१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ४ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ४ बिहीबार १४:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय खेल यात्रा : अस्ट्रेलियन लिग होबार्टमा आबद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ४ बिहीबार १४:१५:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन फ्रेन्चाइज लिग विग बासको होबार्ट हरिकेन्समा आबद्ध भएका छन् । 

सन्दीप र मेलबर्नबीचको दुईवर्षे सम्झौता यसै वर्ष समाप्त भएको थियो । मेलबर्नसँग सम्झौता नवीकरण नभएपछि सन्दीप यसपटक नयाँ क्लबमा आबद्ध हुने अनुमान थियो । 

सन्दीपलाई भित्र्याउन चार टोलीले चासो देखाएका थिए । अन्तिममा होबार्टले बिहीबार बिहान नेपालका लेग स्पिनर सन्दीपलाई विदेशी कोटाअनुरूप आबद्ध गरेको जानकारी दियो । 

सन्दीपसँगको सम्झाैतासँगै होबार्टले पूर्णता पाएको छ । होबार्टसँग अहिले विदेशी खेलाडीमा डेभिड मालान, सन्दीप र किमो पाउल छन् । विल ज्याक्स तथा कोलिन इग्राम विदेशी कोटाबाट बाहिरिएको होबार्टले जनाएको छ । 

लगातार तेस्रो सिजन तथा नयाँ टोलीबाट विग बासमा खेल्न पाउँदा सन्दीपले आफूलाई निकै खुसी लागेको बताएका छन् । 

‘नयाँ सिजनमा होबार्टबाट विग बासमा खेल्न पाउँदा खुसी लागेको छ,’ होबार्टले जारी गरेको विज्ञप्तिमा सन्दीपले भनेका छन् । गत साता सन्दीप १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सबाट सहभागिता जनाउँदै नेपाल फर्किएका थिए । 

दिल्ली पहिलोपटक आइपिएलकाे उपविजेता हुँदा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । तर, उनी आइपिएलको उपविजेता सदस्यका रूपमा स्वदेश फर्के । अस्ट्रेलियन समर्थकले सन्दीपलाई निकै मन पराउँछन् । 

सन्दीप आबद्ध दिल्ली यसपटकको आइपिएल फाइनलमा साबिक विजेता मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । 
यसअघि मेलबर्नबाट प्रतिस्पर्धा गर्दा सन्दीपले दर्शकबाट अपार समर्थन पाएका थिए । सन्दीप भन्छन्, ‘अस्ट्रेलियामा मलाई सबैले माया गर्नुहुन्छ, त्यत्तिकै समर्थन पनि प्राप्त गरेको छु, नयाँ सिजनमा खेल्न उत्साहित छु ।’ 

सन्दीपले ब्लन्डस्टोन एरिनामा खेल्न आतुर भएको बताएका छन् । उनी भन्छन्, ‘म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि प्रतीक्षा गर्न सक्दिनँ ।’ 

होबार्टले दुई सिजन सन्दीपको प्रदर्शनअनुसारै आबद्ध गरेको जनाएको छ । होबार्टका प्रशिक्षक एडम ग्रिफिथले सन्दीपको आगमनपछि टोलीको स्पिन विभाग बलियो भएको बताएका छन् । 

सन्दीपले होबार्टको स्पिन बलिङ आक्रमणमा नयाँ आयाम थप्ने विश्वास प्रशिक्षक एडमले लिएका छन् । उनी भन्छन्, ‘सन्दीपको बलिङ फरक छ, उनी रहस्यमयी स्पिनका साथ खेल नतिजा नै परिवर्तन गर्न सक्छन्, यसपटक हाम्रो नजरमा उनी विकेटटेकर बलरका रूपमा रहन सक्छन् ।’ 

सन्दीपले सन् २०१८ मा  माइकल क्लार्कको कप्तानीमा रहेको मेलबर्नबाट विग बासमा डेब्यु गरेका थिए । उनले दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिए । 

सन्दीपको विग बासमा १९.८० औसत रहेको छ । होबार्टका प्रशिक्षक एडमले सन्दीपको बलिङ कौशलता आफूले राम्रोसँग निकालेको बताएका छन् ।

‘मैले दुई सिजन सन्दीपको बलिङ हेरेको थिएँ, यो सिजनमा सन्दीपबाट राम्रो प्रदर्शन हुने अपेक्षा राखेको छु,’ उनले भने ।

सन्दीप आबद्ध होबार्टमा अस्ट्रेलियाका चर्चित खेलाडी जेम्स फाउल्कर र  पिटर ह्यान्डकोव छन् । विग बास १० डिसेम्बरदेखि ६ फेब्रुअरीसम्म चल्नेछ ।