मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १८:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले घोर अलोकतान्त्रिक चरित्र प्रदर्शन गऱ्यो : सभापति देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १८:३६:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड– १९ को परीक्षण र संक्रमित नागरिकको उपचार आफ्नै खर्चमा गर्नु भन्ने सरकारी निर्णय लज्जास्पद भएको टिप्पणी गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबाट देशमा सर्वत्र त्रास सिर्जना भएको अवस्थामा सरकारले कोरोना परीक्षण र संक्रमितको उपचारमा शुल्क लिने निर्णय गर्नु निन्दनीय र लज्जास्पद भएको बताएका छन् । 

उनले परीक्षण र संक्रमितको उपचारमा अविलम्ब शुल्क नलिने व्यवस्था गर्न माग गरेका छन् । ‘हरेक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेका छन्, देशमा सर्वत्र ज्ञास छ, यस्तो विषम अवस्थामा जनताको अभिभावकका रूपमा उभिनुपर्ने सरकारले झन् पीडा थप्ने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड– १९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नु भनी गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’ 

देउवाले यो निर्णयले सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्यविमुख छ भन्ने पुष्टि भएको बताएका छन् । देउवाले प्रधानमन्त्रीलाई यसबाट हुन सक्ने क्षतितर्फ इंगित गर्दै त्यस्तो आउन नदिन सजग पनि गराएका छन् । 

उनले आधारभूत स्वास्थ्य सेवाबाट समेत नागरिकलाई वञ्चित गर्ने गरी भएको सरकारी निर्णयबाट घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको अपहेलना भएको बताएका छन् । ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक हो,’ विज्ञप्तिमा लेखिएको छ, कुनै सर्तविना यसको कार्यान्वयन गर्नुपर्छ, सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानुनी व्यवस्थाविपरीत निर्णय गरी घोर अलोकतान्त्रिक चरित्र प्रदर्शन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको छ ।’

देउवाले कोभिड– १९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार रहेको र अहिले फैलिएको महामारीको जिम्मेवार पनि सरकार आफैँ भएको बताएका छन् । ‘समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परीक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई इज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताको उदाहरण हुन्,’ कांग्रेसले भनेको छ, ‘हामीले समयमा दिएको सुझाबलाई पनि सरकारले वास्ता गरेन । महामारीको भयावह अवस्था सिर्जना हुनुमा नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकार जिम्मेवार छ ।’

संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, हरेकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानुनको दृष्टिमा समान हुने, सामान्य कानुनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएको छ । 

देउवाले महामारीका वेला सबै नेपालीको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै निसर्त गर्ने, भेदभावविना निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । ‘देशमा कालाबजारी, महँगी, मिसावट, कृत्रिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रूरुपले प्रकट भएको छ । आर्थक पारदर्शिता, अनुशासन र मितव्ययिता छैन,’ कांग्रेसले भनेको छ । 

देउवाले कोभिड– १९ को संक्रमणका कारण मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली दिँदै परिवारजनप्रति समवेदना र सक्रिय संक्रमितहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।