१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०६:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माण सामग्रीमा मूल्यवृद्धि हुँदा पूर्वाधार आयोजना प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०६:५१:००

ढुंगा, गिट्टी, बालुवाको मूल्य दोब्बर, फलामे छड र जिआई पाइपको मूल्य केजीको २० रुपैयाँले वृद्धि,   मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग आग्रह

निर्माण सामग्रीको मूल्यमा अधिक वृद्धि हुँदा पूर्वाधार आयोजना निर्माण प्रभावित हुन पुगेका छन् । फलामे डन्डी प्रतिकेजीमा १५ देखि २० रुपैयाँसम्म मूल्यवृद्धि भएको निर्माण व्यवसायीहरूले बताएका छन् । दसैँ अघिसम्म फलामे डन्डी ५५ देखि ६० रुपैयाँ प्रतिकेजी रहेकोमा अहिले ७५ देखि ८० रुपैयाँ प्रतिकेजी पुगेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

त्यस्तै, स्रोत (उठाउने ठाउँमा) प्रतिट्रक २५ सयदेखि ३ हजार रुपैयाँ तिर्ने गरिएको ढुंगा, गिट्टी, बालुवामा अहिले ७ हजार ५ सय रुपैयाँ पुगेको व्यवसायीहरूको भनाइ छ । ‘एक–दुई महिनाको अन्तरमा यति ठूलो अन्तर हुनु असामान्य हो,’ महासंघका अध्यक्ष सिंहले भने । यसबाहेक जाली बनाउन प्रयोग गरिने जिआई वायरमा पनि मूल्यवृद्धि भएको छ । असोजसम्म ८५ रुपैयाँ केजीको जिआई वायर अहिले १ सय रुपैयाँ पुगेको छ । मिटरको १ सय ८५ रुपैयाँ रहेकोमा अहिले २ सय २० रुपैयाँ पुगेको व्यवसायीहरूको भनाइ छ ।  

फलामजन्य निर्माण सामग्रीहरू जस्तै: विभिन्न साइजका डन्डी, पाता, पत्ती, जिआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरू र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीहरूले अत्यधिक मूल्यवृद्धि गरेको महासंघको भनाइ छ । 

कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समय सुरु भएको र त्यसको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरूमा एकतर्फी रूपमा ‘कार्टेलिङ’ गरी अत्यधिक मूल्यवृद्धि गरिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले बताए ।

‘फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीहरूले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको भए पनि वृद्धिको अनुपातभन्दा मिलोमतो गरी अत्यधिक मूल्यवृिद्घ गरेको उनको भनाइ छ । अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ । 

 नदीजन्य सामग्रीको उत्खनन रोक्ने गृहको निर्णयप्रति असन्तुष्टि
गृह मन्त्रालयको देशको कुनै पनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन र बिक्री–वितरण गर्न नपाइने निर्णयप्रति महासंघले असन्तुष्टि जनाएको छ । मन्त्रालयले २५ कात्तिकमा निर्णय गरेर  गरेर २८ कात्तिकमा जिल्लालाई सर्कुलर गरेको थियो ।

गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनाहरूमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुने अवस्था देखिएको महासंघको भनाइ छ । सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रह रूपले क्रसरहरू बन्द हुन पुगेको र यसबाट अभाव सिर्जना हुन गई खानीजन्य निर्माण सामग्रीहरूमा सीमित व्यवसायीहरूको मिलोमतोमा अत्यधिक मूल्यवृिद्घ भएको महासंघको भनाइ छ । 

विषम परिस्थितिमा निर्माण कार्य गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढाउने र अर्कोतिर यसको फाइदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीलाई तत्काल रोक्न महासंघले सरकारलाई आग्रह गरेको छ । सरकारबाट प्रभावकारी रूपले अनुगमन गरी मूल्यवृद्घि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन सरोकारवाला सबै निकायसमक्ष महासंघले जोडदार माग गरेको छ ।