१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ७ आइतबार ०७:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेताका आफन्तहरूले नै हुलहुज्जत गरे  : सुरेन्द्र पाण्डे

मन्त्रीका ज्वाइँ आफैँ नाराबाजीमा उत्रे

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार ०७:३७:००

राप्ती नगरपालिकामा पार्टीको नगर कमिटी बैठकमा अतिथिका रूपमा गएको थिएँ । मैले त्यहाँ पार्टीभित्र विभिन्न प्रतिष्ठानका नाममा गुटहरू चलेका छन्, यसलाई रोक्नुपर्छ भन्ने आवाज पहिलादेखि थियो । दुई अध्यक्ष, सचिवालयका अन्य कमरेडहरू पनि सहमत हुनुभयो । त्यसैअनुसार हामीले विवाद समाधान गर्ने कार्यदलमार्फत प्रतिष्ठानमार्फत हुने गुटगत गतिविधि रोक्ने प्रस्ताव गर्‍यौँ । फेरि दुई अध्यक्षले सहमति गर्नुभयो ।

सचिवालयमा सहमति भयो र स्थायी कमिटीबाट पारित नै भयो । पछि २९ भदौमा सर्कुलर नै जारी भयो । सर्कुलरमै हामीले पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरू परिचालित छन् । यीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् र गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ भन्ने निष्कर्ष पठाएका छौँ । पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने भनेकै छौँ ।

प्रतिष्ठानमार्फत कुनै पनि गुटका गतिविधि गर्नुहुँदैन भन्ने पार्टीको औपचारिक निर्णय छ र यसमा सबैको सहमति छ भन्ने पृष्ठभूमिसहित व्याख्या गर्दै थिएँ । त्यहीवेला केही केटाहरू जुरुक्क उठे । नाराबाजी गर्न थाले । राजनेता केपी ओली जिन्दावाद भन्न थाले, जबज जिन्दावाद भने । मदन भण्डारी फाउन्डेसन जिन्दावाद भनेर पनि नारा लगाए । बैठककक्षमा प्रवेश गर्दा मेयरसँगै केही ती केटा आएका थिए । तीमध्ये केही चिनेका थिए र केही नचिनेका ।

यसरी नारा लगाउनेमा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया हुन् । सुरजका ससुरा दाबा लामा बागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री छन् । मन्त्रीका ज्वाइँ आफैँ नाराबाजीमा उत्रे । मन्त्री दाबाकै पिए प्रकाश कालाखेती पनि त्यहाँ थिए । केदार आचार्य पनि थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न थिए भन्ने छ । उनीहरू मदन भण्डारी फाउन्डेसनसँग जोडिएका होलान् । 

उनीहरूका गतिविधि सुरुदेखि नै स्वाभाविक थिएनन् । मेयरलाई आशन ग्रहण गराउँदा ताली पिट्थे । मेयर बोल्दा पनि ताली पिट्थे । तर, अरू कोही बोल्दा पनि चासो थिएन । पार्टी कमिटीको बैठकमा कमिटीमै नरहेका मान्छे पसेका थिए । हलको घटनाक्रम हेर्दा घटना सुनियोजित रूपमा नै भएको देखिन्छ । यद्यपि, यस्तो योजना कहाँ र कसले बनायो थाहा भएन ।

ती केटाहरूले बीचबीचमा कानेखुसी पनि गरेका थिए भन्ने अरू साथीहरूको कुरा थियो । म अर्को कार्यक्रममा जानुपर्ने भएकाले छोटो नै बोलेको थिएँ, सकिने वेलातिर नाराबाजी गरेका हुन् । यो बिल्कुलै अराजनीतिक प्रवृत्ति हो । गैरराजनीतिक चरित्र देखाइयो । यस्तो प्रवृत्तिले असफलता मात्रै भोग्ने हो । जसले प्रश्रय दिन्छ ऊ पनि सिद्धिन्छ । जंगलमा आगो लगाएर रूख जोगाउन सकिन्न । खराब सोचले आफैँलाई सक्छ । यस विषयमा पार्टीभित्र पनि छलफल होला ।