१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ कार्तिक २ आइतबार २०:१४:००
Read Time : > 3 मिनेट
फिचर

थाइल्यान्डका युवा यसकारण उत्रिए राजतन्त्रविरुद्ध

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ कार्तिक २ आइतबार २०:१४:००

थाइल्यान्डमा राजतन्त्र वा राजसंस्थासम्बन्धी युवामा देखिएको मतभेदले राजसंस्थाप्रतिको विश्वासलाई धक्का दिइरहेको छ । पुस्तान्तरणका कारण बाबु र छोराबीच नै राजतन्त्रबारे व्यापक असहमति देखिन थालेको छ । युवा पुस्ताले राजतन्त्रको परिवर्तन चाहेको छ । पुरानो पुस्ता भने राजतन्त्र नै थाइल्यान्डको सान भन्दै आइरहेको छ । ‘मेरो बुबा मलाई सधैँ भन्नुहुन्छ, राजतन्त्र राष्ट्रको खम्बा हो,’ १९ वर्षीय डानैले भने, ‘बुबा सधँै हाम्रा राजारानीको तस्बिरअंकित लुगा लगाउनुहुन्छ ।’ 

डानै कानुनका विद्यार्थी हुन् । उनी बैंककमा पढ्छन् । यसै साता बैंककमा भएको राजतन्त्रविरोधी प्रदर्शनमा उनी पनि सहभागी थिए । हुनत बैंकका सडकमा युवा पुस्ता तथा विद्यार्थीले केही महिनायता राजतन्त्रविरोधी कार्यक्रम गर्दै आइरहेका छन् । त्यो वेला राजतन्त्रविरोधीको हुल त्यति ठूलो थिएन । गत साता भएको विरोध कार्यक्रममा दश हजारभन्दा बढी सहभागी रहेको डानै बताउँछन् । 

उनीहरूको एउटै माग छ– समय–परस्थितिअनुसार राजतन्त्र पनि परिवर्तित हुनुपर्छ । प्रदर्शनकारीहरूले राजतन्त्रको पुनरावलोकन हुनुपर्ने मागसमेत राखेका छन् । तर, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत चाङ ओ छानले प्रदर्शनकारीको माग कहिल्यै पूरा नहुने जनाएका छन् । ‘सडकमा आन्दोलन गरिरहेका प्रदर्शनकारीले गरेको राजतन्त्र, राजसंस्था पुनरावलोकनको माग पूरा हुन सक्दैन,’ प्रधानमन्त्री प्रायुतले भने, ‘यो मुद्दाबाहेक अरू विषयमा सरकार वार्ता गर्न तयार छ ।’ प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले पनि थाइल्यान्डमा राजतन्त्रका सम्बन्धमा युवा पुस्तामा नराम्रो छाप परेको प्रदर्शनकारीहरूको भनाइ छ । 

मध्यमवर्गीय पाकोर्नले जीवनभर राजतन्त्रको वकालत गरे । पाकोर्नले छोरा डानैलाई केवल राजतन्त्रको राम्रो कथा मात्र सुनाइरहे । बैंककको आन्दोलनमा पनि दुई समूह देखिएका छन् । एकातिर राजतन्त्र परिवर्तन हुनुपर्ने समूह छ भने अर्कोतिर पाका समूहले वर्तमान अवस्था नै राम्रो भइरहेको दाबी गरिरहेको छ । 

परिवार नै विभाजन गर्ने राजतन्त्रात्मक विश्वास

सो आन्दोलनमा डानै र पाकोर्न दुई कित्तामा विभाजित छन् । डानै र पाकोर्न फरक घरमा बस्छन् । आवश्यक परेको वेलामा एक–अर्कालाई खुवैै सहयोग गर्छन् । उनीहरूबीच केवल विचार र सिद्धान्त मात्र नमिलेको हो । केही दिनअघि बाबुसँग भेट गर्न जाँदा डानैले राजतन्त्रबारे वकालत नगर्न आग्रह गरेका थिए । ‘सामान्य रूपमा चलिरह्यो भने केही छैन, तर अधिकार हनन गर्न खोजे त्यो स्वीकार्य हुँदैन,’ डानैले भने । 

उनका अनुसार अहिले थाइल्यान्डको घरघरमा यस्तै समस्या छन् । ‘एकपटक वादविवाद गर्न थाल्यो भने त्यो रोकिने छैन,’ उनले भने, ‘यहाँ राजतन्त्रबारे दुई कित्ता छन्, यी दुवैबीच कुरा मिल्दैन ।’ डानैले थाइल्यान्डको विकासमा नयाँ शासकीय प्रणाली आवश्यकता भएको महसुस गर्दै राजतन्त्र पुनरावलोकन हुनुपर्ने माग राखेको जनाए ।
‘मेरो बुबालाई मुलुकको विकासमा एक संस्था नै परिवर्तन हुनुपर्ने बताउँदा उग्र रूपमा विवाद गर्नुहुन्छ, पुरानो सोच र विचार भएका व्यक्ति अन्धो नै हुन्छन्, उनीहरूले एकपटक कुनै कुरा मनमा राखेपछि त्यसलाई बाहिर निकाल्न जति मिहिनेत गरे पनि सकिँदैन,’ बुबाको सिद्धान्तबाट दुःखी बनेका डानैले भने । 

