राष्ट्रिय मानवअधिकार आयोगले दुई सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको छ । आयोग स्थापनाको २० वर्षको अवसरमा सिफारिस कार्यान्वयनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगले त्यसमा दुई सय ८६ जनाको नाम पनि किटान गरेको छ । जसमा धेरैजसो सुरक्षाकर्मी तथा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरू छन् ।
२० वर्षको अवधिमा आयोगमा १२ हजार आठ सय २५ उजुरी परेको र त्यसमध्ये ६ हजार ६ सय १८ आयोगले फर्स्याेट गरेको छ । त्यसमध्ये एक हजार एक सय ९५ वटाको छानबिन गरी पीडितलाई न्यायका लागि सरकारलाई सिफारिस गरेको थियो । त्यसमध्ये करिब ५० प्रतिशत कार्यान्वयन नभएको आयोगले जनाएको छ ।
सिफारिसमध्ये १२.६४ प्रतिशत पूर्ण रूपमा तथा ३७.२३ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको सात सय २८ पेज लामो प्रतिवेदनमा सिफारिस गरिएका एक हजार एक सय ९५ वटै घटनाको विवरण राखिएको छ ।