१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २० शनिबार
  • Monday, 30 June, 2025
एजेन्सी
२o७७ मङ्सिर २० शनिबार १९:४१:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोभिड निको हुने समय बढ्दै, उपचारको नयाँ मापदण्ड निर्माण गर्न सुझाव

Read Time : > 1 मिनेट
२o७७ मङ्सिर २० शनिबार १९:४१:oo

कोभिड संक्रमण लामो समयसम्म निको नहुनुलाई चिकित्सकहरूले गम्भीर रूपमा लिएका छन् । पछिल्लो समय लक्षणसहितका बिरामी महिनौसम्म अस्पताल बस्नुपर्ने केस बढेसँगै चिकित्सकहरूले यसलाई गम्भीर रूपमा लिन र आकस्मिक उपचारमा ध्यान दिन आग्रह गरेका छन् । सामान्यतया, कोभिडका बिरामी दुई साताको अन्तरालमा निको भइरहे पनि गम्भीर लक्षण देखिएका बिरामी निको हुन लामो समय लागिरहेको चिकित्सकहरूको भनाइ छ ।

विश्वभर नै कोभिड संक्रमितको संख्या र अवस्था यकिन नभएकाले उपचार प्रक्रियामै नआएका संक्रमितमा दीर्घकालीन असर रहने हुँदा सचेत रहन आवश्यक छ ।

कोभिड संक्रमितमा श्वास–प्रश्वासदेखि मुटुसम्बन्धी समस्या देखिनु र मानसिक स्वास्थ्यमा पनि दीर्घकालीन असर देखिन थालेको अध्ययनले देखाइरहेका छन् । साथै, सुरुमा कुनै पनि लक्षण नदेखिए पनि पछि जटिल स्वास्थ्य समस्या देखिएका संक्रमितमा दीर्घकालीन असर देखिने सम्भावना बढी रहन्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले हालै प्रकाशित गरेको कोभिडका दीर्घकालीन असरमा कमजोरीपन, जोर्नी दुखाई, छाती दुखाइ, ब्रेन फग र डिप्रेसनजस्ता लक्षणहरू थपेको छ । 

कोभिड सिन्ड्रोम
पछिल्लो समय कोभिड संक्रमण निको हुने समय बढ्दै गएपछि यसलाई कोभिड सिन्ड्रोमको संज्ञा दिइएको छ । यसकारण विज्ञहरूले लामो समयसम्म बिरामी परेका संक्रमितलाई सामान्य संक्रमितभन्दा उपचारमा विशेष ध्यान दिन र उपचारको नयाँ मापदण्ड निर्माण गर्न सुझाव दिएका छन् । केही व्यक्तिमा कोभिड संक्रमणले लामो समयसम्म असर पार्ने कारणहरू स्पष्ट भइसकेका छैनन् । कोभिड सिन्ड्रोम कति समयसम्म रहन्छ, शरीरमा कसरी हानी पु¥याउँछ वा कति व्यक्ति पोस्ट कोभिडबाट प्रभावित छन् भन्नेमा कुनै आधिकारिक अध्ययन रिपोर्ट सार्वजनिक भएका छैनन् । 

इबोला भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा महत्वपूर्ण योगदान दिएका, लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका कोभिड सल्लाहकार डा. पिटर पेवोटले कोभिड भाइरसको दीर्घकालीन असर सजिलै छुट्याउन वा निदान गर्न गाह्रो हुने बताएका छन् । डा. पिटर कोरोना संक्रमित भएर गत अप्रिल महिनामा एक साता अस्पताल भर्ना भएका थिए । उनमा कोभिडका सामान्य लक्षण देखिएका थिए । उनमा अक्सिजन स्याचुरेसन एकदमै कम भए पनि श्वास फेर्न गाह्रो हुने वा खोकी लाग्नेजस्ता लक्षण भने देखिएका थिएनन् । तर, केही महिनापश्चात् डा. पिटरले अचानक मुटुको चालमा गडबडी र थकान महसुस गरे । संक्रमण भएको झन्डै चार महिनापछि उनमा कमजोरीपन र अनिद्राको समस्या पनि देखिएको थियो । डा. पिटर भन्छन्, ‘मैलै त्यो समयमा निकै डिप्रेस्ड महसुस गरेको थिएँ । अहिले पनि स्वास्थ्य अवस्था सामान्य हुने प्रतीक्षा गरिरहेको छु ।’ 

कोभिड संक्रमित भएर र निको भएका अधिकांश व्यक्तिले कुनै न कुनै किसिमको शारीरिक वा मानसिक समस्या भोगिरहेको चिकित्सकहरूको अनुभव छ । सामान्यतया, संक्रमित भएर अस्पताल भर्ना भएका र लामो समयपश्चात् निको भएका व्यक्तिमा अनिद्रा र एन्जाइटी थपिएको पाइन्छ । तसर्थ, लामो समयसम्म संक्रमित बनेका व्यक्तिको स्वास्थ्य उपचारका लागि समयमै ध्यान दिन निकै आवश्यक छ । 
–एजेन्सीको सहयोगमा