
बलिउड स्टार किड्समाथि सबैको ध्यान हुने गर्छ । सबैले चासोका साथ हेर्ने र बुझ्ने कोसिस गरेका स्टार किड्सहरू बलिउडमै जम्ने कोसिस गर्छन् । तर, कतिपय बलिउडमा स्थापित भएका छन् भने कति बलिउडमा जम्न नसकेर अन्य क्षेत्रमा लागेका छन् । यस्तै सधैँ चर्चा र चासोमा रहिरहने स्टार किड हुन् बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमा निडर भएर राख्छिन् ।
इरा खान चार वर्षदेखि डिप्रेसनमा छिन् । अहिले संसारभर मानसिक स्वास्थ्यबारे बहस र छलफल हुने गरेको छ । बलिउडमै पनि दीपिका पादुकोण, इलियाना डिक्रुजलगायत कलाकारले डिप्रेसनमा रहेको कुरा गरेका थिए । आमिर खानकी छोरी इरा खानले पनि आफू चार वर्षदेखि डिप्रेसनमा रहेको बताएकी थिइन् । उनी डाक्टरकहाँ पनि गएकी थिइन् । खासमा उनी क्लिनिकल्ली डिप्रेस्ड छिन् ।
जब उनी १४ वर्षकी थिइन्, त्यस समयमा उनमाथि यौन शोषण भएको थियो । भिडियोमार्फत उनले भनेकी छिन्, ‘जब म १४ वर्षकी थिएँ, मेरो यौन शोषण भएको थियो । त्यो समयमा त्यो मान्छेले यौन शोषण नै गरेको भन्ने महसुस नै भएन । मलाई थाहा पनि थिएन कि त्यसलाई यौन शोषण भनेर कसरी विश्वास गर्ने भनेर । मलाई त्यो यौन शोषण नै हो भनेर महसुस गर्न एक वर्ष लागेको थियो ।’ उनले आफूलाई त्यस्तो महसुस भएपछि तुरुन्त आमाबाबुलाई इमेल लेखेको र यो कुरा बाहिर ल्याएको बताएकी थिइन् ।
सन् २००२ मा अलग भएका आमिर खान र रिना दत्तबारे पनि इराले आफ्नो धारणा राखेकी छिन् । उनले आफ्नो मातापिताको डिभोर्स हुँदा आफू दुःखी हुने कारण पनि थाहा नभएको बताएकी छिन् । भनेकी छिन्, ‘मेरो आमाबाबुको सम्बन्धविच्छेद हुँदा म सानी थिएँ । त्यो घटनाले ममा कुनै झट्का लागेन । किनभने दुवै आपसी सहमतिमा छुट्टिएका थिए ।
सम्बन्धविच्छेदपछि पनि दुवै साथी थिए । हाम्रो परिवार अहिले पनि टुटेको छैन । सम्बन्धविच्छेदपछि पनि आफू र भाइ जुनैदबारे सँगै बसेर निर्णय लिने गरेको बताएकी छिन् ।
इरा खानले आफू डिप्रेसन रहेको खुलासा गरेपछि उनको ट्रोल पनि भयो । यसको जवाफमा उनले सामाजिक सञ्जालमा लेखिन्, ‘मानसिक स्वास्थ्यमाथि मैले लेखेको पोस्टप्रति तपाईंलाई घृणा लाग्छ भने म तपाईंको कमेन्ट डिलेट गरिदिन्छु । यदि दोस्रोपटक पनि कमेन्ट गर्नुहुन्छ भने म तपाईंलाई ब्लक गरिदिन्छु ।’