पाउलो कोएलोले आफ्नो ब्लगमा एउटा घटनाबारे सविस्तार लेखेका छन् । उनका ससुराबाले आफ्नो मृत्युभन्दा केही समयअघि परिवारका सबै सदस्यलाई बोलाए । सबैलाई सँगै राखेर भने, ‘मृत्युलाई म हाम्रा लागि दोस्रो दुनियाँमा प्रवेश गर्ने मार्गका रूपमा लिन्छु । म यो संसारबाट गएपछि तिमीहरूलाई एउटा सन्देश पठाउनेछु कि अरूको भलाइका लागि काम गर्नु नै जीवनको सबैभन्दा महत्वपूर्ण उद्देश्य हो ।’ केही समयपछि ससुराको मृत्यु भयो ।
उनकै इच्छाअनुसार दाहसंस्कार गरियो र उनको अस्थि समुद्रमा विसर्जन गरियो । पाश्र्वमा उनको सबैभन्दा प्रिय संगीत रेकर्डरमा बजिरह्यो । परिवारका सदस्यलाई सम्बोधन गरेको दुई दिनपछि उनले संसार छाडेका थिए ।
साओ पाउलोमा उनको अन्तिम दाहसंस्कारको व्यवस्था गरिएको थियो । परिवारका सदस्य अस्थिपात्र, संगीतको क्यासेट र टेप रेकर्डर लिएर त्यहाँ पुगे । तर, त्यहाँ एउटा समस्या आइपर्यो ।
अस्थिपात्रको ढक्कन धेरै बोल्ट लगाएर बन्द गरिएको थियो । त्यसलाई कसैले खोल्न सकिरहेका थिएनन् । सहयोगका लागि पनि त्यहाँ कोही थिएन । नजिकै एकजना भिखारी थियो ।
हामी समस्यामा परेको देखेर ऊ हामीनजिक आयो र भन्यो, ‘कुनै समस्या छ हो ?’ मृतकका छोराले भने, ‘मेरा पिताको अस्थि यसमा बन्द छ र यसलाई खोल्नका लागि पेचकस छैन ।’ ‘तपाईंका बुबा असल व्यक्ति हुनुहुँदो रहेछ, किनभने मसँग पेचकस छ,’ भिखारीले झोलामा हात हाल्दै पेचकस निकालेर दियो ।