१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भोजराज भण्डारी
२o८१ बैशाख २० बिहीबार १४:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिन्डिकेटविरुद्ध सारथि बनेका यातायात कम्पनी बन्द हुने अवस्थामा, फेरि यातायात सिन्डिकेटको चंगुलमा फर्कने अवस्था

Read Time : > 2 मिनेट
भोजराज भण्डारी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४४:oo

कुनै वेला नेपालको यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउनका लागि प्रमुख भूमिका खेलेका मयुर यातयात र मेट्रो सिटी यातायात निरन्तर घाटामा गएर लगभग बन्द हुनेसम्मको अवस्थामा पुगेका छन् । 

त्यतिवेला काठमाडाैं उपत्यकाभित्रका विभिन्न रुटमा यातायात व्यवसायीले खडा गरेको सिन्डिकेट खारेज गर्नका लागि अहिलेका गोकर्णेश्वर, मयुर महानगर, महासागरलगायत बसहरूको भूमिका प्रमुख थियो ।

विशेषगरी कम्पनीको र लगानीकर्ताको लगानी नै नउठ्ने भएपछि अहिले मेट्रोसिटी यातायात एउटा पनि चल्न सकेका छैनन् । मयुर यातायात भने केही बस बेचेर अहिले केही सीमित बस मात्र चक्रपथ हुँदै बनेपासम्मको रुटमा सञ्चालन गर्दैै आइरहेका छन् । 

मेट्रो सिटी यातायातका अध्यक्ष तथा सञ्चालक हेमेन्द्र शेरचनले बस सेवा घाटामा गएको बताए । 

पछिल्लो समय कोरोना भाइरसको कारणले गर्दा उपत्यकामा यात्रुको चाप कम रहेको र ती बसहरूले तेल बढी खपत गर्ने भएकाले अहिलेको अवस्थामा चलाउन नसकेर बाध्य भएर सबै बस थन्क्याउन परेको शेरचनले बताए । 

‘अहिले काठमाडौं उपत्यकामा ठूला बस सञ्चालनमा आउनु भनेको चालक र सहचालकको खर्चसमेत गोजीको पैसाबाट तिर्न अवस्था आयो । घाटा खाएर चलाउन सकिएन लगभग बन्द हुने अवस्थामा छौँ,’ शेरचनले भने ।

उपभोक्ताको पक्षमा उभिएका कम्पनी कसरी पुगे बन्द हुने अवस्थामा ?
काठमाडौंमा भाडाका सवारीसाधन थप्न चाहनेहरूका लागि केही सहज भए पनि यातायात क्षेत्रमा व्यवसायीद्वारा खडा गरिएका समितिमा दर्ता हुन मोटो रकम बुझाएपछि मात्र उनीहरूले सम्बन्धित रुटमा यातायात चलाउन दिने गर्दथे । 

उपत्यकाबाहिर त्यो अवस्था थिएन । यातायात क्षेत्रमा संघ समितिको सिन्डिकेट व्याप्त भएकाले समिति र संघसंस्थालाई लाखौँ रुपैयाँ बुझाएपछि मात्रै भाडाका सवारीसाधन सञ्चालन गर्न पाउने सिन्डिकेट खडा गरिएको थियो त्यसवेला । 

सरकारले उपत्यकाबाहिर पहिलोपटक मयुर यातायातलाई रुट इजाजत दिएर सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज  गरेको संकेत गरेको थियो । मयुर यातायात यातायात व्यवसायीको सिन्डिकेट तोडेर अघि बढ्न उत्रिएको कम्पनी बनेको थियो । 

मयुरले इजाजत पाएको केही दिनपछि ०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६३ संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गऱ्याे । कम्पनीमा दर्ता भएर विभागबाट सेवा पञ्जीकृत गराएपछि मात्र सहजै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न सकिने भएको थियो । 

त्यसका विरुद्ध यातायात व्यवसायीहरूले त्यो व्यवस्था उल्टाउन ठूलो दबाब सिर्जना गरेका थिए ।

व्यवसायीलाई नसोधी निर्देशिका ल्याएको भन्दै आफ्ना सिन्डिकेट जोगाउन यातायात व्यसायीले देशैभर चक्काजाम गर्ने धम्की यातायात व्यवसायीको संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको थियो । महासंघले निर्णय नै गरेर चक्काजाम गर्ने उद्घोष गरेको थियो । 

तर, यातायात व्यवस्था विभागले अडान लिएर सिन्डिकेट खारेजीलाई कार्यान्वयन गर्ने भन्दै प्रक्रिया पूरा गर्ने कम्पनीलाई एकै दिनमा रुट इजाजत दिन थाल्यो ।

संघ समितिका व्यवसायीले घर ग्यारेजमै गाडी थन्क्याएका वेला मयुर यातायातले आफूसँग भएका सबै गाडी तीन सिफ्ट गरेरै भए पनि बिहान ४ बजेदेखि राति अबेर १०–११ बजेसम्म निरन्तर सेवा दिएको थियाे । 

मयुरसँगै सिन्डिकेट खारेजीको अभियान चलेका वेला अन्य साझा यातायात, सिटी यातायात, मेट्रो यातायात, महानगर यातायात, गोकर्णेश्वर यातायात, बुढानीलकण्ठ यातायातलगायतका कम्पनीले पनि उत्तिकै योगदान दिए ।

यी यातायात कम्पनीहरूको साथमा सरकारको दह्रो अडानपछि त्यसवेला औपचारिक रूपमा यातायात सिन्डिकेट खारेजी भएको भनियो । 

साना बस एकतर्फी सिन्डिकेटको मारमा परेका वेला यात्रुका लागि मेट्रो यातायात र मयुर यातायातको सेवा निकै लोकप्रिय बन्न पुगेको थियो । 

तर, कागजमा मात्र सीमित बन्न पुगेको सिन्डिकेट हटेको प्रभाव लामो समयसम्म भने टिक्न सकेन । मेट्रोसिटी यातायातले पहिलो रुटको रूपमा वनस्थली चक्रपथ हुँदै बालुटार–नक्सालको रुटमा गाडी चलाएको भए पनि नेपाल यातायातको चौतर्फी विरोध तथा पेलानमा पार्न थालेपछि बाध्य भएर रुट नै परिवर्तन गुर्न परेको शेरचन बताउँछन् । यस्तो अवस्थालाई सरकारी निकायले कुनै पनि ध्यान दिन सकेनन् वा चासो नै दिएनन् ।  

‘माइक्रो व्यवसायी, नेपाल यातायातले चौतर्फी घेर्थे यात्रुलाई टिपिहाल्थे, अर्को समस्या घुम्ती धेरै भएका कारण ठूलो सवारीसाधन घुमाउनका समस्या कारण पनि रुट फेर्न बाध्य भयौँ,’ शेरचनले भने । 

रिङरोड सञ्चालन थालेपछि घाटामा व्यहोर्न थालेको काेरोना कारण झनै ठप्प भएको शेरचन बताउँछन् । यता  मयुर यातायात पनि सुरुवातदेखि नै घाटा व्यहोर्दै आइरहेको मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले बताए । 

उनले कमजोर व्यवस्थापन र  कोरोना भाइरसको कारण यात्रुको चाप कम भएपछि घाटाको मात्रा बढ्न पुगेका कारण यातायात सेवा सञ्चालन नै गर्न नसक्ने अवस्थामा आएको उनले बताए ।

ad
ad