
आदित्य चोपडा निर्देशित रोमान्टिक फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ वर्ष पुगेको छ । २० अक्टोबर १९९५ मा प्रदर्शन भएको यो फिल्म मुम्बईमा एक हजार हप्तासम्म चल्यो । दश फिल्मफेयर अवार्ड जित्यो । चार करोड भारुमा बनेको यो फिल्मले एक सय दुई करोड व्यापार गरेको थियो ।
‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ वर्ष पुगेको अवसरमा बेलायतको राजधानी लन्डनको लिसेस्टर स्क्वायरमा शाहरूख र काजोलको काँसको मूर्ति राखिने भएको छ । मूर्तिको अनावरण भने अर्को वर्ष गरिनेछ । बेलायतमा पहिलोपटक कुनै फिल्मका कारण कलाकारको मूर्ति राख्न लागिएको हो ।
शाहरूख खान आफू स्वयंलाई भने रोमान्टिक हिरो मान्दैनन् । ‘दिलवाले दुल्हनिया ले जाएंगे’को सुटिङको समयमा उनले आफूलाई रोमान्टिक भूमिका निभाउन तयार भइनसकेको खुलाएका छन् । यो फिल्मअघि उनले ‘डर’, ‘बाजीगर’, ‘अन्जाम’जस्ता फिल्ममा नकारात्मक भूमिका निभाएका थिए ।
यहीकारण उनले आफूलाई रोमान्टिक भूमिका निभाउन उपयुक्त ठान्दैन थिए । उनले भनेका छन्, ‘यशजी र आदित्य चोपडाले मलाई भूमिकाबारे बताएपछि उहाँहरूसँग काम गर्न उत्साहित त थिएँ, तर रोमान्टिक भूमिका भएकाले सुरुवात कसरी गर्ने भनेर दिमागमा आइरहेको थिएन । भूमिकालाई राम्रोसँग निभाउन सक्छु कि सक्दिनँ भनेर पनि तनावमा थिएँ ।’
एजेन्सीको सहयोगमा