मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १६ आइतबार
  • Friday, 11 July, 2025
सधैँ भिडभाड हुने थानकोट नाका यसपटक भने दसैँको समयमा पनि सुनसान रह्यो । दसैँमा काठमाडौं उपत्यका छोड्ने मात्रै होइन, दसैँ सकिएपछि काठमाडौं भित्रिनेको संख्या पनि न्यून छ । तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
२o७७ कार्तिक १६ आइतबार o९:२६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दसैँमा सवारी आवागमन दशकयताकै न्यून

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १६ आइतबार o९:२६:oo

काठमाडौं छाड्ने संख्या नौ लाख, भित्रिने आठ लाख

कोरोना संकटबीच दसैँ मनाउन उपत्यकाबाहिर गएका यात्री धमाधम काठमाडौं फर्किन थालेका छन् । तर, यस वर्ष विगतजस्तो सवारी चाप छैन । यस वर्ष दसैँमा सवारी आवागमन र यात्रुको चाप दशकयताकै न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवका अनुसार घटस्थापनायता आठ लाख मानिस काठमाडौं उपत्यका भित्रिए, सोही अवधिमा उपत्यका छाड्नेको संख्या नौ लाख मात्रै छ । विजयादशमीका दिन उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन करिब तीन हजार थिए । सबैभन्दा बढी फूलपातीमा आठ हजार सात सय सवारी साधन काठमाडौंबाट बाहिरिए । अन्य दिन सरदर बाहिरिने र भित्रिने सवारी साधन संख्या एक–दुई सयले मात्रै फरक रहेको एसपी यादवले जानकारी दिए ।

अहिले दैनिक सरदर चार हजार सवारी साधन काठमाडौं भित्रिरहेका छन् भने बाहिरिनेको संख्या पनि त्यति नै छ । शनिबार चार हजार ६ सय सवारी साधनमा २७ हजार चार सय २१ यात्रु काठमाडौं भित्रिए । शनिबार नै चार हजार पाँच सय सवारी साधन उपत्यकाबाट बाहिरिएका छन् । ती सवारीमा करिब २० हजार यात्रु छन् ।

‘विगतको तुलनामा यस वर्ष सवारी चाप न्यून छ, मानिसको आवागमन नै थोरै छ,’ ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालले भने, ‘दसैँमा अहिलेसम्म हाम्रो रेकर्डमा भएकोमध्ये सबैभन्दा कम सवारी चाप भएको यही वर्ष हो ।’

लामो यात्रामा अरुचि
विगतमा पढाइ र रोजगारीमा सहरमा बस्नेहरू वर्षमा एकपटक दसैँमा गाउँ जाने गर्थे । दसैँ आउनु १५ दिनअघिदेखि काठमाडौंबाट बाहिरिने यात्रु र सवारीको चाप बढ्थ्यो । दसैँमा काठमाडौं आउनेभन्दा बाहिरिने संख्या दसौँ लाखले बढी हुन्थ्यो । लकडाउनअघि र पछि ठूलो संख्यामा यात्रीले उपत्यका छाडे । तीमध्ये धेरै मानिस फर्किएकै थिएनन् । फर्किएकामध्ये पनि अधिकांशले यस वर्ष लामो यात्रामा निस्किन रुचि देखाएनन् । सोही कारण यस वर्ष दसैँमा बाहिरिने र भित्रिने संख्या कम देखिएको एसपी यादव बताउँछन् । गत वर्ष दसैँमा २३ लाख ८४ हजार नौ सय ३१ जनाले उपत्यका छाडेका थिए ।

गाडीका सिट खाली
उपत्यका छाड्ने र भित्रिने अधिकांश सवारी साधनका सिट रित्तै देखिन्छन् । ‘स्वास्थ्य सुरक्षामा जोड दिएका छौँ, यात्रु नै कम भएकाले दूरीमा पनि धेरै समस्या छैन,’ सार्वजनिक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष किरण रिजालले भने, ‘यात्रुलाई आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरिएको छ ।’

उपत्यकामा संक्रमण तीव्र बन्दा गाउँ–गाउँसम्म फैलिइसकेको थिएन । तर, दसैँमा गाउँघर जानेहरूले गाउँसम्मै भाइरस प्रसार गरेको अनुमान छ । र, गाउँमा पनि संक्रमण फैलिने जोखिम भने बढेको छ । सार्वजनिक यातायातका साधनमार्फत आवतजावत गर्नेहरूले सामान्य मास्कसमेत नलगाएकाले संक्रमण फैलिने जोखिम उच्च रहेको रिजाल बताउँछन् । ‘धेरै व्यवसायीले घाटामा गाडी चलाएका छन्, यस्तै हो भने अब सरकारले अनुदान नदिए सवारी चलाउन सकिने अवस्था छैन,’ रिजालले भने ।

उपत्यकामा जोर–बिजोर कायमै
संंक्रमण फैलिन नदिन ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोर–बिजोर कायमै राखेको छ । जोर–बिजोर नमान्ने दैनिक करिब पाँच सय सवारी साधनलाई कार्बाही गर्ने गरिएको महाशाखाले जनाएको छ । यस्तै, भौतिक दूरी कायम गराउने, भिडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कार्बाही पनि दसैँ अवधिमा प्रभावकारी बनाइएको एसपी यादवले बताए । महाशाखाले दैनिक आठवटा टोलीलाई यात्रुको भेषमा परिचालन गरी तोकिएभन्दा बढी भाडा लिने सार्वजनिक सवारी साधनलाई कार्बाही गरिरहेको छ ।

काठमाडौं उपत्यकामा करिब १३ लाख सवारी साधन दर्ता छन् । तर, जोर–बिजोर लागू भएपछि उपत्यकामा समेत सवारी आवागमन सामान्य छ । चाबहिल, गौशाला, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, केशरमहल, माइतीघर, सिंहदरबार, पुरानोबानेश्वर र पुतलीसडकलगायत मुख्य चोकमा क्षणिक ट्राफिक जाम हुन्छ । तर, विगतजस्तो लामो समय जाममा फस्नुपर्ने समस्या छैन ।