बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गरेको झगडा मिलाउन जाँदा एकजनाको हत्या भएको र तीनजना सदस्य सिकिस्त घाइते बनेपछि पीडित बन्न पुगेको एक सुकुम्बासी परिवार उल्टै झन् सुरक्षा जोखिम बढेपछि थातथलो छाड्ने अवस्थामा पुगेको छ ।
घटनामा संलग्न १२ जना अभियुक्त खुलेआम घुमफिर गरिरहे पनि पक्राउ नपरेको र पक्राउ परेकाहरू पनि धमाधम अदालतबाट धरौटीमा छुटेर धाकधम्की दिन थालेपछि सुरक्षा जोखिम बढेको भन्दै मोरङ बेलबारी नगरपालिका– ५ कसेनीमा बसोवास गर्दै आएको एक पीडित सुकुम्बासी परिवार वर्षौँदेखि बस्दै आएको थातथलो छाड्ने अवस्थामा पुगेको हो ।
पीडित परिवारका जेठा सदस्य ४९ वर्षीय धनकुमार राईका अनुसार घटनमा संलग्न २० जना अभियुक्तहरूमध्ये तीनजना अभियुक्त अदालतबाट धरौटीमा छाडिएका छन् ।
पक्राउ गरेर पुर्पक्षमा जेल गएका चारजना अभियुक्तहरूले पनि जिल्ला आदेश बदर गर्न माग गर्दै उच्चमा निवदेन गरेका छन ।
‘खुलेआम घुमफिर गरिरहेका १२ जना अझै पक्राउ परेका छैनन् । पक्राउ परेकाहरूले पनि धमाधम छुटेर उल्टै धम्क्याउन थालेका छन् । यसैले गाउँमा बस्न सक्ने अवस्था भएन, यसैले बसाइँ सरेर जाने सोच बनाइरहेका छौँ,’ जेठा सदस्य धनकुमारले भने ।
जनमन गरेर पालिँदै आएको राई परिवार गल्ती नै नगरी भएको ज्यान मार्ने आक्रमणपछि विक्षिप्त अवस्थामा थियो ।
त्यसमाथि अभियुक्तहरूले नै धाकधम्की दिन थालेपछि झन् भयभीत भइरहेको सहयोगी अर्जुन शर्माले बताए ।
धरौटीमा छाडिएका अभियुक्तहरूले घरमा आएर ‘खुलेआम चारजनालाई मानुपर्नेमा एकजना मात्रै मारेछौँ, हामी पनि हेर्छौँ लाखेस् यो गाउँमा तिमीहरु कसरी बसिरहौला ?’ भन्दै गाउँमा खुलेआम धाकधम्की दिने गरेको जेठा सदस्य धनबहादुर बताउँछन् ।
शोक, भोक र त्रासले गलेका उनी भन्छन्, ‘एकातिर भाइ गुमाएको शोक अर्कोतिर भाइहरू सिकिस्त घाइते भएको पिर, उपचार गर्दा लागेको ऋणको बोझ, त्यहाँमाथि झन् दिनदिनै धाकधम्की कसरी बसिरहन सकिन्छ र ?’
