मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर २० शनिबार १६:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सचिवालय बैठक सकियो, दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लैजाने

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २० शनिबार १६:४६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सचिवालय बैठकले दुवै अध्यक्षका राजनीतिक प्रस्ताव  स्थायी कमिटीमा लैजाने सहमति गरेको छ । 

शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको दुवै प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो । 

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट निवारणका निम्ति अहिले सम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय भएको बताए । 

उनले भने, ‘पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।’

प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बस्नुभन्दा अगाडि अध्यक्षद्धय बीच भएको भेटवार्तामा पनि कुनै समझदारी नभएको बताए । सचिवालय बैठकमा पार्टीको संकट निवारणका लागि छलफल भएपनि आजै निष्कर्षमा पुग्ने सम्भावना नभएकोले स्थायी कमिटीमा पेस गर्ने निर्णय भएको जानकारी दिए । 

स्थायी कमिटीको बैठक चलिरहँदा आवश्यक परेमा अध्यक्षद्धय बीच र सचिवायलको औपचारिक तथा अनौपचारिक बैठक समेत बसेर छलफललाई अगाडि बढाउन सकिने प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने छ ।

सचिवालय बैठकअगाडि दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा करिब १ घन्टा बेग्दै भेटघाट भएको थियो । २५ दिनको संवादपछि अध्यक्षद्वयबीचको भटवार्ताले आजको सचिवालय बैठकको माहोल बनेको एक सचिवालय सदस्यले बताए । गत कात्तिक २५ यता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन। 

मंसिर १७ को बैठक स्थगित भएपछि अनौपचारिक छलफल सघन बनेको छ । अध्यक्षबीचको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय बनेकी छिन् । राष्ट्रपति भण्डारीले शुक्रबारमात्रै ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटेकी थिइन् । 

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले समेत लिखित प्रस्ताव पेस गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

अध्यक्ष ओली समूहले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने र त्यसमा छलफल हुन नसक्ने अडान राख्दै आएको थियाे । यता सचिवालयको बहुमतले भने दुवै प्रस्तावमा छलफल गरेपछि मात्रै कुनै पनि निष्कर्षमा पुग्न सकिने भएकाले विधि र पद्धति स्विकार्नु पर्ने अडानमा थिए ।