श्रीलंकाको राजधानीमा कोलम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ ।
यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका सिन्ह्वा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दंगामा परेर अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि रहेका छन् ।
कारागारमा कोरोनाको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलम्बोस्थित बेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् ।
बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलंकाको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारमा रहेका बन्दीहरूले सुरु गरेको दंगा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अजित रोहना बताए ।
सो दंगामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले जानकारी दिए । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताए ।
श्रीलंकामा कोरोना संक्रमण सुरु भएयता २३ हजार चार सयभन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमणबाट एक सय १६ जनाको मृत्यु भइसकेको छ ।
तस्बिर : बिबिसीबाट