![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/dalit2020-05-24-10-19-37.jpeg)
ससुराको मृत्यु संस्कारबाट वञ्चित गराउँदै जातीय विभेद गर्ने दुईजना आरोपीहलाई मोरङ जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी मागेको छ ।
१३ कार्तिकमा निधन भएका ७० वर्षीय ससुरा भीमराज गहतराज (विश्वकर्मा) को काजकिरियाबाट बुहारी कोपिला बर्देवालाई सानो जातको भन्दै वञ्चित गराएको आरोपमा मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारेका ३५ वर्षीय दिवस गहतराज र उनकी जेठी श्रीमती ३३ वर्षीय तारा गहतराजलाई अदालतले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको हो ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शन लामिछानेको इजलासले जातीय विभेद र छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार प्रहरीले पक्राउ गरेर हाजिर गराएका दिवस र उनकी श्रीमती तारालाई जनही एक लाख रुपैयाँ धरौटी माग गरेको श्रेस्तेदार राजकुमार दाहालले बताए ।
चार फरार आरोपीलाई पक्राउ पुर्जी
उनका अनुसार चारजना फरार आरोपीहरू कोपिलाका सासू ५५ वर्षीय सुनीता गहतराज, जेठी श्रीमती ताराकी वहिनी २५ वर्षीया शारदा घतानी, जेठाजुहरू ४० वर्षीय दीपक र ३८ वर्षीय शम्भु गहतराजविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
ससुराको अन्तेष्टि र काजकिरिया सगोलमा गर्न नपाएपछि दिवस गहतराजकी कान्छी श्रीमती उर्लाबारी नगरपालिका ४ की ३० वर्षीया कोपिला बर्देवाले परिवारका ६ जना सदस्यहरूविरुद्ध जातीय छुवाछुत कसुरमा सजाय माग गर्दै २३ कार्तिकमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी थिइन् ।
किटानी जाहेरी दर्ता भएपछि कोपिलाका श्रीमान् दिवस र जेठी श्रीमती तारा पक्राउ परे पनि अन्य आरोपीहरू भने फरार छन् ।
फरारमध्ये ४० वर्षीय दीपक गहतराज कोपिलाका सबैभन्दा ठूला जेठाजु र नेपाल दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् ।
विभेदमा परेकी कोपिला दलित संघ उर्लाबारीकी कोषाध्यक्ष हुन् ।
कोपीलाको दश वर्षअघि स्वर्गीय भीमलालका कान्छा छोरा दिवस गहतराजसँग विवाह गरेकी थिइन् । उनीहरूका ८ वर्षकी एक छोरीको जन्मदर्तासमेत भइसकेको छ ।