डानै र पाकोर्नबीचको मतभेद अहिलेको होइन । यो निकै पुरानो हो । डानै १० वर्षको हुँदा बुबासँगै पहिलोपटक सिनेमा हेर्न हलमा गएका थिए । सिनेमा सुरु हुनुअघि राजतन्त्रसम्बन्धी राष्ट्रिय धुन बज्यो । सिनेमा हेर्न आएका सबैजना राजसंस्थाको सम्मानस्वरूप सिटबाट उठे । तर, डानै सिटमै बसिरहे । उनका बुबा पाकोर्नले जबर्जस्ती डानैलाई सिटबाट उठाएका थिए । यो घटना थियो सन् २०१० को । ‘मैले दश वर्षअघि नै राजसंस्थाको विरोध जनाएको थिएँ,’ डानैले भने, ‘मेरो आन्दोलन जारी नै छ ।’ डानैको परिवारमा मात्र यस्तो समस्या होइन । थाइल्यान्डको विभिन्न राज्य तथा सहरमा वादविवाद चुलिएको छ । राज्य सञ्चालन कस्तो हुनुपर्ने र नेतृत्व गर्नेले कस्तो जिम्मेवारी लिनुपर्ने बहस सुरु भएको छ । खासमा थाइल्यान्डमा राजतन्त्र अलोकप्रिय भएको कारण हो– राजा माहा वजिरालोन्कोनको लाइफ स्टाइल र अलोकप्रिय निर्णय ।

राजा माहाले आधा जीवन जर्मनीमा बिताए । केही वर्षअघि मात्र उनी थाइल्यान्ड फर्किएका थिए । जर्मनीमै उनले अध्ययन सकाए । युरोपेली राष्ट्रमा अध्ययन गरेका व्यक्तिले थाइल्यान्डमा राम्रो सुशासन चलाउने अनुमान थियो । तर, उनको कार्यशैली निरंकुशझैँ देखियो । सबैजसो अधिकार उनले सैनिकलाई सुम्पिए । सैनिकको बलमा उनले राजतन्त्र अघि बढाइरहेको आरोप सर्वसाधारणको छ । 

राजा माहाको व्यक्तिगत जीवन त्यति राम्रो छैन । उनले अहिलेसम्म चारपटक डिभोर्स लिइसकेका छन् । गत डिसेम्बरमा मात्र चौथोपटक उनले डिभोर्स लिए । निजी बडिगार्डको रूपमा उनले एक महिलालाई नै राखेका छन् । स्वर्गीय राजा रामा नवौँले आप्mनो कार्यकालमा सबै निर्णय जनताकै हितमा गरेका थिए । यसकारण उनको समयमा कहिले पनि राजतन्त्रका सम्बन्धमा आन्दोलन भएन । 

यसैबीच, थाई जनताले यति वेला सामाजिक सञ्जालको प्रयोग खुवैै गरिरहेका छन् । मन नपरेको कुरा तत्कालै विभिन्न सामाजिक सञ्जालमा पोस्ट गर्ने र सुझाब माग्ने गरेका छन् । यद्यपि, फेस टु फेस गर्न नचाहने परिवारकै सदस्यहरूबीच पनि यस्तै अनलाइन मिडियामा टिप्पणी गरिरहेका हुन्छन् । 

राजतन्त्र राख्ने वा नराख्नेबारे सामाजिक सञ्जालमा बहस
थाइल्यान्डको चैनाङ माई राज्यको एक विश्वविद्यालयका विद्यार्थीले राजतन्त्र आवश्यक छ वा छैन भनी सामाजिक सञ्जालमै बहस चलाएका थिए । गत सेप्टेम्बरमा उनीहरूले फेसबुकमा एउटा खाता बनाएर राजतन्त्र अहिलेको आवश्यक हो वा होइन भनी सर्वेक्षणसमेत गरेका थिए । सर्वेक्षणमा सहभागी युवाहरूले ‘एस’ र ५० कटेकाले ‘नो’ भनी उत्तर पठाए । विद्यार्थी र युवा समूह राजतन्त्र थाइल्यान्डबाट हटाइनुपर्ने पक्षमा छन् । 
धेरैजसो अभिभावकले स्कुल तथा कलेजलाई नै दोष दिइरहेका छन् । स्कुल वा कलेजमा राजतन्त्रसम्बन्धी राम्रो ज्ञान नदिएको र उनीहरूले विरोध मात्र सिकाएको दाबी अभिभावकले गरेका छन् । 
‘विश्वविद्यालयका शिक्षकले विद्यार्थीलाई राम्रोसँग सिकाएनन्, राजतन्त्र किन आवश्यकता छ भनेर,’ डानैका पिता पाकोर्नको आरोप छ, ‘यदि स्कुल वा विश्वविद्यालयमा सही शिक्षा दिएको भए आज यस्तो दिन आउने थिएन ।’
एजेन्सीको सहयोगमा