तर, आफ्नो जमिन नभएको र किन्ने पैसा पनि नभएकोले कहाँ गएर बस्ने भन्ने उनीहरूले टुंगो लगाइसकेका छैनन् ।
सिकिस्त घाइते भएकोले भाइ समुन्द्रको जीवन नर्कझैँ बनिरहेकोले उनलाई अदालतले उचित क्षतिपूर्ति दिलाइदिन्छ भन्ने आपेक्षा पनि दाजु धनकुमारको छ ।
बाँसको पुलमा मोटरसाइकल तारेको चर्को शुल्क उठाउने कार्यको विरोध गरेको भन्दै ११ भदौ साँझ स्थानीय दिनेश भन्ने घलेन्द्र श्रेष्ठसँग कृष्णकुमार चौधरी र विनयकुमार सरदारको भनाभन भएको थियो ।
सोही भनाभनको बदला लिन १२ भदौ ०७७ मा कृष्णकुमार चौधरी र विनय सरदारले आफ्ना साथीहरू भेला गरेर खानपान गराई श्रेष्ठमाथि सामूहिक आक्रमण गराएका थिए ।
सोही घटना छुट्याउन पुगेका ३९ वर्षीय चन्द्रकुमार राईको धारिलो हतियार प्रहार गरेर उनीहरूले हत्या गरेका थिए । सँगै ३६ वर्षीय समुन्द्रकुमार राई, ४२ वर्षीय सइकुमार राई र १५ वर्षीय गौरव राईलाई सिकिस्त घाइते बनाएका थिए ।
अर्कोको ज्यान जोगान खोज्दा आफ्नो ज्यान गुमाउन पुगेका चन्द्रकुमार नृत्य प्रशिक्षक थिए ।
उनी विराटनगरका विभिन्न प्रशिक्षण केन्द्र र विद्यालयमा नृत्य सिकाउँथे ।
घटनामा प्रहरीले जम्मा २० जनलाई अभियुक्त बनाएको थियो । तीमध्ये सातजना पक्राउ परे ।
पक्राउ परेकामध्ये विनयकुमार सरदार, राजेन्द्र थुलुङ, दीपेन्द्रकुमार चौधरी, वीरेन्द्रकुमार खवास र विशालकुमार खवास पुर्पक्षका लागि जेल गए ।
अभियुक्तहरू यानु थुलुङ पाँच लाख, जितेन्द्र चौधरी चार लाख, बलराम चौधरी पाँच लाख धरौटीमा छाडिए । जेल गएका चारजनाले जिल्लाको आदेशलाई बेरितको भन्दै उच्च अदालत विराटनगरमा निवेदन गरेका छन् ।
तीनजना आरोपी पहिले नै छुटिसकेको र उच्चबाट जेलमा बसेकाहरू पनि छाडिए भने आफूहरूको थातथलो छाड्नुको विकल्प नभएको दाजु धनबहादुरले बताउँछन् ।
उनी भन्छन्, ‘हामी सुकुम्बासी गाउँमा समुदायको हिसाबले पनि अल्पमतमा छौँ, त्यहीमाथि सबै अभियुक्त छाडिए भने हाम्रो सुरक्षा झन् जोखिममा पर्ने निश्चित छ ।’
राई परिवारका ज्येष्ठ सदस्य तथा दाजु धनबहादुरका अनुसार आक्रमणमा कान्छो भाइ २६ वर्षीय समुन्द्रको खुकुरीको धारिलो आक्रमणले गर्दा टाउको दुई फ्याक भएको थियो ।
उनको उपचारमा राई परिवार आफैँले पाँच लाख रुपैयाँ खर्च गरेको थियो । र, अझै टाउकोमा स्टिल हाल्नुपर्ने भएकोले चार लाख रुपैयाँ अझै खर्च लाग्नेछ ।
‘त्यसका लागि ऋण खोजेर रकम जुटाइरहेका छौँ,’ दाजु धनकुमारले भने । यसैगरी आक्रमणमा माइलो भाइ सइकुमारको पनि टाउकोमा काटेको छ अर्को भाइ गौरव पनि आक्रमणमा भएको कुटपिटले गर्दा मानसिक रूपमा विज्ञप्त छन् ।
अदालतले अभियुक्तहरू यानु थुलुङ दुई लाख, बलराम चौधरी पाँच लाख र जितेन्द्रकुमार चौधरी चार लाख धरौटीमा छाडिएका छन् ।
चारजना अभियुक्त विनयकुमार सरदार, राजेन्द्र थुलुङ, दीपेन्द्रकुमार चौधरी, विशालकुमार खवास र वीरेन्द्रकुमार खाँलाई पुर्पक्षका लागि जेल पठाइएकाे छ।
घटनामा संलग्न १२ जना अझै फरार छन् । तर, फरार भए पनि उनीहरू गाउँघरमा घुमफिर गरिरहेका छन् । उनीहरूमध्ये धेरैजना दसैँ–तिहारमा गाउँमा चाडबाड मान्न आएका थिए ।