१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तिहार ढिला हुँदा खेर गयो सयपत्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:१७:oo

यस वर्ष अधिकमासका कारण दसैँ र तिहार एक महिना पछाडि धकेलिँदा चितवनको फूलखेतीमा प्रत्यक्ष असर परेको छ । भरतपुर–१२, जगतपुरमा मनकामना सयपत्री आमा समूहले लगाएको सयपत्री तिहारअघि नै फुल्दा झन्डै डेढ क्विन्टल फूल बारीमै कुहिएको छ । तिहारअगाडि नै फूल फुलेपछि २० दिनअघि भरतपुरस्थित एक कोल्ड स्टोरमा स्टोर गरिए पनि सबै नष्ट भएको समूहकी अध्यक्ष रेनुका पौडेलले बताइन् । यद्यपि, समूहले पछिल्लो चरणमा टिपेको करिब ५ क्विन्टल फूल भने बिक्री भइसकेको छ । 

भरतपुर–२५, अमृतनगरका सुमन सुवेदीले तिहारमा नै उत्पादन दिने गरी दिन गनेर १० कट्ठामा फूलखेती गरेका थिए । तर, बिउ राम्रो नहुँदा समयअगाडि नै फूल फुलेपछि तीन हप्ताअघि स्टोरमा राखिएको थियो । तर, स्टोरमा नै कुहिएको उनले बताए । १० कट्ठामा फूल लगाउँदा झन्डै ३ लाख खर्च भएको बताउँदै उनले भने, ‘समयमा नै फूल बेच्न पाएको भए अहिले १० लाखको कारोबार हुन्थ्यो होला ।’

फूललाई बोटमै कुहिन नदिन कोल्ड स्टोरमा राखेको भए पनि जोगाउन नसकेको मालीदाइ एग्रो इनोभेसनका सञ्चालक इन्जिनियर सागर कार्कीले बताए । कृष्णपुरमा तीन वर्षदेखि सामूहिक फूलखेती गर्दै आएका उनले भने, ‘हामीले फूलबाट माला उनेर कोल्ड स्टोरमा २ सय माला राख्यौँ, तर २० वटा माला त काम नै नलाग्ने भए, अन्यमा पनि दाग देखियो ।’ यस वर्ष विभिन्न चार ठाउँमा उनीहरूले ११ कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका थिए ।

अफ्रिकन ब्रिड कोलकतिया सयपत्री फूल जति टिप्यो, त्यति हाँगा हालेर पलाउँछ । तर, तिहार ढिलो हुँदा ३० हजारको फूल यसपटक नष्ट भयो । तिहारलाई लक्षित गरेर फूल लगाएको भए पनि यस वर्ष बेच्न नपाएको भरतपुर–५, नारायणपुरकी रुकु कार्कीले बताइन् । अघिल्लो वर्ष फूल बेचेर ४० हजार कमाएकी उनले यसपालि दोब्बर आम्दानी गर्ने गरी फूलखेती गरेकी थिइन् । 

यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष प्रकाश पन्तले जानकारी दिए । उनका अनुसार चितवनमा करिब ३० बिघा क्षेत्रफलमा सयपत्रीको मात्र खेती भएको छ । अहिले मौसमले पनि चितवनको फूल उत्पादनमा असर पारेको अध्यक्ष पन्तले बताए । उनका अनुसार सयपत्रीको एउटा मालाको होलसेल मूल्य बजारमा ४० देखि ५० र खुद्रा मूल्य ७० देखि ८० रुपैयाँ छ । १ हजार सयपत्री फूलको बोटबाट ६ सय माला उत्पादन हुने उनी बताउँछन् ।

ad
ad