२०औँ शताब्दीकै महान् खेलाडी डिएगो म्याराडोनाले बुधबार राति अन्तिम सास लिए । सन् १९८० देखि १९९० सम्मका विश्वकप तथा युरोपियन फुटबलमा तहल्का पिटेका म्याराडोनाको निधनले विश्वभरका फुटबलप्रेमीलाई स्तब्ध बनाएको छ । उनको मृत्युपछि अर्जेन्टिनाको राजधानी बुनोस आयर्समा हजारौँ समर्थक सडकमा भावुक हुँदै श्रद्धाञ्जली दिइरहेका छन् । उनीहरू अझै पनि पत्याउन सकिरहेका छैनन् कि ‘फुटबलका भगवान्’ले संसार छाडिसके ।
म्याराडोनाको मृत्युमा सरकारले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले म्याराडोनाको प्रशंसा गर्दै भनेका छन्, ‘तपाईं (म्याराडोना)ले हामीलाई विश्वकै उच्च शिखरमा पु¥याउनुभयो, तपाईंले हामीलाई फुटबलको माध्यमबाट खुसी दिनुभयो, वास्तवमै फुटबल क्षेत्रमा म्याराडोना एक महान् खेलाडी हुन्, डिएगोलाई हामी सबैले मिस गर्नेछौँ ।’ बिहीबार बिहानै विशेष सुरक्षाका साथ म्याराडोनाको पार्थिव शरीर पे्रसिडेन्टल प्यालेसमा पु¥याइएको थियो ।
म्याराडोनालाई जीवित अवस्थामा अन्तिमपटक देख्ने उनका भतिजा जोनी इस्पोसिटो हुन् । स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले फुटबल लिजेन्डको निधन भएको समाचार पुष्टि गरेसँगै सडकमा हजारौँ समर्थक मैनबत्ती लिएर ओइरिएका थिए । अर्जेन्टिनको राजधानी सहरमा समर्थकहरू १० नम्बरको जर्सी लगाएर तथा बोका जुनियरको तस्बिर साथमा लिएर म्याराडोनाप्रति श्रद्धाञ्जली दिइरहेका छन् । गत महिना मात्र म्याराडोनाले ६०औँ जन्मोत्सव मनाएका थिए ।
दुई साताअघि मस्तिष्कको शल्यक्रिया गर्दा पनि उनको स्वास्थ्य अवस्था राम्रो नै थियो, तर हृदयाघातका कारण म्याराडोनाले संसार छाडेको चिकित्सकहरूको भनाइ छ । म्याराडोनाको निधनपछि बोका जुनियरले श्रद्धाञ्जली दिँदै ‘म्याराडोना बक्स’मा एउटा मात्र लाइट बालेको छ । साथै बोका जुनियरको घरेलु रंगशाला म्याराडोनाले लगाउने जर्सी रङमा पोतिएको छ । म्याराडोनाको फुटबल करिअरको पहिलो क्लब बोका जुनियर थियो ।
स्वर्गमा सँगै फुटबल खेल्नेछौँ : पेले
म्याराडोनाले जीवनभर नै विरोध गरेका व्यक्ति थिए, ब्राजिलका पेले । हुन त दुवै एक–अर्काप्रति तिखो टिप्पणी गर्न पछि पर्दैनथे । दुवै आफूलाई शताब्दीकै उत्कृष्ट खेलाडी मान्थे । सन् २००० मा फिफाको भोटिङ हुँदा म्याराडोना र पेले संयुक्त रूपमै शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भए । अफ द फिल्डमा जे–जस्तो भए पनि पेलेले म्याराडोना खासमा मिल्ने साथी भएको बताएका छन् । एक मित्रको निधनले आफू भावुक भएको पेलेले जनाएका छन् । संसारले एक राम्रा खेलाडी गुमाएको र आफूले साथी गुमाएको पेलेले बताए । पेलेले ट्विटरमा भनेका छन्, ‘निकै नराम्रो समाचार सुन्नुपरेको छ, मैले एक असल साथी गुमाएको छु, यो संसारले एक उत्कृष्ट खेलाडी गुमाएको छ, मलाई आशा छ, एक दिन स्वर्गमा सँगै फुटबल खेल्नेछौँ ।’
