मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ मङ्सिर ८ सोमबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौरसिया हत्या प्रकरण : थप एकजना आरोपी पक्राउ

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ८ सोमबार १३:१६:००

पर्साको विन्दबासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या आरोपमा थप एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको विन्दबासिनी गाउँपालिका– ३ इटियाही बस्ने ३२ वर्षीय अखिलेश चौरसिया भन्ने असेसर चौरसिया रहेकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार हत्याको आरोप लागेका चौरसिया फरार भई वीरगन्जमै लुकिछिपी बसिरहेको अवस्थामा आइतबार साँझ पक्राउ परेका हुन् ।  

६ कात्तिकमा शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते भएका मुकेशको उपचारका क्रममा ७ कात्तिकमा मृत्यु भएको थियो । 

त्यस घटनाका मुख्य आरोपी चौरसिया रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुकेशको टाउकोमा बाँसको भाटा प्रहार गर्न मुख्य व्यक्ति पक्राउ परेका चौरसिया नै हुन् ।

यसअघि प्रहरीले कात्तिक २६ मा फरार आरोपी उत्तम तिवारी भनिने  नीरञ्जन तिवारीलाई पक्राउ गरेको थियो । 

हत्या आरोपी आठजना अझै फरार

मुकेशको हत्यामा संलग्न रहेको आरोप लगाउँदै मृतकका भाइ महेशले दिएका जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि १३ कात्तिकमा सरकारी वकिल कार्यालयमार्फत १२ जनामाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो । उनीहरूमध्ये आठजना भने फरार रहेका छन् । 

नेकपाका नेता एवं पूर्वसांसद राजकुमार गुप्ता, धीरज चौरसिया, लक्ष्मण चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, अखिलेश चौरसिया, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, देवा सहनी मलाह र जनार्दन चौहानविरुद्ध जाहेरी परेको हो । उनीहरूमध्ये हनिफ मियाँ देवान, उत्तम तिवारी, देवा सहनी मलाह र अखिलेश चौरसिया प्रहरी नियन्त्रणमा छन् भने बाँकी सबै फरार रहेका छन् । जसमा देवान र मलाहलाई ६ कात्तिकमै पक्राउ गरिएको थियो । 

उनीहरूको खोजी तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयकी एसपी गंगा पन्तले बताइन् । घटनामा प्रत्यक्ष रूपमा देखिएका व्यक्तिलाई प्राथमिकतामा राखेर खोजी कार्य तीव्र रूपमा अगाडि बढेको उनको भनाइ छ ।