मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक २७ बिहीबार
  • Sunday, 13 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ कार्तिक २७ बिहीबार १४:३२:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

कोरोना प्रभाव : व्यावसायिक फुटबल रेफ्रीहरू बेरोजगार, आर्थिक संकटले जीवन धान्न धौधौ 

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ कार्तिक २७ बिहीबार १४:३२:oo

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले प्रायः सबै क्षेत्रमा नराम्रो असर पुऱ्याएको छ । 

यसबाट खेलकुद क्षेत्र पनि प्रत्यक्ष रूपमा प्रभावित बनेको छ । 

जसले गर्दा नेपालका व्यावसायिक फुटबल रेफ्रीहरू बेरोजगार बन्न पुगेका छन् । जसले गर्दा रेफ्री र उनीहरूको घरपरिवारले आर्थिक संकट झेलिरहेका छन् ।  

कोरोना संक्रमणले गर्दा फुटबल प्रतियोगिता र प्रशिक्षण कार्यक्रमहरू आयोजना हुन नसक्दा व्यावसायिक रेफ्रीहरूले बेराजगार बन्नुपरेको र यसले गर्दा जीवन तथा परिवारको गुजारा चलाउन निकै कठिन हुन थालेको उनीहरूले बताएका छन् । 

कोरोना महामारीले गर्दा आठ महिनादेखि देशमा व्यावसायिक फुटबल गतिविधि ठप्प छ । यसैले खेलकुदलाई नै पेसा बनाएका व्यावसायिक रेफ्रीहरू बेराजगार बन्न पुगेका हुन् ।   

फिफाका पूर्वसहायक रेफ्री तथा फिटनेस ट्रेनर किरण गिरी नेपाली फुटबल क्षेत्रमा रेफ्रीको भूमिका निर्वाह गरेर जीवन धानिरहेका व्यावसायिक नेपाली रेफ्रीहरू महामारीपछि प्रत्यक्ष आर्थिक मारमा परेको बताउँछन् । 

उनका अनुसार चरम आर्थिक संकट झेलेका रेफ्रीहरूलाई पूर्वरेफ्री समूहले केही राहत सहयोग पनि गर्नुपरेको छ । 

उनी आर्थिक संकट झेलिरहेका  रेफ्रीहरूलाई सरकारको तर्फबाट आवश्यक सहयोग हुनुपर्ने बताउँछन् । 

पूर्वसहायक रेफ्री गिरी भन्छन्, ‘महामारीको मार खेल क्षेत्रका सबैमा परेको छ, तर त्यसमा पनि व्यावसायिक रेफ्रीहरूको जीवन कष्टकर बनिरहेको छ । घरपरिवारको जीवन धान्न धौधौ परिरहेको छ, यसैले एन्फाले उनीहरूलाई न्यूनतम मासिक सहयोग गर्न आवश्यक छ ।’    

नेपालमा दुई महिला र १० पुरुषसहित १२  जना फिफा रेफ्रीहरू छन् । उनीहरूले एन्फाबाट मासिक तलब पाइरहेका छन् । तर, व्यावसायिक रूपमा सक्रिय रहेका पहिलो श्रेणीका ३० र ३० जना सहायक रेफ्रीहरू भने प्रत्यक्ष आर्थिक मारमा छन् ।

यसबाहेक हरेक जिल्लामा पाँचदेखि १० जना जिल्लास्तरको प्रतियोगिता खेलाउने रेफ्रीहरू पनि छन् । 

फिफा रेफ्रीहरूले एन्फाबाट मासिक तलब प्राप्त गरिरहेकोले उनीहरूको जीवन खासै कष्टकर नभए पनि फुटबललाई नै जीवन बनाएर वर्षौँदेखि लागिपरेका व्यावसायिक रेफ्रीहरूको जीवन भने आर्थिक संकटले कष्टकर बनेको व्यावसायिक रेफ्रीहरू बताउँछन् । 

मोरङका व्यावसायिक रेफ्री मदन काफ्ले भन्छन्, ‘प्रतियोगिता आयोजना ठप्प भएपछि हामीलाई पुनः मार परेको छ, जेनतेन ऋणपान गरेर जीवन धानिरहेका छौँ, महामारी अझै लम्बिएमा चाहिँ परिवारको जीवन चलाउन निक्कै धौधौ पर्नेछ  ।’ 

व्यावसायिक रेफ्रीहरू एन्फाले महामारीकालमा न्यूनतम आर्थिक रूपले सम्बोधन गर्नुपर्ने आपेक्षा राखेको बताउँछन् । 
रेफ्री श्याम दनुवार भन्छन्, ‘हामीले जानेको सीप भनेकै फुटबल खेल्न र खेलाउन हो, यसैले वैकल्पिक पेसा गर्न सजिलो छैन ।’ 

उनका अनुसार केहीले जेनतेन वैकल्पिक पेसा गर्न खोजे पनि पार लगाउन सकेका छैनन् । केहीले बन्द–व्यापार गर्न खोज्दा लगानीसमेत गुमाएको उनले बताए । 

एउटा रेफ्रीले जति धेरै म्याच खेलाउँछ त्यहीअनुसार उसको आम्दानी हुन्छ । हरेक वर्षको भदौ अन्तिमदेखि जेठ महिनासम्म व्यावसायिक रेफ्रीहरू व्यस्त हुन्छन् । 

मंसिरदेखि जेठसम्म त झन् उनीहरूलाई भ्याइनभ्याई हुन्छ । जसको आम्दानीले उनीहरू वर्षभरि आफ्नो घरपरिवार चलाउने गर्दछन् । 

चैत ११ चैत ०७६ देखि  लकडाउन भएको समय फुटबलको ‘पिक’ सिजन थियो । तर, लकडाउन गर्दा खेल गतिविधि ठप्प भएपछि रेफ्रीहरूको आम्दानी पनि ठप्प भयो ।   

मुख्य आम्दानी हुने वेला नै फुटबल प्रतियोगिताहरू बन्द भएपछि फुटबलबाट नै कमाएर खाने रेफ्रीहरू प्रत्यक्ष मारमा परेको रेफ्री बलिदान राई बताउँछन् ।  

६ महिनासम्म लम्बिएको लकडाउनमा पनि कुनै गतिविधि हुन सकेनन् । जसले गर्दा उनीहरूले कमाएर सञ्चय गरेको आम्दानी पनि सबै खर्च गर्न बाध्य भए । 

लकडाउन खुलेपपछि पनि अझै फुटबलका कुनै गतिविधिहरू आयोजना हुन सकेका छैनन् । यसैले रेफ्रीहरूको आम्दानी अझै ठप्प नै छ । 

चरम आर्थिक समस्या भोगिरहेका एक व्यावसायिक रेफ्री भन्छन्,  ‘न त अरू पेसा र खेतीपाती छ न त खेल गतिविधि सुरु भएको छ, सम्मानित खेलाडी भएकोले जोकोहीसँग ऋण र राहत सहयोग माग्न पनि सकिँदैन, अझै महामारी लम्बिएमा परिवारको जीवन कसरी धान्ने होला भन्ने चिन्ता सबैभन्दा बढी बनेर आयो ।’