१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दसैँ सहयोग लिँदै बाबरेका पहिरोपीडित
२o८१ बैशाख ३१ सोमबार o९:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पहिरोपीडितका खुसी– ‘जसको सहयोगले दसैँ मनायौँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:३२:oo

वर्षात्को समय पटकपटक आएका पहिरोले घर बगाएपछि सडकमा पाल हाल्नेदेखि सामुदायिक विद्यालयसँग आश्रय लिएर बसेका पहिरोपीडितलाई दसैँको चिन्ता थियो । बालबच्चालाई मीठो खानेकुरा र राम्रो कपडा व्यवस्थापन गर्ने चिन्तामा रहेका दोलखा कालिञ्चोक गाउँपालिका–२ बाबरेका पहिरोपीडितलाई एउटा मनकारी संस्थाको सहयोग जुटेपछि खुसी मिल्यो । 

पहिरोले घरवारविहीन उनीहरू सार्वजनिक ठाउँमा कष्टकर बसोवास गरिरहेका थिए । दैनिक जीवनयापन गर्नसमेत समस्या भएका उनीहरूले सरकारी संयन्त्रबाट केही अपेक्षा गरे पनि ती निकायबाट आश्वासनबाहेक कुनै सहयोग पाएका छैनन् । ६ कात्तिकमा पहिरोपीडितलाई दसैँ सहयोगका लागि कांग्रेस गाउँ समितिले आयोजना गरेको कार्यक्रममा बाबरेस्थित डुम्फा टोलका पहिरोपीडित कुलबहादुर थामीले भने, ‘हामीलाई आश्रय त परको कुरा क्वारेन्टिनमा बाँकी रहेको खाद्यान्नसमेत दिइएन ।’

उनी घरमा भएको अन्न पहिरोले पुरेपछि धेरै दिन भोकै बसेका थिए । कुलबहादुरजस्तै बाबरेका १५ घरपरिवारको अवस्था दयनीय रहेको आसपासका छिमेकी बताउँछन् । पीडितको यो अवस्था देखेपछि कांग्रेस गाउँसमितिले जिल्लास्थित नेता र अन्य सहयोगी मनसँग प्रस्ताव गरेर थोरै भए पनि राहत र सहयोग जुटाएर वितरण गरिएको कालिञ्चोक–२ का कांग्रेस सभापति केदारप्रसाद खतिवडाले जानकारी दिए ।

‘दसैँ सहयोग पाएपछि खुसी भयौँ’
दसैँको मुखमा सहयोग पाएपछि पहिरोपीडित र आफूहरूको परिवारमा खुसी छाएको क्याङडेन्डीकी नीरमाया थामीले सुनाइन् । गाउँका स्थानीय नेताको पहलमा स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्षसमेत रहेका समाजसेवी प्रभुराम श्रेष्ठले व्यक्तिगत खर्चमा प्रत्येक परिवारलाई मासु खरिदका लागि तीन हजारसहित एक बोरा चामल, दाल, नुन, तेल, मसलालगायत सामग्री सहयोग गरेका थिए । उक्त सामग्री पाएपछि उत्साह छाएको स्थानीय चमेली थामीले बताइन् । यसअघि उनीहरूलाई कांग्रेसका अर्का युवा नेता सन्तोष पाण्डेले प्रतिपरिवार एक–एक बन्डल जस्ता सहयोग गरेका थिए । 

पीडितको आवश्यकता स्थायी आवास 
राहत सामग्री वितरण गर्न गाउँ पुगेका कांग्रेस जिल्ला नेताहरूलाई पीडितले खानलाई जसोतसो गरे पनि आफूहरूलाई स्थायी घर निर्माणका लागि सहयोग गर्न अनुरोध गरे । सरकारले उपलब्ध गराएको अनुदान र आफूसँग भएको पैसा थपथाप गरी बनाएको घर भत्किएपछि बिचल्लीमा परेका पहिरोपीडितको अहिलेको मुख्य आवश्यकता पनि स्थायी वास नै हो । कांग्रेस दोलखाका नेता ईश्वरनारायण मानन्धरले आफ्नो दल प्रतिपक्षमै भए पनि सरकारी निकायसँग पहिरोपीडितको समस्या दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्ने बताए । 

जग्गा व्यवस्थापन भए एकीकृत बस्ती बनाउँछौँ : मन्त्री दुलाल 

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जग्गा व्यवस्थापन गरी स्थानीय तहले प्रस्ताव गरे एकीकृत बस्ती निर्माणमा सरकारले लगानी गर्ने बताए । उनले फरक–फरक ठाउँमा नभई एकै ठाउँमा सबै पूर्वाधार विकास हुने गरी जग्गाको टुंगो लगाएर प्रस्ताव आए तत्काल एकीकृत बस्ती निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरी काम थालनी गर्ने जनाएका छन् ।

मन्त्री दुलालले विपत्ले निम्त्याएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न एकीकृत बस्ती नै अपरिहार्य रहेको बताए । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले कालिञ्चोकका दुईवटा क्षेत्र लापिलाङ र बाबरेका दुईवटा बस्तीमा पहिरोले क्षति गरेको बताउँदै ती ठाउँमा एकीकृत बस्ती बनाउन जग्गा छनोटका लागि अध्ययन भइरहेको बताए ।

अध्यक्ष थामीले दुईवटै बस्तीको नजिकै मिलेको जग्गा नभेटिएकाले खोजी कार्य भइरहेको बताएका छन् । उनले धेरै टाढा बस्ती बनाउन पनि पीडितले आफ्नो थातथलो छोड्न नमान्ने भएकाले सोहीअनुसारको जग्गाका लागि पहल भइरहेको प्रतिक्रिया दिएका छन् ।

ad
ad