१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ८ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ कार्तिक ८ शनिबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वप्रकाश शर्माको प्रश्न- आफ्नै कार्यकर्ताको जाहेरी नबुझ्ने नेकपाबाट कानुनी राज्यको के अपेक्षा राख्ने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ कार्तिक ८ शनिबार १७:४७:oo

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै कार्यकर्ताको हत्या हुँदासमेत जाहेरी नबुझ्ने सरकारबाट जनताले के आशा राख्ने भन्दै प्रश्न गरेका छन् । 

सत्तारुढ दल नेकपाका स्थानीय समूहबीच गत असोज ६ गते झडप भएको घटनामा प्रहरीले कारबाही अगाडि नबढाएको विषयमा पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री एवं नेकपा अध्यक्षको ध्यानाकर्षण गरेका हुन् । 

विज्ञप्तिमा भनिएकाे छ, ‘सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सा जिल्लामा असोज ६ गते बिहीबार झडप भएको, एक घाइतेको उपचारक्रममा निधन भएको र दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरूप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’

घटना विवरण अत्यन्तै दुःखद रहेको भन्दै प्रवक्ता शर्माले पर्सा घटनाको वास्तविकता तत्काल छानबिन गर्न तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

‘नागरिकको जीवनरक्षा राज्यको प्रथम कर्तव्य हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर, नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति–सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ । प्रधानमन्त्रीकै जिल्ला झापामा यसबीचमा कैयौँको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक, शुभचिन्तक यसबीचमा देशको कैयौँ ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन् ।’

नेकपाभित्रको द्वन्द्व तथा सत्ता–उन्मादका कारण आफ्नै कार्यकर्ताको हत्या हुँदासमेत चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको शर्माले टिप्पणी गरेका छन् । ‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो,’ उनले भनेका छन्,  ‘तर, तीन दिन पुग्दासम्म जाहेरीसमेत नलिएर नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ ।’