विश्वका प्रसिद्ध खेलकर्मीहरूले यसरी सम्झिए
म्याराडोनाको निधनप्रति धेरै खेलकर्मीले भावपूर्ण श्रद्धाञ्जली दिएका छन् । इंग्लिस टोलीका पूर्वकप्तान डेभिड बेकह्यामले आफूले देखेको खेलाडीमध्ये म्याराडोना उत्कृष्ट रहेको बताएका छन् । जीवनमा एकपटक म्याराडोनासँग भेटेको क्षण सम्झनामा आइरहेको उनले जनाएका छन् ।
क्रिकेटका लिजेन्डर सचिन तेन्दुलकरले फुटबल मात्र नभएर विश्व खेलकुदले नै एक हस्ती गुमाएको बताएका छन् । ‘हामी सबै खेलकर्मीले एक उत्कृष्ट खेलाडी मिस गरेका छौँ,’ सचिनले भनेका छन् । वर्तमान समयका दुई महान् खेलाडी लियोनल मेसी तथा क्रिस्टियानो रोनाल्डोले उनी मुटुमा रहने बताएका छन् । ‘फुटबलमा पेले र म्याराडोनाबीच उत्कृष्ट छुट्याउन गाह्रो पर्छ,’ रोनाल्डोले भने, ‘आज एक हस्तीको अवसान भएको छ ।’
युरोपमा म्याराडोनालाई दुई किसिमले श्रद्धाञ्जली दिएको एजेन्सीहरूले जनाएका छन् । इटाली जहाँ म्याराडोनाले विश्वकीर्तिमानी रकममा सिरिए क्लब नेपोलीसँग आबद्धता जनाएका थिए । एक दशक त्यहाँ रहँदा म्याराडोनाले नेपोलीलाई नम्बर एक क्लब बनाएका थिए । नेपोली र म्याराडोनाका समर्थक बुधबार राति नै सडक उत्रिएका थिए । म्याराडोनाले नेपोलीमा लगाएको गुण कहिले नबिर्सने भन्दै उनीहरूले सम्मान जनाएका छन् । नेपोलीको रंगशालामा रातभर नै लाइटिङ चलिरह्यो ।
यता बेलायतका फुटबल समर्थकले भने फरक रूपमा म्याराडोनालाई स्मरण गरेका छन् । बेलायतीले म्याराडोनालाई सन् १९८६ को विश्वकपको खेलसँग जोडेर सम्झिएका छन् । त्यस विश्वकपमा म्याराडोनाले जानाजान हातले गोल गरेका थिए । पछि उनले यसलाई भगवानले दिएको हात भने । बुधबार राति नै युरोपियन च्याम्पियन्स लिगको खेल थियो । प्रतिस्पर्धामा उत्रिएका खेलाडीले म्याराडोनाप्रति श्रद्धाञ्जली दिँदै एक मिनेट मौन धारणा गरे ।
बेलायती र स्पेनिस पत्रिकाले म्याराडोनालाई खुवै पछ्याउने गर्थे । त्यहाँका ट्याबलोइट पत्रिकाका लागि म्याराडोना सधैँ रोचक खुराक बन्थे । यसकारण म्याराडोनाका हरेक गतिविधि उनीहरूले पछ्याइरहेका हुन्थे । यसपटक स्पेनिस र बेलायती पत्रिकाले म्याराडोनाप्रति सम्मान जनाउँदै एक महान् खेलाडीको अन्त्य भएको बताएका छन् ।
धेरैजसो युरोपका पत्रिकाले भगवान्को निधन भयो भनी समाचार सम्प्रेषण गरेका छन् । स्पेनिस एल मार्का पत्रिकाले म्याराडोनाले कुनै समय भनेका राम्रा–राम्रा शब्द राखी समाचार बनाएको छ ।