताको अधिकार दिएका थिए । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । 

ओली समारोहमा उपस्थित नभए पनि भिडियोमार्फत सम्बोधन गरेका थिए । दीक्षान्त समारोहमा भिडियो क्लिपमार्फत सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीलाई राज्यको कल्याणमा संलग्न हुन आग्रह गरे । उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्दै प्राविधिक दक्ष जनशक्ति निर्माण गरी मुलुकको रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे । 

५६ हजार सात सय १३ विद्यार्थी दीक्षित, ८३ सहभागी
त्रिविको ४६औँ दीक्षान्त समारोहबाट ५६ हजार सात सय १३ विद्यार्थी दीक्षित भएका छन् । तर, समारोहमा भने त्रिविले ८३ विद्यार्थीलाई मात्र निम्ता गरेको थियो । कोभिड– १९ का कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थी मात्रै उपस्थित गराएको थियो । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले गोल्डमेडलिस्ट, एमफिल र पिएचडी गरी ८३ विद्यार्थीलाई सहभागी गराएर दीक्षान्त समारोह गरेको बताए । दीक्षान्त समारोहमा सहभागी हुन सात हजार ८७ विद्यार्थीले आवेदन दिएका थिए । दीक्षान्त समारोहमा १ असार ०७६ देखि ३१ जेठ ०७७ सम्म ट्रान्सक्रिप्ट लिई ग्रेसलिस्टमा समावेश भएका विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तहका गरी ५६ हजार सात सय १३ विद्यार्थीसमेत दीक्षित भएका छन् । त्रिविले दीक्षित विद्यार्थीलाई मंगलबारदेखि प्रमाणपत्र वितरण गर्दै छ । 

प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षाको अवसरवाट कोही वञ्चित हुन नपरोस् भन्दै शिक्षालाई केही व्यक्ति वा वर्गमा सीमित गर्न नहुने बताए । शिक्षामा अतिव्यापारीकरण र निजीकरण बढेको, दलीय प्रभाव बढेको र सही नीति कार्यान्वयन गर्न राजनीतिक सोच र प्रतिबद्धताको अभाव भएको उनको गुनासो थियो । देशको विकासमा महत्वपूर्ण योगदान गर्ने र विश्वबजारमा प्रतिस्पर्धी हुने शिक्षा आवश्यक रहेको उनले बताए । 

त्रिविका उपकुलपति तथा दीक्षान्त समारोहका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोभिड– १९ का कारण दीक्षान्त समारोहमा सबैलाई उपस्थित गराउन नसक्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताए । सीमित पूर्वाधार र स्रोत–साधनबाट उच्चशिक्षा दिने महत्वपूर्ण चुनौतीपूर्ण अभिभारा बोकेको बताए । 

उनले त्रिविबाट उत्पादित जनशक्तिले स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत ज्ञान, सीप र दक्षता प्रदर्शन गरी विश्वविद्यालयलाई गौरवान्वित बनाएको बताए । संसारका उत्कृष्ट विश्वविद्यालयसँगको प्रतिस्पर्धामा त्रिविले महत्वपूर्ण उपलब्धि हासिल गरेको, विश्वविद्यालयका सम्पूर्ण निकायलाई इन्टरनेटको सञ्जालमा जोड्नेलगायतका महत्वपूर्ण उपलब्धि भएको बताएका थिए । 

त्रिविले अनुसन्धानमा बजेट वृद्धि गरेको, सूचना प्रविधिलाई आत्मसात् गर्दै पूर्वधार निर्माणलाई प्राथमिकतामा राखिएको, केन्द्रीय पुस्तकालयमा रहेका पाठ्यसामग्रीलाई विद्युतीकरण गरी शिक्षक–विद्यार्थीसमक्ष पु¥याएको बताए । 

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– प्रतिनिधिसभा विघटन असंवैधानिक, सर्वोच्चको ध्यान पुग्नैपर्छ
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले ध्यान दिनुपर्ने बताएका छन् । त्रिविको दीक्षान्त समारोहका प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. यादवले प्रधानमन्त्रीबाट चालिएको कदम संवैधानिक, राजनीतिक र नैतिक रूपले नमिलेको बताएका हुन् । 

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाबाट सबै छिनोफानो गरेर अगाडि बढ्नुपर्ने राष्ट्रको आवश्यकता हो । संवैधानिक बाटोबाट सबै समस्या समाधान गर्नुपर्दथ्यो, संविधानविपरीत उहाँ (प्रधानमन्त्री)ले कदम चाल्नुभएको छ । यसले राष्ट्रपतिको संस्थाप्रति पनि आज देशवासीले कुरा उठाएको छ । देशको अभिभावक भएको संस्थालाई जसले प्रतिनिधित्व गर्दछ त्यसको गरिमा, मर्यादा, संविधानको मर्म र भावनाअनुसार कहीँ मिलेको छैन । त्यसैले गर्दा उहाँ (राष्ट्रपति) पनि आफ्नो दायित्वमा चुक्नुभएको छ । लोकतन्त्र र गणतन्त्रको बाटोमा आघात भएको छ । प्रधानमन्त्रीको कदमले राष्ट्रपतिको संस्थालाई चोट पु¥याएको छ । मलाई विश्वास छ, सर्वोच्च अदालतको ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ । यसमा ध्यान पु¥याउन मेरो विनम्र अनुरोध पनि छ । आज नेपालका चेतनशील जनता मर्माहत भएका छन् । आज मर्माहत भएर मैले यो कुरा भनिरहेको छु ।’
 

ad
ad