१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

गर्भवतीमा कोरोनाको जोखिम : समय नपुगी जन्मिन थाले शिशु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:३२:oo

विश्वमा भइरहेको विभिन्न अध्ययनअनुसार कोरोना भाइरस (कोभिड–१९)संक्रमणका कारण गर्भवती महिलामा निकै जोखिम बढिरहेको छ । अन्य वेलामा समेत सामान्य महिलाको तुलनामा गर्भवतीमा संक्रमणको जोखिम धेरै हुन्छ । त्यसमाथि कोभिड महामारीका कारण गर्भवतीमा गम्भीर प्रकारका स्वास्थ्य समस्या देखिन थालेको अध्ययनहरूले जनाएका छन् ।
सुरुसुरुमा विश्वभरका हजारौँ कोभिड संक्रमित गर्भवतीमा गरिएको अध्ययनले गर्भवतीमा कोभिडका गम्भीर लक्षण नरहेको जनाएको थियो । तर, कोभिडको जोखिम विश्वभर बढ्दै जाँदा गर्भवतीमा पनि यसको प्रत्यक्ष असर पर्दै गएको बताइन्छ । यसकारण अन्य महिलाको तुलनामा गर्भवतीलाई कोभिडको गहन उपचार सेवा आवश्यक पर्ने, हर्ट लङ वाइपास मेसिन र मेकानिक भेन्टिलेटरको आवश्यकता बढी पर्न थालेको छ । गर्भवतीमा गम्भीर लक्षण देखिन थालेकाले मृत्युदर बढ्ने र सामान्य व्यक्तिभन्दा मृत्युको जोखिम ७० प्रतिशत बढी हुने अनुसन्धानले देखाएको छ । 

अमेरिकी रोग नियन्त्रक तथा रोकथाम केन्द्र (सिडिसी)ले १४ देखि ४४ वर्ष उमेरका चार लाख नौ हजार चार सय ६२ जना संक्रमित महिलामाथि अध्ययन गरेको थियो । यसमध्ये २३ हजार चार सय ३४ जना गर्भवती थिए । यो अध्ययनले गर्भवतीमा कोभिडको जोखिम बढिरहेको देखाएको छ । यसअघि सिडिसीले कोभिडका कारण गर्भवती मृत्युदर न्यून रहेको बताए पनि बिस्तारै गम्भीर लक्षण देखिने र मृत्युदर बढिरहेको जनाएको थियो । सामान्यतया पुरुषको तुलनामा महिलामा कोभिड संक्रमणको जोखिम न्यून रहे पनि गर्भवतीमा भने उच्च रहेको अध्ययनले जनाएको छ ।

एमोरी युनिभर्सिटी स्कुल अफ मेडिसिन (अमेरिकी)का स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. डेनिस जैमिसनले नयाँ अध्ययनले गर्भवती महिलाले भाइरसको जोखिमबाट बच्नका थप सावधानी अपनाउनुपर्ने सुझाएको बताए । चिकित्सकले गर्भवतीलाई भौतिक दूरी अनिवार्य रूपमा कायम राख्न, परिवारका सदस्यमा पनि कोभिड संक्रमणको शंका भए अलग्गै बस्न र खानपान, जीवनशैलीमा ध्यान दिन र सकेसम्म मास्कको प्रयोग गर्न सुझाब दिएका छन् । सिडिसीले नयाँ अध्ययनले गर्भवतीको सुरक्षाका लागि थप सहयोग गर्ने र जोखिमबाट बचाउन महत्वपूर्ण हुने बताएको छ । साथै, जोखिम भए पनि गर्भवतीका लागि चाहिने नियमित आवश्यक जाँच, संक्रमणविरुद्धका खोपहरू नियमित लगाउन आग्रह गरेको छ । कोभिडविरुद्धको खोपहरू उपलब्ध भएमा गर्भवतीमा सुरुवातीमा लगाइनेसमेत बताइएको छ । 

पछिल्ला अध्ययनहरूले गर्भवती मृत्युदर सामान्य देखाए पनि सामान्य महिलाको तुलनामा १.७ प्रतिशत बढी भएको देखाएकोे छ । संक्रमणको जोखिम महिलाको उमेर, स्वास्थ्य अवस्था र वातावरण आदिमा निर्भर गर्ने भए पनि सामान्य महिलाको तुलनामा गर्भवतीलाई तीन गुणा बढी सघन उपचार आवश्यक पर्ने गरेको छ । यस्तै, गर्भवती महिलालाई मेकानिकल भेन्टिलेटरको आवश्यकता सामान्य व्यक्तिमा भन्दा २.९ गुणा बढी हुने गर्छ । 

यस्तै, सिडिसीले सोमबार प्रकाशित गरेको एक अध्ययन रिपोर्टअनुसार महामारीमा गर्भवतीले समय नपुगी बच्चा जन्माउने दरमा पनि वृद्धि भइरहेको पाइएको छ । तीन हजार नौ सय १२ जना नमुना परीक्षणमा १२.९ प्रतिशतमा समय नपुगी डेलिभरी भएको पाइएको हो । यो अध्ययन थोरै सङ्ख्यामा मात्र सीमित भएकाले थप अध्ययन आवश्यक भएको विज्ञहरूले बताए पनि गर्भवतीमा देखिएका विभिन्न यस्ता समस्याले जोखिम बढ्दै गएको पुष्टि गर्छ । 
–न्युयोर्क टाइम्सबाट

ad
ad